वाइन रक्सी हैन, कृषिजन्य उत्पादन हो, खै सरकारले बुझेको ?-ज्ञानु प्रसाई

  २०७५ असार ७ गते १४:२०     विकासन्युज

पछिल्लो समय वाइनको माग व्यापक बढेसँगै किंग्स हिल वाइनले पनि बजार विस्तार गरिरहेको छ । स्नोम्यान वाइनरी प्राइभेट लिमिटेडद्धारा उत्पादित किंग्स हिल देशको प्रमुख शहरहरु हुदै सडक संञ्जाल पुगेका क्षेत्रमसम्म पुर्याइसकिएको छ । गएको वर्ष २५ हजार काटुन वाइनको उत्पादन गरी बिक्री गरेको कम्पनीले यो वर्ष उत्पादन दोब्बर ५० हजार काटुन पुर्याउने लक्ष्य राखेको छ । यसैबीच सरकारले भने बजेटमार्फत ह्वातै मदिराजन्य उत्पादनमा अःन्तशुल्क बढाएको छ । यो व्यावहारिक नभएको भन्दै वाइन उद्योगीहरुले विरोध गरेका छन् । उनीहरुले वाइनलाई मदिरा नभइ कृषिजन्य पदार्थमा राखि अन्तशुल्क घटाउनु पर्ने माग राखेका छन् । प्रस्तुत छ, स्नोम्यानका अध्यक्ष ज्ञानु प्रसाईसँग विकासन्युजका पृथराज थेगिमले गरेका विकास वहसः

ज्ञानु प्रसाई–अध्यक्ष, स्नोम्यान वाइनरी प्राइभेट लिमिटेड

सरकारले बजेटमा मदिराको राजस्व बढाएको छ । अब वाइनको मूल्य कति बढ्ला ?

सरकारलाई स्वदेशी वाइन उद्योेगको बारेमा बुझाउन १५ वर्षदेखि निरन्तर लागेका छौं । तर हालसम्म पनि उसले ध्यान दिएको छैन । सरकार तथा प्रशासनले हामी वाइन उद्योगीलाई हेपेको छ । हामीले वाइनलाई कृषिजन्य उत्पादनको रुपमा बुझ्न सरकारलाई लागातार भनिरहेका छौं । तर, अहिलेसम्म मदिराजन्य कोटीमै राखेको छ ।

वाइनलाई मदिराजन्य कोटीमा राख्न नहुने हाम्रो भनाइ छ । यसलाई कृषिजन्य कोटीमा राखियोस भन्ने हाम्रो माग हो । वाइनलाई मदिराजन्य होइन सामाजिक पेयपदार्थको रुपमा राख्नुपर्छ ।

नेपालमा अंगुर खेती स्वास्थ्य, आर्थिक लगायतको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । अंगुरमा मात्रै होइन अन्य स्याउ, नास्पाती लगायतको सम्भावना पनि राम्रो छ । हुम्ला जुम्लामा प्रशस्त स्याउ फल्छन् तर सडकको सुविधा छैन । सडकको सुविधा राम्रो हुन नसकेको कारण खेर गइरहेको छ । यद्यपि विदेशबाट सोही फलफुल महंगोमा खरिद गर्ने गरिदै आएको छ ।

नेपालमा न्युजल्याण्ड, अमेरिका लगायतका देशहरुबाट स्याउ भित्रिने गरेको छ । अष्ट्रेलियाबाट अंगुर आउछ । मुलुकले यसरी कहिलेसम्म धान्ला ? अहिले वाइनको अन्तशुल्क सरकारले ५० प्रतिशत बढाएको छ । त्यसले समग्रमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत बढ्ने भएको छ । जसले गर्दा मूल्य स्वत बढेको छ । जति कर बढेको छ । सोही अनुसारले नै मूल्य बढेको छ ।

सरकारले स्वदेशी वाइन र विदेशीलाई करमा विभेद गरेको छ । विदेशबाट आयातित वाइनको अन्तशुल्क १९.४ प्रतिशत मात्र कायम गरिएको छ । अन्तशुल्कमा गरिएको विभेदले स्वदेशी वाइनले विदेशीसँग प्रतिस्पर्धा गर्न गाह्रो कठिन हुने देखिएको छ । हामीले यसप्रति सरकारलाई ध्यानाकर्षण गराएका छौं । यसबाट वाइन उद्योगीलाई मात्र होइन सोझै कृषकहरुलाई पनि असर पर्न जान्छ । गएको वर्ष स्वदेशी वाइनको अन्तशुल्क करिब १० प्रतिशत मात्र बढेको थियो ।

अन्तशुल्क वृद्धिले स्वदेशी उद्योगहरुलाई कस्तो असर पर्ला ?

