एक बर्षभित्रै १ लाख २१ हजार मोहीलाई जमिन

  २०७५ असार १९ गते १७:०५     विकासन्युज

काठमाडौं । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले एक बर्षभित्रै १ लाख २१ हजार मोहिलाई जमिन उपलब्ध गराउने घोषणा गरेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री खनालले भदौ मसान्तभित्र तथ्यांक संकलन गरेर एक बर्षभित्र जग्गा उपलब्ध गराईसक्ने बताएका हुन् ।

मोही र सुकुम्वासी समस्या हल गर्नका लागि मन्त्रालयले संयन्त्र समेत गठन गरेको जनाउँदै खनालले भने,‘हामीसँग प्राप्त तथ्यांक अनसार अहिलेसम्म एक लाख २१ हजार मोही छन्, भदौ मसान्तभित्र सबै मोहीको तथ्यांक यकिन गरिसक्छौं, र ती सबैको समस्या हामी एक वर्षभित्रै हल गर्छौं ।’

सुकुम्वासी समस्या पनि संविधान अनुसार समाधान गर्ने पनि उनले जनाए । कृषि भन्नेवित्तिकै भूमी जोडिएकोले कृषिमा यान्त्रिकरणको लागि प्राप्त जमिन नै नभएको उनको गुनासो छ । कृषिमा जमिनको खण्डिकरण रोक्ने बहस चलिरहेको सुनाउँदै मन्त्री खनालले भने,‘क्याविनेटबाटै यसअघि नै पारित भएको भूमी नीति कार्यान्वयनको तहमा लिएर लैजान्छौं, अहिले हामीसँग ११ प्रकारका जमिन छन्, तीनीहरुलाई अब चार भागमा वर्गीकरण गर्छौं, यसको लागि बलियो संयन्त्र निर्माण गरेका छौं, भुमिको पनि अब चाँडै व्यवस्थापन हुन्छ ।’

खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईदिने चेतावनी पनि दिए । आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाईएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.