बढी सीसीको गाडी खरिद गर्न खोज्ने ९५ प्रतिशत ग्राहक बजेटसँगै पछाडि हटे–शम्भुप्रसाद दाहाल

  २०७५ असार १७ गते ११:१३     विकासन्युज

नेपाल जस्तो विकासोन्मुख मुलुकमा अटोमोबाइलको बजार निरन्तर बढ्ने निश्चित छ । यस पटकको बजेटमा सरकारले १५० सीसीभन्दा बढीका मोटर साइकल र १००० सीसीभन्दा बढी कारजीपमा अन्तशुल्क बढाएको छ र सरकारले मुलुकमै गाडीको एसेम्बल तथा म्यानुफ्याक्चर गर्ने सम्बन्धमा जोड दिएको छ ।

के नेपालमा गाडीहरुको एसेम्बल तथा म्यानुफ्याक्चर सम्भव छ ? त्यसको लागि सरकारको कस्तो सहयोग खाँचो छ ? हाल मोटरसाइकल र भेहिकलमा बढेको अन्तशुल्कले समग्र नेपाली अटोमोबाइल क्षेत्रको बजारमा कस्तो प्रभाव परेको छ ? भविश्य कस्तो हुने हो ? लगायत धेरै प्रश्नहरु उठेका छन् । यिनै सवालहरुलाई लिएर प्रस्तुत छ नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालसँग विकासन्युजले गरेको विकास वहस:

शम्भुप्रसाद दाहाल, अध्यक्ष–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल


सरकारले सवारी साधानमा उच्च दरले कर वृद्धि गर्दा पनि नाडाले बजेटको स्वागत गर्यो, किन यस्तो द्वन्द्वात्मक विचार आयो ?

त्यसलाई द्वन्द्वभन्दा पनि फरक बुझाइ भन्नुपर्ला । कमसेकम सरकरले १००० सीसीभन्दा मूनिको गाडीमा कर बढाएन । त्यसलाई सकरात्मक रुपमा लिनु पर्ने हुन्छ । १५० भन्दा मूनि सीसीका मोटरसाइकलमा पनि सरकारले कर बढाएको छैन । हामीले लिने भनेको सकारात्मक पाटोलाई हो । नमिलेको विषयहरुलाई मिलाउदैै जाने हो । त्योभन्दा बढी सीसीका गाडी तथा मोटरसाइकलहरुलाई भने अन्तशुल्क बढाएको छ ।
चार होस वा दुई पाङ्ग्रे सवारी साधन सरकारले विलासीताको साधनको रुपमा नलिन बारम्बार अनुरोध गरेका थियौं । हामीले भनेका थियौं । यसलाई फरक नजरले हेर्नुहोस् । अहिले त्यसको थोरै भएपनि प्रभाव परेको देखिएको छ । एउटा सेग्मेन्टलाई सरकारले फरक नजरले हेरिदिएको छ । अब सरकारसँग सल्लाह गर्ने ठाँउहरु छन् ।

मोटरसाइकल पहाड लागयतका भेगको लागि उपयुक्त हुन्छन् । हाइड्रो लगायत निर्माण कार्यका लागि बढी सीसीको मोटरसाइकल तथा गाडीहरुको आवश्यकता पर्छ । यस सम्बन्धमा अर्थमन्त्रीसँग विभिन्न चरणमा कुराहरु भइरहेका छन् ।

करका दर वृद्धिले उपभोक्ता मूल्यमा कति असर गर्छ ?

१५० देखि माथि २०० सीसीसम्मको मोटरसाइकलमा खरिदमा करिब २० हजार रुपैयाँ मूल्य बढेको छ । २५० सीसीभन्दा बढीको मोटरसाइकलमा केही बढी नै अन्तशुल्क बढेको छ । त्यस्ता मोटरसाइकलमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म मूल्य बढेको हो ।
सर्बसाधरणले बढी मात्रामा प्रयोग गर्ने कार भनेको बोलेरो र सुमो हो । त्यसमा ८ लाख रुपैयाँभन्दा माथि मूल्य बढेको छ । त्यस सम्बन्धमा सरकारसँग कुरा भइरहेको छ । सर्वधारणको लागि भएपनि यस विषयमा सम्बोधन हुन्छ कि भन्ने हाम्रो आश हो । हामीले सर्वसाधरणले बढी मात्रामा प्रयोग गरिने गाडीको अन्तशुल्लको सम्बोधन गर्न अनुरोध गरेका छौं । नमिल्दो विषयहरुलाई हामीले सरकारसमक्ष उठाइ नै रहेका छौं ।

कर वृद्धिले अटो व्यवसायमा कस्तो असर पर्ला ? उपभोक्तामा कस्तो असर पर्ला ?