अन्तशुल्क वृद्धिमा फरक आउनुलाई विदेशीहरुले चलखेल गरेको आशंका गर्न सकिन्छ । यसको छानबिन गरिनु पर्छ । यो गम्भिर विषय हो । यसबाट स्वदेशी वाइन उद्योगहरु धरासयी हुन सक्ने देखिएको छ । हाम्रो उद्योग त धरासायी होला तर सँगै कृषकको पनि हातमुख जोड्न टुट्ने छ । नेपालमा अधिकांश कृषि पेशामा निर्भर छन् । कतिले फलफुल बिक्री गरेर बच्चा पढाइरहेका छन् । त्यसैले विहान बेलुकाको छाक टार्छन् ।

तपाईहरुको अपेक्षा अन्तशुल्क कति भए हुन्थ्यो भन्ने हो ?

गएको वर्ष झै १० प्रतिशतसम्म भएको भए हुन्थ्यो । अहिलेको जस्तो समस्या हुने थिएन । हालको अन्तशुल्कप्रति हाम्रो विरोध छ । नेपाल वाइन उत्पादक संघको नेतृत्वमा शुल्क घटाउन गएका थियौं । तर चासो दिएको छैन । वाइनलाई मदिरासँग तुलना गरिएको छ । अमेरिकामा वाइनलाई कृषिजन्य वस्तुमा राखिएको छ । क्यानडा, यूरोपका अधिकांश देशहरुमा कृषिजन्य वस्तुको रुपमा राखिएको छ ।

भारतमा समेत कृषिजन्य वस्तुको रुपमा लिइन्छ । नेपालमा पनि भारतको जस्तै गरी अंगुर फलाउन सकिन्छ । त्यसका प्रशस्त सम्भावनाहरु छन् । हामी पनि फलफुलको उत्पादन बढाउने पक्षमा छौं । केहीहदसम्म जुम्लाको स्याउ खपत गरिरहेका छौं । त्यस्तै फर्पिङसँगै मुलुकका विभिन्न स्थानमा फल्ने नास्पातीबाट ह्वाइट वाइन बनाउने कोशिस निरन्तर जारी राखेका छौं ।

वाइनलाई कृषिजन्य वस्तुमा राख्नुपर्छ भन्ने तपाईहरुको आधार के हो ?

वाइन फलफुलबाट निर्माण हुन्छ । कुहिएको/बिग्रिएको खराब फलफुलबाट वाइन बन्दैन । वाइन प्रोसेसिङ गर्नका लागि ताजा र राम्रो फलफुल अवश्यक पर्छ । त्यसबाट मात्रै फर्मेट हुन्छ । नत्र हुदैन ।

राम्ररी फर्मेट नभए वाइन विषादीयुक्त अल्कोहलमा परिणत हुन्छ । विषादीयुक्त अल्कोहल कहिले पनि वाइन बन्न सक्दैन । वाइनको कच्चापदार्थ फलफुल नै हो । फलफुल सिधै कृषकसँग जोडिएको हुन्छ । वाइनमा ९० प्रतिशत कच्चा पदार्थ कृषिजन्य हुन्छ । बाँकी नगन्य प्रतिशत मात्रै केमिकलजन्य पदार्थको अवश्य पर्दछ । त्यसैले पनि हाम्रो माग वाइनलाई मदिराको कोटीमा होइन कृषिजन्य वस्तुमा राखिने पर्छ भन्ने हो ।

अहिले वाइनको लागि स्वदेशमै कति प्रतिशत कच्चा पदार्थ उत्पादन भइरहेको छ ?

