बीमा समितिको अध्यक्ष हटाउन शक्ति केन्द्रहरुको चलखेल, काे काे छन् पर्दा पछाडि ?

  २०७५ असार ११ गते ११:५५     विकासन्युज

काठमाडौं । बीमा समितिको अध्यक्ष हटाउन शक्तिकेन्द्रहरुको सक्रियता बढेको छ । समितिको अध्यक्ष चिरञ्जीवि चापागाईलाई हटाउनको लागि एकातिर सर्वोच्च अदालतमा उजुरी परेको छ भने अर्काेतिर केही बीमा कम्पनीको प्रवद्र्धकहरु उनलाई हटाउन लविङ गरिरहेको पाईएको छ । त्यस्तै, बीमा समितिको अध्यक्षका आकांक्षीहरु पनि चापागाईलाई हटाउन र आफूलाई नियुक्ती दिलाउन राजनीतिक नेतृत्वसँग माग गर्दै आएका छन् ।

समितिका अध्यक्ष चापागाइँ बीमाको विज्ञ नभएको भन्दै अधिवक्ता डिल्लीप्रसाद न्यौपानेले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । यस रिटमा फैसला भएको छैन ।

विज्ञ थिएनन् पूर्व अध्यक्षहरु

यसअघि पनि बीमा समितिको अध्यक्षमा बीमा विज्ञ नियुक्ती भएको रेकर्ड छैन । पूर्व अध्यक्ष फत्तबहादुर केसी व्यवस्थापन विषयका प्राध्यापक थिए । अहिले पनि उनी क्याम्पस व्यवस्थापन विषय पढाउँछन् । पूर्वअध्यक्ष अध्यक्ष देबेन्द्रप्रताव शाह बैंकर्स हुन् । बीमा समितिको अध्यक्ष हुनुपूर्व उनी कृषि विकास बैंकमा महाप्रबन्धक थिए । अहिले नेपाल बैंकको सीईओ छन् ।


पूर्व अध्यक्ष माधवप्रसाद उपाध्याय पनि कृषि विकास बैंकबाट अवकाश पाएका बैकर्स थिए । पूर्व अध्यक्ष नारायण सिलवाल नेपाल सरकारका पूर्व सचिव हुन् । प्रभुल्ल काफ्ले डेपुटी गर्भनरबाट अवकाश पाएका पूर्व गभर्नर थिए । पूर्व अध्यक्ष लभप्रसाद शर्मा माध्यमिक विद्यालयको प्रधानाध्यापक थिए ।

वर्तमान अध्यक्ष चापागाई यसअघि नेपाल राष्ट्र बैंकमा निर्देशक पदमा थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र पूर्वाञ्चाल विश्वविद्यालयबाट एक्जिक्यूटिभ एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

चापागाई समितिको अध्यक्षमा नियुक्त भएको डेढ वर्षपछि उनको विज्ञतामा प्रश्न गर्दै अदालतमा रिट पर्नुलाई धेरैले आश्चर्य मानेका छन् । चापागाईको अडानका कारण महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट लाईसेन्स पाउन सकेको छैन । यस कम्पनीका मुख्य प्रवद्र्धक अजय सुमार्गी हुन् । उनी चापागाईलाई पद मुक्त गरी लाईसेन्स लिई छाड्ने पक्षमा रहेको जानकारहरु बताउँछन् ।

त्यस्तै, यूनाईटेड इन्स्योरेन्स कम्पनीका प्रवद्र्धकहरु पनि वर्तमान अध्यक्षलाई हटाउने पक्षमा रहेका छन् । पुर्नबीमाबाट भुक्तानी नभएको करिव ३४ करोड रुपैयाँ प्रोभिजन गर्न लगाउने, उच्च अदालत पाटनको फैसला कार्यान्वयन गर्न दवाव दिने, अग्नी बीमा पोलिसी बन्द गर्ने, हकप्रद सेयर निष्काशन गर्न अनुमति रोक्ने काम बीमा समितिबाट भएपछि यस कम्पनीका प्रवद्र्धकहरु समितिको नेतृत्व नै फेर्ने र आफू अनुकूल निर्णय गराउने पक्षमा लविङ गरिरहेको स्रोतले बतायो ।

त्यस्तै, अर्थमन्त्रालय पनि बीमा समितिको नेतृत्वसँग असन्तुष्ट रहेको पाइएको छ । बीमा समितिको कोषमा रहेको ४ अर्ब रुपैयाँ सरकारको राजश्वमा जम्मा गर्न अर्थमन्त्रालयले दिएको निर्देशन बीमा समितिले मानिरहेको छैन ।

त्यस्तै, पूर्व अथमन्त्री ज्ञानेन्द्र कार्कीको पालामा अर्थमन्त्रालयले नेपाली कम्पनीहरुको ३० प्रतिशत पुर्नबीमा नेपाल रिइन्स्योरेन्स कम्पनीमा गर्न निर्देशन दिएको थियो । नेपाल रिइन्स्योरेन्सको जोखिम वहन क्षमता विकास नभईसकेको जनाउँदै बीमा समितिले बीमा कम्पनीहरुलाई पुर्नबीमा नेपाल रिइन्स्योरेन्समा गर्न प्रोत्साहित गर्ने तर वाध्यकारी नबनाउने नीति लिएको थियो । हालै सार्वजनिक बजेटमा आगामी आर्थिक वर्षदेखि पुर्नबीमाको २० प्रतिशत नेपाल रि मा गर्नु पर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, अर्थमन्त्रालयले महालक्ष्मी लाईफलाई लाईसेन्स दिन तीन पटकसम्म बीमा समितिलाई पत्र पठाएको छ । अर्थमन्त्रालयबाट यसरी गएको निर्देशनहरुको पालना गर्न बीमा समितिले अटेर गरेको भन्दै समितिको नेतृत्वप्रति अर्थमन्त्रालय भित्रको कर्मचारीतन्त्र अनुदार बन्दै गएको बुझिएको छ ।

आकांक्षीहरुको दौडधुप

चापागाई पूर्व माओवादी पक्षधर भएकोले उनलाई हटाएर आफूहरु आउनु पर्ने पूर्व एमाले पक्षधरहरुको माग देखिन्छ । वर्तमान अध्यक्ष हटाएर पुनः बीमा समितिको अध्यक्ष बन्ने दौडमा फत्तबहादुर केसी पनि छन् । उनी अर्थमन्त्री युवराज खतिवडालाई रिझाउन अहिले निकै सक्रिय भएको अर्थमन्त्रालय स्रोतले बतायो । त्यस्तै नेपाल पुर्नबीमा कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईँ पनि बीमा समितिको अध्यक्ष बन्नको लागि परेका छन् । उनी पूर्व एमालेका सक्रिय कार्यकर्ता पनि हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.