शिक्षामा दोष छैन, व्यवसायिक वातावरण ठिक हुनुपर्यो- दीपिका थापा

  २०७५ असार १९ गते १४:२७     विकासन्युज

करिव २० वर्षअघि भक्तपुरको गट्ठाघरमा सिद्धार्थ विद्यापिठ स्कूलको स्थापना गर्दाको समयबाट आजको दिनसम्म अनेकौं आरोह अवरोह पार गर्दै अघि बढेकी जुझारु महिला दीपिका थापासँग स्कूल सञ्चालनको सुरुवाती समयमा उनले भोगेका तितामिठा अनुभवका साथै नेपालको स्कूल तहमा आवश्यकिय शिक्षा र विद्यार्थीलाई प्रविधिमैत्री बनाउन उनको स्कूलले गरिरहेको क्रियाकलाप लगायतका विषयमा देशविकासका राजाराम न्यौपानेले गरेको कुराकानी ।

दीपिका थापा, प्रिन्सिपल, सिद्धार्थ विद्यापिठ सेकेण्डरी बोर्डिङ्ग स्कूल

कस्तो परिवेशमा तपाईले सिद्धार्थ विद्यापिठ स्कूल स्थापना गर्नु भएको हो ?

मैले १५ वर्षको उमेरदेखि नै शिक्षण पेसा शुरु गरेकी हुँ । साना नानीहरुलाई पढाउँदै जाँदा समयक्रम सँगै मैले आफ्नै स्कूल खोल्ने सोच बनाउन थालेको थिएँ । ५ अलग अलग विद्यालयबाट शिक्षिकाको रुपमा प्रशस्त अनुभव बटुलेपछि २०५६ सालमा यस स्कूलको स्थापना गरेकी हुँ । स्कूल सञ्चालन गर्ने योजना सुनाउँदा साथीभाइ, आफन्त लगायतले महिलाले धेरै ठूलो सोच बनाउँदा असफल भइन्छ भनिरहन्थे । तर म पहिलेदेखिनै अलि जिद्धि स्वभावको भएकोले होला सहि काम गर्नमा महिला अथवा पुरुष भन्ने कुराले केहि फरक पार्दैन भन्ने धारणा बनाएँ अनि आफ्नो सपनालाई मलजल गर्दै गएँ । फलस्वरुप २०५६ सालमा सिद्धार्थ विद्यापिठ स्कूलको स्थापना गर्न सफल भएँ ।

सिद्धार्थ विद्यापिठ अन्य स्कूलहरुभन्दा के कारणले फरक भएको छ ?

हरेक विद्यालयले पढाइलाई नै फोकस गर्ने गर्दछन् र हामीले पनि त्यही नै गरेका छौँ । त्यसैगरी विद्यार्थीहरुलाई पढाइका साथसाथै नृत्य, गायन, वादन लगायतको ज्ञान दिनु त सामान्य नै भइसक्यो । तर आज यस मानेमा हामी अन्य स्कूलहरु भन्दा फरक भएका छौं कि हामी आउँदो युग टेक्नोलोजीको युग हुनेछ भन्ने कुरालाई विशेष ध्यान राख्दै हाम्रा विद्यार्थीहरुलाई टेक्नोलोजीको पनि आवश्यकय ज्ञान दिने गर्दछौं । यस अन्तर्गत भिब्ग्योर नेक्स्ट जेन प्रोग्राम्स्का ६ अलग अलग विषयहरुको ज्ञान हाम्रा विद्यार्थीहरुले स्कूल लेभलमै हासिल गरिरहेका छन् । ती ६ विषयहरुमा लाइफ स्किल्स क्लासेज, आर्ट एण्ड डिजाइन क्लासेज, फोटोग्राफी एण्ड सिनेमेटोग्राफी, रोबोटिक्स एण्ड टेक्नोलोजी क्लासेज, इमर्सिभ मिडिया क्लासेज र एनिमेसन एण्ड भिजुअल इफेक्ट्स क्लासेज रहेका छन् ।

यस्तो फरक किसिमको कक्षा सञ्चालनले तपाईंका विद्यार्थीहरुमा कस्तो किसिमको परिवर्तन ल्याएको छ ?