बढी सीसीको मोटरसाइकल विक्री गर्ने व्यवसायीहरुलाई भने समस्या पर्ने देखिन्छ । त्यस्ता व्यवसाय टुट्ने सम्भावना छ । उहाँहरुले व्यापार छोड्नु पर्ने अवस्था आएको छ । व्यवसाय बन्द भएसँगै कर्मचारीहरु रोजगार जान्छ । बढी सीसी मोटरसाइकल तथा गाडी खरिद गर्न चाहेका करिब ९५ प्रतिशत ग्राहकले अब त्यस्ता महंगो गाडी खरिद गर्ने छैनन् । जसका बढी सीसीको पुराना गाडीहरु छन् । उनीहरु त खुसी नै हुने भए । जुन कम्पनीसँग पहिलेको स्टकमा गाडीहरु छन् । पुरानै मूल्यमा बिक्री गरिरहेका छन् ।

करले गर्दा अटोमोबाइल व्यवसायमा केही मन्दी छाएको हो ?

अहिले विभिन्न बैंकमा लिक्वीडीटी समस्या छ, कर्जा दिन नै मानेका छैनन् । जसले कर्जा दिएका छन् उनीहरुले १५ प्रतिशत लिन्छन् । यहि बेलामा कर वृद्धि भयो । त्यसले व्यवसाय सुस्त भएको पक्कै छ । तर यो लामो अबधि रहंदैन । किनभने अहिले विकासको काम धमाधम चलिरहेको छ । त्यसको लागि सवारी साधन अवश्य चाहिन्छ ।

भरखरै प्रधानमन्त्री चीन जानुभएको छ । एउटा माहोल ल्याएर आउनुभएको छ । अल्झिएर रहेका तथा नयाँ कामहरु अघि बढ्ला ।
गएको ५ वर्षको अवधिमा १५÷२० प्रतिशत व्यापार बढेकै हो । केही महिना भित्रै पुर्ताल हुनेछ । अटोमोबाइल क्षेत्रको व्यापार लामो समय घट्दैन जहिले वृद्धि हुने हो । किनकी नेपाल विकासोन्मुख अर्थतन्त्र भएको देश हो । विकास निर्माणका काम धेरै हुन्छ । जनताको आम्दानी पनि वृद्धि हुन्छ । सवारीको माग पनि बढिरहेको हुन्छ ।

सिप्रदीको व्यापार वृद्धि चालु वर्षमा कस्तो रह्यो ?

यो वर्ष खासै वृद्धि भएन । त्यसको सट्टा करिब ५/७ प्रतिशत घटेको छ ।

पछिल्लो समय इलेक्ट्रीक भेहिकलप्रति चासो बढ्दै गएको देखिन्छ । यसलाई नाडाले कसरी हेरिराखेको छ ?

इलेक्ट्रीक भेहिकलमा विश्वभरबाटै लगानी बढिरहेको छ । विलियन, ट्रीलियन लगानी बढेको अवस्था छ । तर त्यसको नतिजा आईसकेको छैन । त्यस्ता भेहिकलहरु कुन रुपमा आउने हो । अहिलेसम्म इलेक्ट्रीक भेइकल मासमा जाने गरी उत्पादन भएर बजारमा अएको छैन । निश्चित मात्रामा मात्रै देखिएको छ । नेपालको अटोमोवाईल बजार भनेको ट्रेड बेस विजनेश हो । हामीले गाडी उत्पादक कम्पनीको डिलरको रुपमा काम गरिरहेको छौं । अहिले हामी पर्ख र हेरको अवस्थामा छौं ।


