बोनस र हकप्रद सेयरमा लाभकर विवादः के गर्दैछ अध्ययन समिति ?

  २०७५ असार ११ गते १३:३१     विकासन्युज

काठमाडौं । बोनस र हकप्रद सेयरमा अंकित चुक्ता मूल्यलाई आधार मानेर लाभकर लगाउने वा नलगाउने भन्नेबारे अध्ययन गर्न गठित समितिले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ । जेठ २२ गते गठित समितिको बैठक ३ पटक बसेको छ भने अब सेयर बजारका लगानीकर्ताहरुसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने चरणमा पुगेका समितिका एक सदस्यले बताए । ‘हामीले तीन पटक छलफल गरेका छौं, अब लगानीकर्ताहरुसँग छलफल गरेर प्रतिवेदन बुझाउँछौं’, समितिका सदस्यले भने ।

श्रोतका अनुसार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले समायोजीत मूल्यमा कर लगाउन सुझाव दिएका छन् । तर अर्थमन्त्रालयका अधिकारीहरु भने आफ्नो निर्णयमा अडिक जस्तै देखिएका छन् । ‘धितोपत्र बोर्ड, नेप्से र सिडिएसको उस्तै खालेको सुझाव आएको छ, अर्थमन्त्रालयका प्रतिनिधी भने आफ्नो पूर्ववत निर्णयकै पक्षमा देखिएका छन’, समितिका ती सदस्यले भने ।
आन्तरिक राजश्व विभागले जेठ १८ गते पत्र काटेर २० गते देखिको सेयर कारोबारमा बोनस र हकप्रद सेयरमा अंकित चुक्ता मूल्यलाई आधार मानेर ७.५ प्रतिशत लाभकर असुल्न भनेको थियो ।

आन्तरिक राजश्व विभागको पत्रपछि लगानीकर्ताहरुले सेयर बजार बन्द गरेर आन्दोलन सुरु गरेपछि अर्थमन्त्रालयले जेठ २२ गते वित्तिय व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्रीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव रामशरण पुडासैनी, आन्तरिक राजश्व विभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधी सदस्य रहेका छन् । समितिले आवश्यकता अनुसार सेयर बजारका लगानीकर्तासँग पनि छलफल गर्ने अधिकार पाएको छ ।

तर तीन पटक बैठक बसेको भए पनि हालसम्म लगानीकर्तासँग भने छलफल गरिएको छैन् । ‘हामीले अनौपचारिक रुपमा आफ्ना कुरा समिति समक्ष पुर्याईरहेका छौं, औपचारिक छलफलका लागि बोलावट हुन्छ भन्ने सन्देश पाएका छौं’, सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले भने ।नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले मूल्य समायोजनपछि हुने नाफामा मात्रै लाभकर असुल्न अर्थमन्त्रालय सकारात्मक रहेको संकेत आफुहरुले पाएको धारणा राखे ।

समितिले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा अर्थमन्त्रालयले बोनस र हकप्रद सेयरमा लाभकर निर्धारण सम्बन्धी आफ्नो निर्णयमा पुनर्विचार गर्ने वा यथावत राख्ने भन्ने निर्णय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.