हाम्रो विद्यालयमा दिइने फरक तथा जीवनोपयोगी शिक्षाको एकदम राम्रो प्रभाव विद्यार्थीहरुमा परेको हामीले पाएका छौं । उनीहरुमा सकारात्मक सोच राख्ने र सिर्जनात्मक हुने कला विकास हुँदै गइरहेको छ । पहिलेका विद्यार्थीहरुले पनि कार्टुन हेर्ने गर्थे र अहिलेकाहरुले पनि हेरिरहेका छन् । तर पहिलेका विद्यार्थीहरुले मनोरञ्जनका लागि मात्र हेर्थे भने अहिले हाम्रा विद्यार्थीहरुले कार्टुन हेर्ने मात्र नभई बनाउन पनि सिकिरहेका छन् । त्यसैगरी उनीहरुले कम्प्यूटरमा गेम खेल्ने मात्रै नभई गेम कसरी बनाएको छ भनेर पनि ज्ञान हासिल गरिरहेका छन् । स्कूल नजाने भन्दै बहाना बनाउने बच्चाहरु पनि खुशी हुँदै स्कूल जान हतारिन्छन् भन्ने कुरा अभिभावकहरुको भनाई छ । यसका साथै बोल्ने किताबका माध्यमबाट पनि पढाइने हुँदा विद्यार्थीहरु उत्सुकताका साथ कक्षामा सहभागि हुने गर्दछन् । वेलावेलामा हामीले सिकाएका विषयहरुको बारेमा विद्यार्थीका अभिभावकलाई पनि जानकारी दिने गरेका छाैँ। जसका कारण अभिभावकहरु पनि आफ्नो बच्चाको भविष्यको कुरालाई लिएर धेरै नै ढुक्क हुनुभएको हामीले पाएका छौं ।

बोल्ने किताब भनेको के हो ?

बोल्ने किताब पनि अन्य किताबजस्तै हुन्छ । हाम्रो आँखाले त्यसलाई छुट्याउन सक्दैन । त्यो किताव नदेखिने चिप्सको सहायताले बोल्ने गर्दछ । यसका लागि विशेष प्रकारको कलमले त्यो किताबमा छुनुपर्ने हुन्छ । किताबमा भएको अक्षरमा कलमले छुँदा त्यहाँ लेखिएको कुरा शब्दमा उच्चारण हुन्छ । त्यतिमात्र नभई त्यहाँ दिइएका जनावरहरुको चित्रमा छुने हो भने त सो जनावर कराएको आवाज पनि आउने गर्दछ ।



बोल्ने किताबबाट पढ्दा विद्यार्थीहरुलाई के फाइदा भएको छ ?

हामीले विदेशबाट यस्ता किताब ल्याएर विद्यार्थीहरुलाई सिकाइरहेका छौँ । किन्न सक्ने क्षमता भएका विद्यार्थीहरुले बोल्ने किताव वास्तविक मूल्यमै किनेर लगेका छन् । तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई भने हामीले सो किताब थोरै मुल्यमै उपलब्ध गराएका छौं । बोल्ने किताबबाट पढ्नाले गर्दा विद्यार्थीहरुले विभिन्न शब्दहरुलाई सहि उच्चारण गर्न सिकेका छन्, अनेकौं जनावरहरुको आवाज प्रत्यक्ष सुन्न पाएका छन् । यसका साथै किताब कसरी बोल्न सक्छ भनेर हामीले विस्तारमा बताइदिने भएकोले गर्दा उनीहरुलाई टेक्नोलोजीबाट असीमित कुराहरु निर्माण गर्न सकिने रहेछ भन्ने पनि ज्ञान प्राप्त भएको छ । अंग्रेजी, नेपाली लगायत अन्य विभिन्न भाषाहरुमा समेत सो किताब बोल्ने भएकाले विद्यार्थीहरुलाई अन्य भाषाहरुको सामान्य ज्ञान हासिल गर्न पनि सजिलो भएको छ ।

यस्तो विधिबाट हुने पढाईको लागि विद्यार्थी शुल्क निकै महँगो छ कि ?