सत्प्रतिशत कच्चा पदार्थ स्वदेशमै उत्पादन गरौं भन्ने हाम्रो चाहना हो । तर विभिन्न कठिनाइहरु छन् । जहाँ फलफुल आवश्यक पर्छ त्यहाँ पाइन्दैन । जहाँ पाइन्छ त्यहाँ फलफुलको आवश्यक पर्दैन र खेर गइरहेको छ । यातायात, विकट भौगोलिक अवस्था लगायत अवरोधको कारणले कृषकबाट उद्योगसम्म फलफुल पुर्याउन सकिएको छैन ।

यी विभिन्न समस्याको वावजुत अहिले २०/२५ प्रतिशत मात्रै स्वदेशी कच्चा पदार्थ उद्योगहरुमा खपत भइरहेको छ । कृषकको अवस्थालाई हेर्ने हो भने ३ महिने ब्रोइलर कुखुरालाई सुई हान्न बजेट छैन । कहाँबाट अंगुर रोपुनु ? अंगुर फल्न २४ महिना लाग्छ । सरकारले त्यसको लागि कुनै पनि व्यवस्था गरेको छैन । सरकारको प्राथमिकतामा परेकै छैन ।

यूरोपमा दुई सय वर्ष पुरानो अंगुर फार्महरु छन् । उनीहरुकोमा अब्बल दर्जाको खेति व्यवस्था छ । नेपालमा प्रशस्त सम्भावना भएर पनि केही गर्न सकिएको छैन । नेपालको वाइन निर्यात गर्न सकिने ठाँउ छ । तर विशेषज्ञता दिन सक्नु पर्छ । त्यो पनि सक्छौं । त्यसको लागि सरकारको सहयोग आवश्यक छ ।

वाइनको कच्चापदार्थमा आत्मनिर्भर हुन सकिने सम्भव कति छ ?

यो सम्भव छ । साधारण कुरा हो कच्चा पदार्थको लागि विरुवा रोप्नु पर्छ अनि फल फलाउने हो । सवैभन्दा महत्वपूर्ण ठूलो परिमाणमा जग्गा उपलब्ध हुनु हो । यदि सरकारले हजार दुई हजार रोपनी जग्गा लिजमा दिने हो भने अहिले हामी अंगुर रोप्न तयार छौं ।

आवश्यक पर्ने सबै शुुल्क व्योहर्छौ । तर, हामीलाई सरकारले आवश्यक पर्ने कानून बनाइदिनुपर्छ । स्पष्ट नीति आवश्यक छ । नेपालमा अहिले कुल खेतीयोग्य जमिनको १५/२० प्रतिशत मात्र खपत भएको छ । स्कटल्याण्डको ह्वीस्की नेपालमा ल्याएर खान सक्ने । नेपालको वाइनको उत्पादनलाई किन विशेषज्ञता दिन नसकिने ? अन्तशुल्क सरकारले लिएको छ । ठिकै छ त्यसलाई हामीले मान्यौं ।

नेपालको नास्पातीबाट बन्ने पेरी वाइनको विशेषज्ञता दिन हामी किन सक्दैनौं ? हामीलाई किन बन्दनमाथि बन्दन थोपरिरहेको छ सरकारले ? त्यसबाट फुकुवा हुन चाहन्छौं । स्वदेशी वाइन उद्योगले सरकारले प्राथकिता दिने हो भने यहाँको अग्र्यानिक वाइन पिउनलाई विश्वबाट लाखौं पर्यटक आउने सम्भावना छ । त्यतिखेर हामीले अचम्म मान्न पर्दैन ।

नेपाल सस्तो मुलुक हो । यहाँ बस्न सस्तो खर्च लाग्छ । पर्यटकीय दृष्टिकोणले सुन्दर छ । सुरक्षाको दृष्टिकोणले पनि शान्त छ । यहि मौकाँका स्वदेशी उत्पादन बढाउदै मुलुकबाहिर पनि निर्यात गर्न सकिन्छ । केही समयको लागि विदेशी वाइनको आयात बन्द गर्नु आवश्यक छ । खुट्टा टेकेका छैन डब्ल्युटीओ भनि राखेका छौं । हाम्रो भनाइ विदेशबाट आउने पूरै वाइनलाई प्रतिस्थापित गरौं भन्ने हो । स्वदेशी वाइन प्रयोग गरौं भन्ने हो । त्यसबाट विदेशी मुद्रा मुलुकमा भित्रिन्छ । केही हदसम्म व्यापार घाटा कम गर्न सहयोग पुग्छ ।

