धमाधम ब्याजदर घटाउँदैं बाणिज्य बैंकहरु, भद्र सहमति कहिलेसम्म ?

  २०७५ असार ८ गते ९:५७     विकासन्युज

काठमाडौं । बाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका छन् । नेपाल बैंकर्स संघले बिहिबार मुद्धति निक्षेपमा ११ प्रतिशत र साधारण बचतमा ७ प्रतिशत भन्दा बढि ब्याज नलिने भद्र सहमति गरेका थिए । सहमति गरेको भोलिपल्ट शुक्रबारदेखि नै बाणिज्य बैंकहरुले ब्याजदर कटौती गरेको सूचना सार्वजनिक गरेका हुन् ।

अधिकाँश वाणिज्य बैंकले संस्थागतलाई अधिकतम साढे १० र व्यक्तिलाई ११ प्रतिशतसम्म मुद्धति निक्षेपमा ब्याज दिने भएका छन् । ५ महिनाअघि बैंकर्सले मुद्धतिमा ११ र साधारण वचतमा ८ प्रतिशत ब्याजदर दिने भद्र सहमति भएको थियो ।

एकसाता अघि मात्र बैंकर्सबीचको सहमति तोडिएपछि ब्याजदर बढेर साढे १२ प्रतिशत पुगेपछि यसलाई वान्छित सीमामा राख्न नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दवाव दिएको थियो । केन्द्रीय बैंकको दवावमा परेर बैकर्स अन्तमा भद्र सहमति गरेका हुन् । आर्थिक वर्षको अन्तिम महिना भएकाले निक्षेप बढाउन केही वाणिज्य बैंक आक्रमक भएर मुद्धति निक्षेपको ब्याजदर बढाएका थिए ।

शुक्रबार नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डु, सानिमा बैंक, प्रभु बैंक, सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, नविल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श(एनसीसी) बैंक, ग्लोबल आईएमई बैंक, प्राइम कमर्शियल बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक,कुमारी बैंक, लक्ष्मी बैंक र जनता बैंक नयाँ सहमति गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक लगायतको ब्याजदर वान्छित सीमामा रहेको छ । प्रणालीमा तरलता बढ्दै गएकाले सो सहमति लामो समय नजान पनि सक्छ ।

वाणिज्य बैंकहरुले लगानी गर्न पुँजी नभएको भन्दै निक्षेपको ब्याजदर बढाइरहेका बेला केन्द्रीय बैंकले अधिक तरलता रहेको भन्दै बजारबाट अर्बौ रुपैयाँ उठाएको छ । केन्द्रीय बैंकले साढे ७ अर्ब रुपैयाँ उठाएको हो । राष्ट्र बैंकले बैंकलाई ३ प्रतिशत ब्याज दिन्छ ।बैंकहरुले ब्याजदर घटाए पनि औसत आधार दर (वेसरेट) १०.९४ प्रतिशत छ ।

बुधबार र बिहीबार दुई साताको निक्षेप संकलन उपकरण मार्फत १८ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भएको तरलता प्रशोचनको तयारी गरेको थियो । राष्ट्र बैंकले तरलता प्रशोचन गरेपनि बिहीबार मात्रै बैंकिङ प्रणालीमा ३६ अर्ब रुपैयाँ अधिक तरलता रहेको जानकारी दिएको छ ।
ब्याजदर करिडोर अन्र्तगत केन्द्रीय अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र ३ प्रतिशत भन्दा कम भए बैंकबाट पैसा तान्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.