मेरो निजी बुझाइमा इलेक्ट्रीक भेहिकल(इभी) को लागि चाहिने लिथियम धकिकांश चीनमा मात्रै पाइन्छ । विश्व एउटा मुलुकमाथि निर्भर हुन्छ हुदैन, हेर्न बाँकी नै छ ।हामीलाई चहेको राम्रो हो । इलेक्ट्रीक भेहिकलभन्दा पनि नयाँ टेक्नोलोजि आउला भन्ने लागेको छ । त्यसमा मेरो आफ्नै तर्क छ । मान्छे यसबेला यतिधेरै प्रविधिप्रति होसियार छन् । प्रविधिको यतिधेरै विकास भइरहेको छ । अविश्वसनिय ढंगले विकास भइरहेको छ । कुनै न कुनै नयाँ प्रविधि अवश्यक आउछ । त्यो इभी अथवा अरु प्रविधि पनि हुनसक्छ ।

यहाँका डिलर्सहरुले इलेक्ट्रीक भेहिकलप्रति बढेको ग्राहकहरुको चासो कति महत्व दिएका छन् ? इलेक्ट्रीक भेहिकल बिक्रीपछिको सेवालाई कति प्राथमिकता दिएका छन् ?

सोचेका छन् । कम्पनीले इलेक्ट्रीक भेहिकलहरुको ट्रेनिङ मासिक रुपमा चलाइ रहेको छ । मारुती, होण्डा, टाटा लगायातका कम्पनीहरुले आ–आफ्नै तयारी गरिरहेका छन् । हामीले (सिप्रदी)ले नेपाली बजारमा इलेक्ट्रीक भेहिकल (विद्युतिय गाडी) ल्याएका छैनौं । यद्यपि टाटाले भने मासिक रुपमा बनाइरहेको छ । अहिले भारत सरकारलाई १० हजार संख्यामा इलेक्ट्रीक गाडी प्रदान गरेको छ । कम्पनीले इलेक्ट्रीक भेहिकलको छुट्टै युनिट खोलेको छ । त्यही अनुसारको लागनीको योजना अघि बढाएको छ । सयौं करोडको लगानीको तयारी भइरहेको छ ।
टाटाले पछिल्लो समय इलेक्ट्रीक एउटा गाडी निकालेको छ । उक्त गाडी एक पटक चार्ज गरेपछि ३ सय किलोमिटरसम्म गुड्छ । मास मार्केटिङको लागि तयारी भइरहेको छ ।

त्यसका लागि सिप्रदीले के–कस्तो तयारी गरिरहेको छ ?

हामीले मेनपावर, सेट–अप लगायतको तयारी गरिरहेका छौं । मास मार्केटिङको लागि ल्याइने भेहिकल सम्बन्धि तयारी, स्पेयर पार्टस मगाउने, भेहिकल स्पेशीफिक सम्बन्धि ट्रेन गराउने लगायत कार्य पछि हुन्छ । त्योभन्दा पहिले कुन गाडी ल्याइने हो त्यो निश्चित गर्न जरुरी हुन्छ । यद्यपि पूर्व तयारीहरु भइरहेको छ ।

विगतमा सीप्रदीले नेपालमै गाडी एसेम्बल गर्ने भन्ने कुरा थियो । त्यो कहाँ पुग्यो ?

पर्ख र हेरकै अवस्थामा छौं । छिमेकी मुलुकमा हेर्नुपर्छ । भारत र चीनमा एसेम्बलको लागि जस्तो सुविधा सरकारले दिएको छ, हाम्रो मुलुकमा छैन । व्यवसायीले सदुपयोग गर्ने पैसा बैंक लगायत सरकारी निकायकै हुन्छ, जनसाधारणकै पैसा हो । करिब ७० प्रतिशत बैंकको लगानी हुन्छ । ३० प्रतिशत मात्रै व्यवसायीको हो । त्यसको लागि पनि व्यवसायले नाफा गर्नुु आवश्यक हुन्छ । व्यवसायीले लिएको लोन डुब्नु दिनु भएन । त्यसैले व्यवसाय र सरकारको सहकार्य जरुरी छ । हामीले ठूलो मन राखेर सोच्नुपर्छ कुनै व्यवसायीले धन कमाउदै गर्दासँगै सरकारको पनि अप्रत्यक्ष रुपमा कमाइ भइरहेको हुन्छ ।

एसेम्बल सम्बन्धमा अध्ययन गरिरहनु भएको छ ?

