मयुर यातायातमा शेष घलेको लगानी, अब सर्वसाधारणलाई आईपीओ

  २०७५ असार ८ गते ८:४२     खेमराज श्रेष्ठ

काठमाडौं । व्यवसायीक रुपमा सञ्चालनमा आएको मयुर यातायातमा अष्ट्रेलियन अर्बपति शेष घलेले लगानी गर्ने भएका छन् ।गैरआवासिय संघका निवर्तमान अध्यक्ष समेत रहेका घलेले मयुरमा लगानी गर्न लागेका हुन् । कम्पनीमा ७० प्रतिशत भन्दा बढी गैरआवासिय नेपालीहरुको लगानी रहेको छ ।

अर्बपति घलेले पनि लगानी गर्न लागेको मयुर यातायात प्रालीका अध्यक्ष मोहन श्रेष्ठले बताए । “हामी नेपालको उत्कृष्ट बस व्यवसायी बन्ने अभियानमा छौं,” उनले भने “गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेले समेत कम्पनीमा लगानी गर्दै हुनुहुन्छ ।” विकासन्यूजसंग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भने “२ महिनापछि सर्वसाधारणमा (आईपीओ) निष्कासन गर्नका लागि तयारी थालेका छौं ।”
श्रेष्ठका अनुसार अहिले मयुरमा ३५ जना भन्दा बढी सेयरधनी रहेका छन् । जसमध्ये ३० प्रतिशत नेपाली लगानीकर्ता छन् । कम्पनीमा नेपाल टेलिकम, गैरआवासिय नेपालीेसँग लगानीका बारेमा छलफल भैरहेको छ ।

पब्लिकमा जादाँ कम्पनीप्रति सर्वसाधरणले समेत चासो र अपनत्व महशुस गर्ने भएकोले सेयर निष्काशन गर्न लागिएको उनले स्पष्ट पारे । कम्पनीको प्रत्येक दिनको हिसाब किताब सेयरधनीले मोबाइलबाटै हेर्ने व्यवस्था गरिएको छ । कम्पनीले उपत्यकाभित्र र बनेपासम्म गरी हाल २४ वटा सुबिधा समपन्न बस सञ्चालन गरिरहेको छ । थप २० वटा नयाँ बसका लागि यातायात व्यवस्था विभागबाट रुट परमिट लिएको छ । मयुरले आउँदो असोजसम्म थप ४५ वटा बस किन्ने तयारी गरेको छ । त्यसपछि चीनबाट इलेक्ट्रिक बस किन्ने कम्पनीले जनाएको छ ।

कम्पनीले चक्रपथ परिक्रमा, नागढुङगा–कलंकी–त्रिपुरेश्वर– कोटेश्वर–बनेपा हुँदै पनौती र धुलीखेलसम्मको रुट इजाजत लिएको यातायात व्यवस्था विभागका सुचना अधिकारी हरिराम नागिलाले जानकारी दिए । उनका अनुसार संशोधित निर्देशिका र कार्यविधी लागू गरेपछि ३० कम्पनीले रुट इजाजत लिइसकेका छन् । हालसम्म ३० कम्पनीका देशभर ३१७ वटा बसले रुट इजाजत लिएका हुन् । काठमाडौंमा मात्रै २०२ बसले रुट इजाजत लिएको अधिकृत नागिलाले बताए ।

मयुरका बसहरुलको अधिकतम गति ४५ किलोमिटर प्रतिघण्टा कायम गरिएको छ । दुर्घटना न्युनीकरणका लागि मयूरले गति सिमित गरेको हो । कम्पनीले दशैं अघि उपत्यका बाहिर पनि बस सञ्चालन गर्ने तयारी अघि बढाईसकेको छ । बाहिरका जिल्लाहरु कपिलवस्तु, पोखरा र ओखलढुङगामा बस सञ्चालन गर्ने तयारी कम्पनीले गरेको हो । थपिने नयाँ २० वटा बसको सम्पुर्ण तयारी पुरा भएको कम्पनीले जनाएको छ । बसको लागि आवश्यक पर्ने जनशक्तिदेखि पाकिङसम्मका सबै काम सकिइसकेको छ ।

यस्तो हुनेछ बसका सेवा सुविधा
मयुर यातायातको बस ४० देखि ४५ सिट क्षमताका हुनेछन् । जेष्ठ नागरिक अपाङग, बालबालिका र महिलाका लागि छुट्टै आरक्षण सिट छ । बसमा फ्रि वाइफाई, एसी लगायतका सुविधा पनि छन् । प्रत्येक बसलाई कार्यालयबाट कन्ट्रोल गरिनेछ । यदि कुनै बससँग रोटेशन नमिलेमा बाटो अवरोध भएमा अर्को रुट हुदैं जान अग्रिम सूचना दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.