होइन, त्यस्तो विल्कुल छैन । हाम्रो पढाउने तरिकाको तुलनामा मासिक शुल्क निकै नै सस्तो छ । यहाँ एक पटक भर्ना भएको विद्यार्थीले अर्को कक्षामा पुग्दा पुनः भर्ना शुल्क तिर्नु पर्दैन । त्यसैगरी विद्यार्थी भर्ना गर्ने बेलामानै हामीले टेस्ट लिएर विद्यार्थीको लेबल छुट्याउने गर्दछौं । ए ग्रेड ल्याउने विद्यार्थीलाई निशुल्क भर्ना, बी ग्रेड ल्याउनेलाई भर्ना शुल्कमा ५० प्रतिशत छुट र त्यसैगरी सी ग्रेड ल्याउनेलाई मात्र पुरै भर्ना शुल्क लाग्ने गर्दछ । सी ग्रेड ल्याएका विद्यार्थीहरुलाई हामीले धेरै मेहनत गर्नुपर्ने भएकोले पनि यस्तो भएको हो । झट्ट हेर्दा केहि मंहगो देखिए पनि प्रविधिको प्रयोग गरेको हिसावमा यो धेरै नै सस्तो हो ।

नेपाली विद्यार्थीहरु राम्रो शिक्षा प्राप्त गर्नका लागि विदेश जान हतारिएका देखिन्छन् । के नेपालमा शिक्षा वास्तवमै कमजोर हो ?

मलाई लाग्छ, हाम्रो देशमा शिक्षाको स्तर नराम्रो भएर विद्यार्थीहरु विदेश गएका होइनन् । बरु यहाँ शिक्षा अनुकुल रोजगारी नभएकोले, लागानीमैत्री वातावरण बन्न नसक्नाले, रोजगारमूलक पाठ्यक्रमको अभाव भएकोले र त्यसैगरी विद्यालय तथा घरपरिवारबाट पनि राष्ट्रप्रेमको पाठ नपढाइएकोले गर्दा पनि उनीहरुले विदेश तिरै गएर थप शिक्षा आर्जन गर्न खोजेका हुन् ।

शिक्षा क्षेत्रमा तपाईंको सफलताको अनुभव कसरी बाँड्न चाहनुहुन्छ ?

म सफल हुनुमा मेरो जिद्धिपना नै प्रमुख कुरा हो । मलाई लाग्छ कोहि मान्छे सफल हुनका लागि उसले आफ्नो कामलाई निरन्तरता दिनु पर्छ । हाम्रो समाजले अहिले पनि धेरथोर मात्रामा छोरा र छोरीमा भेदभाव गरिरहेकै छ । मैले स्कूल स्थापना गर्दाको समयमा त झन् छोराले धेरै पढ्ने र ठूलो काम गर्नुपर्छ तर छोरीले भने घरपरिवार राम्रोसँग चलाउन जान्नुपर्छ भन्ने चलन व्यापक थियो । त्यस्तो परिस्थतिलाई चिर्दै मैले यो स्कूल स्थापना गर्न सकें । आजका महिलाहरु पनि पढाइमा अव्वल बन्दै गएको र हरेक क्षेत्रमा आत्मविश्वासका साथ अघि बढेको देख्दा साहै्र खुशी लाग्छ । हाम्रो देशमा एकदम धेरै सम्भावनाहरु छन् ।

त्यसैले आफूलाई मनपर्ने क्षेत्रमा सम्पूर्ण ध्यान केन्द्रित गर्दै अनि अध्ययनलाई पनि सँगसँगै अघि बढाउँदै जाने हो भने एकदिन अवश्य पनि सफल भइन्छ र देशको नाम उँचो बनाउन सकिन्छ भनी म सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गर्न चाहन्छु र त्यसैगरी अभिभावकहरुलाई पनि म के भन्न चाहन्छु भने आफ्ना घरमा बच्चाहरुलाई हप्काएर, डर देखाएर पढ्नमा मात्र दवाव दिइरहनु हुँदैन । यसले उसमा भएको सिर्जनात्मक क्षमतामा ठूलो ह्रास ल्याउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.