क्लिन नेपालगञ्ज–ग्रीन नेपालगञ्ज, वार्षिक ८ करोड रुपैयाँ खर्च

  २०७५ असार २३ गते १९:०४     वीरेन्द्र जैसी

नेपालगञ्ज/१२ बेलासपुरका चिडिमारहरु एक वर्षअघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । बस्तीमा एक सय घरधुरी थिए । कसैको शौचालय थिएन । रामकृपाल चिडिमार विगत सम्झन्छन्, ‘धेरै त बस्ती नजिकैको खेतमा दिशा गर्न जान्थे । कतिले नजिकै नालामै दिशापिसाब गर्थे । टोल नै दुर्गन्धित हुन्थ्यो ।’

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा घरघरमा शौचालय बनाइयो । वयोबृद्ध देवीदिन चिडिमार भन्छन्, ‘अहिले खुला ठाउँमा कसैले दिशापिसाब गर्दैनन् । वस्तीमा नियमित सामूहिक सरसफाइ हुन्छ ।’ शहरको मुख्य बजार घरबारीटोलमा ढलको समस्या छ । व्यापारी जथाभावी सडकमा फोहर फाल्दैनन् । एकै ठाउँमा थुपारेको फोहर उपमहानगरपालिकाको ट्रयाक्टरले लैजान्छ । व्यापारी भानु गौतम भन्छन्, ‘सरसफाईमा उपमहानगरपालिकाकै मुख ताक्ने प्रवृत्ति विस्तारै हट्दै गएको छ ।’

नगरका प्रायः मुख्य चोकमा ठेलामा कारोबार हुन्छ । ठेलाको फोहोर व्यवस्थापन गर्न उपमहानगरपालिकाले ठाउँठाउँमा डस्टबिन राखेको छ । धम्बोझीचोकमा करिब २ दशकदेखि ठेलामा विरयानी बेच्दै आएका अख्तर अलि डस्टबिन प्रयोगबारे भन्छन्, ‘ग्राहकलाई जथाभावी फोहोर फाल्न दिन्नौँ । डस्टबिनमै हाल्न लगाउँछौँ ।’

सरसफाइ चेतना ल्याउन जनप्रतिनिधि सक्रिय छन् । नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यहरु घरदैलो पुगेर फोहोर व्यवस्थापन सिकाइरहेका छन् । शौचालय निर्माणमा सहयोग, डस्टबिन वितरणसँगै चेतनामूलक कार्यक्रम जारी छ । चिडिमार कसरी सरसफाइ गर्न तयार भए त ? वडा नं. १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी ‘सामूहिक सरसफाई कार्यक्रम गरेर फोहर नगर्न र उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा सघाउन गरेको आग्रह” लाई स्थानीयले हाम्रै लागि काम गरिरहेका छन् भन्ने महसुस गर्नुको प्रतिफल ठान्छन् । नागरिक पनि सरसफाइमा जुटेका छन् । २०७३ साल साउनदेखि उपमहानगरसँगको सहकार्यमा साप्ताहिक रुपमा क्लिन नेपालगञ्ज, ग्रीन नेपालगञ्ज अभियान जारी छ । ‘नेपालगञ्जको परिचय नै फोहोरसँग जोडिन्थ्यो । सुन्दा दुःख लाग्थ्यो’, अभियन्ता डा. विनोद कर्ण भन्छन्, ‘शुरुमा अभियान थाल्दा झगडा गर्न आउनेहरुलाई हामीले गरेको फोहर हाम्रै लागि हानिकारक हुन्छ । यसले टोल र नगरको सुन्दरता बिगार्छ र स्वास्थ्य खराब पार्छ भन्ने चेतना दिन सफल भएका छौँ ।’

नगर सफा गर्ने अभियानमा उद्योगीव्यापारीको पनि साथ छ । न्यूरोडमा व्यापारीकै सरसफाई कर्मचारी छन् । नेपालगन्जमा सरसफाईसँगै हिलो, धुलो र धुवाँमुक्त गर्दै व्यवस्थित ढल र शौचालयको उचित प्रयोगतर्फ ध्यान दिनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठको सुझाव छ ।

