केरुङ-काठमाडौं रेल मार्ग माओत्सेतुङको सपना थियो, सि जिनपिङले पुरा गर्छन: ओली

  २०७५ असार १० गते १२:५८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले केरुङ–काठमाडौं रेलमार्ग समाजवादी चीनका संस्थापक माओत्सेतुङकै सपना भएको बताएका छन् । चीन भ्रमण सकेर स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा रेल पुर्याउने सपना माओत्सेतुङले नै देखेको र त्यसलाई सि जिनपिङले पुरा गर्ने प्रतिवद्धता जनाएको बताएका हुन् ।

ओलीले केरुङ–काठमाडौं रेलमार्गका सम्बन्धमा सञ्चारकर्मीले राखेको प्रश्न दिईरहका बेला परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले ओलीलाई कानमै पुगेर माओत्सेतुङकै सपना भएको बताएका थिए । ‘ चेयरम्यान माओले पनि यो कुरा भन्नु भएको थियो, अहिले जिनपिङले पुरा गर्र्छु भन्नु भएको छ ।’, ओलीले भने ।

ओलीले जोसँग पैसा छ उसैले केरुङ–काठमाडौं रेलमार्गमा लगानी गर्ने पनि स्पष्ट पारे । ‘जोसँग पैसा छ उसैले लगानी गर्ने हो, पैसा नहुनेले लगानी गर्नु पर्दैन् । पहिले पुर्व सम्भाव्यता अध्ययन गरौं । त्यसपछि लगानीको कुरा गरौँला ।’, ओलीले भने । ओलीले रेलमार्गको निर्माण विश्वकै जटिल प्रोजेक्ट भएकाले हतार भन्दा पनि परिपक्क ढंगले काम गर्न चाहेको बताएका थिए ।

‘हामीलाई थाहा छ हिमाली भागमा रेल सहज छैन् । तिब्बति पठार उचाईमा भए पनि अलि लामो छ । हामी तिर एकै पटक उचाईबाट तल आउनु पर्छ । त्यसकारण केहि समय लाग्छ । रेलमा हतारो भन्दा परिपक्क ढंगले काम गर्नु पर्छ ।’, ओलीले भने । उनले विस्तृत अध्ययन गरेर केहि बर्षभित्र रेल बनाउन लागिपर्ने जानकारी पनि दिए । ‘राष्ट्रपति सिले वार्ताका क्रममा काठमाडौं रेल पुर्याउने योजना सुनाउनु भएको छ, संयुक्त वक्तव्यमा पनि त्यो कुरा समेटिएको छ’, ओलीले भने ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाएको पनि ओलीले जानकारी दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.