काठमाडौँमा भारी वर्षाः अझै तीन दिन देशभर वर्षा हुने, सजक रहन मौसमविद्काे आग्रह

  २०७५ असार २८ गते १५:०१     विकासन्युज

काठमाडौं । आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने र पूर्वका केही स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना पनि औँल्याएको हो ।

जलमग्न मध्यपुरथिमि चोक क्षेत्र

बिहीबार देशभरि नै बद्ली रही मध्य र पश्चिमका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना छ भने साँझ र राति पनि देशभरि नै बद्ली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

बालकोटमा सामान सुरक्षित स्थानतर्फ

त्यसैगरी असार २९ गते (शुक्रबार) देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू-भागका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बद्ली रही हल्कादेखि मध्यम खालको वर्षा हुने देखिएको र सोही दिन दउँसो र राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि बताइएको छ ।

अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटका बासिन्दाले सामान सुरक्षित स्थानतर्फ लैजाँदै ।

असार ३० गते (शनिबार) पनि देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू-भागका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ र राति पनि देशभरि नै बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ ।

अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमि नगरपालिकाको राधेराधे, भाटभटेनी क्षेत्रका बासिन्दा सुरक्षित स्थलतर्फ जाँदै ।

मौसमविद् शान्ति कँडेलले अबको तीन दिन देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने र मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहनुपर्ने बताए ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंमा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ । मौसमविद् कँडेलका अनुसार काठमाडौंमा यो भारी वर्षा हो । यसअघि सन् २००२ जुलाई २३ मा काठमाडौंमा १७७ मिलिमिटर वर्षा भएको थियो । भक्तपुरमा धेरै वर्षा भए पनि महाशाखाले उपत्यकामा काठमाडौंको मात्र वर्षा रेकर्ड राख्ने गरेको छ ।

अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमिका बासिन्दाको उद्दार गरी सुरक्षित स्थलतर्फ लैजाँदै

बुधबार रातिदेखिको निरन्तर वर्षाले उपत्यकाका भक्तपुर र काठमाडौंका कतिपय स्थानमा डुबान भएको छ, भक्तपुरमा बढीको प्रभाव छ । मध्यपुरथिमि, सल्लाघारी, सिर्जना नगरलगायतका स्थानमा डुबान भएको छ । बिहीबार ताप्लेजुङमा ३६, ओखलडुङ्गामा २६.२, सिमरामा २८, भैरहवामा १३, दाङमा १२, नेपालगञ्जमा १० र वीरेन्द्रनगरमा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको अधिकतम ताफक्रम ३०.२ र न्यूनतम तापक्रम २१.२ डिग्री सेल्सियस रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.