६ महानगरपालिकाको बजेट ३७ अर्ब : सबैभन्दा बढी काठमाडौं, कम भरतपुरको, कुन महानगरको कति ?

  २०७५ असार ११ गते ८:०७     विकासन्युज

काठमाडौं । महानगरपालिका सबैभन्दा बढी बजेट बनाउने स्थानीय तह भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कामपाले आयोजना गरेको नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख हरीप्रभा खड्गी (श्रेष्ठ) ले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

चालू आवको तुलनामा आगामी आवको बजेट १ अर्ब रुपैयाँ बढी हो । कामपाले चालू आव २०७४÷०७५ का लागि १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार रुपैयाँ विनियोजन गरेको थियो । ७५३ स्थानीय तह रहेका छन् । स्थानीय तहले धमाधम बजेट सार्वजनिक गरिरहेका छन् । ६ वटा महानगरपालिकाले आगामी वर्षका लागि ३७ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटको स्रोतमा काठमाडौंको आन्तरिक आयतर्फ ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख अनुमान गरिएको छ । चालू आवको वैशाख मसान्तसम्ममा ३अर्ब २८ करोड ८४ लाख ७ हजार
रुपैयाँ खर्च गरेको छ । जुन अनुमानित खर्चको २५.५३ प्रतिशत हो ।

त्यसैगरी चालू आवमा १२ अर्व ८७ करोड ९४ लाख रुपैयँ राजस्व संकलनको लक्ष्य राखेकामा आन्तरिकतर्फ ५ अर्व ४८ करोड १६ लाख र बाह्य स्रोतबाट ७ अर्ब ३९ करोड ७८ लाख असुली गर्ने लक्ष्य लिएको थियो ।

चालू आवमा घरबहाल कर असुल गर्ने नीति स्पष्ट नभएको, ठूला करदातालाई करको दायरामा ल्याउन नसकेको, स्थानीय तहको कार्यक्षेत्र संविधानले स्पष्ट गरेपनि आवश्यक कानून समयमै तर्जुमा हुन नसकेको र करदाताको यथार्थ विवरण संकलन गर्न नसकेको कारणले गर्दा अपेक्षित राजश्व हासिल गर्न नसकिएको बताइएको छ ।

काठमाडौं महानगरपछि दोस्रो ठुलो बजेट ल्याउनेमा पोखरा लेखनाथ महानगरपालिका रहेका छन् । पोखरा लेखनाथ आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले आन्तरिक आयबाट २ अर्ब १९ करोड र बाह्य आम्दानीबाट ४ अर्ब २३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।

वीरगञ्ज महानगरपालिकाले पनि आगामी वर्षका लागि ४ अर्ब ९४ करोड रुपैयाँ बजेट प्रस्तुत गरेको छ । बजेटमा चालु तर्फ १ अर्ब १ अर्ब ४४ करोड र पुँजीगततर्फ ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

ललितपुर महानगरपालिकाले ४ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ । विराटनगर महानगरपालिकाले आगामी वर्षका लागि ४ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको छ । विराटनगरले २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजनाको १ अर्ब ९४ करोड २५ लाख गरी ४ अर्ब ४७ करोड रुपैयाँका बजेट प्रस्तुत गरेको हो । सबैभन्दा कम बजेट हुने महानगरमा भरतपुर रहेको छ । भरतपुुरको बजेट ३ अर्ब ३४ करोड रुपैयाँ मात्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.