नगर सरसफाइमा खुला दिशामुक्त अभियानको पनि देन छ । नालामा जोडिएका सेफ्टि ट्यांकी हटाउन, नालामा फोहोर फाल्न नदिन समुदायलाई नै सक्रिय बनाइएको छ । विपन्नलाई शौचालय बनाउन सहयोग, शौचालय नबनाउने र खुला स्थानमा शौच गर्नेलाई कारबाही भइरहेको छ । अभियानका फोकल पर्सन ओविराज आचार्य अभियान थाल्दाको अनुभव सुनाउँछन्, ‘एकथरीसँग घर, जग्गा र गाडी भए पनि शौचालय थिएन । बनाउनुपर्छ भन्ने चेतना पनि थिएन । अर्को थरी जग्गा, पैसा र चेतना तिनै चिजको अभाव थियो ।’ उपमहानरपालिका दिशामुक्त घोषणा भइसकेको छ ।

उपमहानगरपालिकाले सरसफाइमा वार्षिक ८ करोड रुपैयाँ खर्च गर्छ । १०४ जना स्वीपर र ७ वटा ट्रयाक्टर खटाइन्छ । दैनिक ३५ टन फोहोर संकलन हुन्छ । स्थान अभावमा अहिले ३२ टन मात्रै व्यवस्थापन हुने गरेको छ । फोहार दीर्घकालिन व्यवस्थापन गर्न हिरमिनीयामा ल्याण्ड फिल्ड साइट निर्माणको काम अन्तिम चरणमा छ । वातावरण तथा सरसफाइ शाखा प्रमुख इन्जिनियर प्रकाश डीसी नगरवासीमा सरसफाईप्रति जागरण बढेको देख्छन् । ‘डेढ वर्ष अघिसम्म फोहोर नगरपालिकाले सफा गरिदिने हो ठान्थे प्रवृत्ति फोहोर व्यवस्थापनमा चुनौती थियो । तर अहिले आफै फोहोर व्यवस्थापन गर्ने जनजागरण आएको छ’, भन्छन्, ‘उपमहानगर ५ वर्षे वातावरणमैत्री रणनीतिक योजना बनाइरहेको छ । सरसफाई, जलवायु अनुकुलन, वातावरण सन्तुलन लगायतका विषय समेटिनेछन् । फोहोर र ढल व्यवस्थापन गरी नगरलाई पूर्ण सरसफाईयुक्त बनाउने हाम्रो लक्ष्य हो ।’

नगरका घरघरमा सरसफाइ चेतना आएको छ । नेपालगञ्ज–१८ कि निर्मला केसी भान्साबाटै कुहिने र नकुहिने फोहोर छुट्याउँछिन् । कुहिने फोहोर कुहाएर मल बनाउँछिन् । प्लाष्टिकका झिल्ली पुनः प्रयोग गर्छिन् । काम नलाग्ने फोहोर मात्र फोहर बोक्ने ट्रयाक्टरमा हाल्छिन् । ‘आफूले गरेको फोहोर आफै व्यवस्थापन गर्नु हाम्रो कर्तव्य हो । घरको फोहर घरमै व्यवस्थापन गरे आधा समस्या समाधान हुन्छ ।’
नेपालगञ्ज–७ का वडाध्यक्ष जुमन खाँ नगरवासीको जागरणमा ४० प्रतिशत सुधार आएको दाबी गर्छन् । नगरवासी पनि सरसफाइमा परिवर्तन अनुभूति गर्नथालेका छन् । ७५ वर्षीय कृपाराम वर्मा सरसफाईमा जागरण नै आएको ठान्छन् । ‘शौचालयमा मात्रै शौच गर्ने बानी बस्नु पनि धेरै ठुलो प्रगति हो ।’

स्राेत-नेपालगञ्ज उपमहानगरको ‘शहर फिचर सेवा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.