खासगरी जग्गा सुपथ मूल्यमा पाइन्दैन । बिजुली पानीको व्यवस्था छैन । अहिले भैरहवाको सेजलाई नै हेरौं । धेरै लामो अबधि भयो अहिलेसम्म सञ्चालन हुन सकेको छैन । नेपालमा म्यानुफ्याक्चरीङ तथा एसेम्बल गर्नु भनेको मुलुकबाहिर समेत निर्यातको लागि तयार हुनु हो । तर तत्काललाई सम्भव देखिन्दैन ।

त्यस्ता उद्योग खोल्नका लागि सर्वप्रथम सरकारले जग्गा उपलब्ध गराउनु पर्छ । कम्ति सय विघाभन्दा भन्दा कम जग्गाले पुग्दैन । किनभने त्यहाँ एक डेढ सय एसेसरी इन्डष्ट्रिज हुनैपर्छ । स्पेयर पार्टस बनाउने, फिल्टर बनाउने, प्रत्येक एउटा पार्टसको अलग–अलग इन्डष्ट्रिज निर्माण गर्नु पर्दछ । तिनीहरु सबैलाई अट्ने सेट–अप जग्गा चाहिन्छ । भारतको उत्तरी क्षेत्रमा नेपालले म्यानुफ्याक्चर गरेर दिन सक्ने अवस्था हुन सक्छ । तर तुलनात्मक रुपमा मूल्य कम हुनुपर्छ । अहिले त्यहाको कस्टमा नेपालमा उत्पादन गर्न सकिन्दैन ।

नेपालमै एसेम्बल गर्ने विषयमा सरकारी अधिकारीहरुसँग कतिको कुरा चल्ने गरेको छ ?

कुरा चल्छ । सरकारी अधिकारी एकदमै सकरात्मक छन् । यसको विकास रातारात हुने होइन । उनीहरुले पनि सोच्नु पर्यो, दिमाग लगाउनु पर्यो । कुनै निर्णय गलत नहोस् । सरकारलाई घाटा नहोस् । दुरगामी सोचका साथ अघि बढ्नु पर्ने हुुन्छ ।

अटोमोबाइ क्षेत्रमा लिडर कम्पनीको रुपमा सिप्रदीलाई मानिन्छ । यो कम्पनीले पनि एसेम्लिङ गर्न सकेन भने अरुबाट हामीले कसरी आश गर्ने ?

एसेम्बल गर्ने पोलेसी समेत नेपालमा छैन । मोटरसाइकलमा बजाज अयो । त्यसमा पनि केही अप्ठ्याराहरु थिए । अहिले हल भइसकेको भन्ने मलाई लागेको छ । उत्पादन भइरहेको छ । काम अघि बढेको छ । स्वदेशमै मोटरसाइकल तथा गाडी उत्पादन गर्न परे आयातितभन्दा सस्तो हुनु आवश्यक छ । नत्र मार्केर्टीङ गर्न सकिन्दैन । आयातसँग प्रतिस्पर्धा गर्न सक्नु पर्यो । सकेन भने सञ्चालन सम्भव छैन । त्यसमा भन्सारले पनि महत्व राख्छ ।

सिप्रदीले अध्ययन गरिरहेको छ । एसेम्बल भ्यालुएड बढी हुने होइन । १० प्रतिशत पनि हुदैन । बढी हुने भनेको म्यानुफ्याक्चरीङबाट हो । त्यसको सम्भावना खासै देखिन्दैन । पहिले हामीले सिक्दै जानुपर्छ । पहिलो चरण भनेको ट्रेडिङ नै हो । त्यसपछि प्रोडक्टको बारेमा जान्न, बुझ्न सकिन्छ । अनि मात्र एसेम्बल गर्ने होे । जस्तो टाटाले मर्सेडिजसँग एसेम्बल गर्यो । अशोक लेलैण्डले लेलैण्डसँग गर्यो । अन्यको चरणहरु पनि छन् । त्यसपछि मात्र म्यानुफ्याक्चरीङमा जाने हो । म्यानुफ्याक्चरीङको लगि सकारसँग सहकार्य गर्न सकिने हो ।
अहिले आएर सरकारले म्यानुफ्याक्चरलाई जोड दिएको छ । अब स्वदेशमा गर्न सकिने एसेम्बल तथा मेनुफ्याक्चलाई प्रथमिकताका साथै हौसला दिन्छ भन्ने हाम्रो बुझाइ हो ।सोही अनुसार काम पनि भएको देखिन्छ । एसेम्बल्ड मोटरसाइकललाई अन्तशुल्क पनि कम लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.