विदेशबाट हामीले वार्षिक २ अर्ब रुपैयाँ बराबरको ड्युटीफ्रीबाट रक्सी लिएर आउछौं । कुल रकम १० औं अर्ब रुपैयाँ होला । ड्युटीफ्रीबाट आउदा कर मात्रै सरकारलाई २ अर्ब घाटा हुने गरेको छ । त्यसरी नै पछिल्लो समय जुत्ता उद्योगी फस्टाएको छ । सरकारले वाइन उद्योगलाई पुुर्ण रुपमा सहयोग गर्नु पर्छ । उद्दारता प्रदान गर्नु पर्छ ।

अहिले वाइनको ट्रेन कस्तो पाउनु भएको छ ?

स्वदेशी वाइनप्रति आकर्षण गर्न हामी उद्योगीहरुले धेरैनै मिहिनेत गरेका छौं । बजारमा व्यापारी, विभिन्न ग्राहकहरुलाई विश्वास दिलायौं । विदेशी वाइनलाई प्रतिस्थापन गरी स्वदेशीलाई बढावा दिन लागि परेका छौं । त्यसमा सरकारले अन्तशुल्क बढाउने मात्र काम गरेको छ ।

म यसै अन्तरवार्तामार्फत प्रधानमन्त्री र अर्थमन्त्रीज्यूको पनि ध्यानाकर्षण गराउन चाहन्छु । नेपालमा वर्षको करिब १ अर्ब रुपैयाँ वाइनको क्षेत्रबाट कर उठ्ने गरेको छ । हार्ड ड्रीङ्स पिउनलेहरु वाइनप्रति डाइभर्ड गर्दै गएका छौं ।

विगतमा रोमन, फ्रान्स लगायका देशहरुमा वाइनलाई राजा महाराजाले मात्र उपभोग गर्ने रक्सीको रुपमा कहलिएको थियो अहिले नेपालका सारा उपभोक्ता माझ पुर्याउन सफल भएका छौं । यस्को आफ्नै विशेषता छ । १५ प्रतिशत अलकोहल भन्दामाथि भएको वाइनलाई रुचाइन्दैन । त्यसलाई अझ घटाएर ५ प्रतिशतसम्ममा झार्न सकिन्छ ।

३७५ एमएल इज द बेस्ट’ भनेर सबै वाइन उद्योगले प्रकाशित गरेका छन् । यद्यपि पछिल्लो समय जसरी वाइनको माग बढेको छ । त्यसरी नै धमाधम स्वदेशी वाइन उद्योगहरु खुल्ने क्रममा छन् । यो सकरात्मक पक्ष हो । तर पनि एकै पटक सरकारले चारैतीरबाट न्याँकेको छ ।

वाइन सेवनबाट स्वास्थ्यमा के फाइदा होला ?

फाइदा धेरै छ । उखानै छ ‘जसले मात्रा मिलाएर एग ग्लास वाइन खाने हो भने त्यसले डाक्टर देखाउन पर्दैन’ भनिएको छ । वाइनले ताजगी दिन्छ । उर्जा प्रदान गर्दछ । हर्डवीड कन्ट्रोल हुन्छ । क्यान्सरसँग लड्ने एन्टीअक्सीडेन्ट प्रचुरमात्रामा पाइन्छ । यो फलफुलको जुस र अल्कोहलको समिश्रण हो ।

पछिल्लो समय वाइन उद्योगको प्रतिस्पर्धा कस्तो छ ?

नेपालमा कस्तो ट्रेन चल्दै आएको छ भने एउटाले प्लटीङ गर्र्यौ भने सबैले गर्ने, एउटाले अस्पताल खोल्यो भने सबैले खोल्ने चलन छ । कुखरा पाल्यो कुखरै पाल्ने । लहडको भरमा व्यापार भइरहेको छ । हाम्रो अनुरोध छ । लहडमा वाइन व्यवसायमा नआउनु होला । कम्तिमा पनि २/३ वर्ष अध्ययन गर्न आवश्यक छ । अहिले हामी जस्तो १२/१५ वर्षदेखि शुरु गरेको उद्योगलाई पनि सर्भाइभ हुन गाह्रो छ ।

कम्पनीको भावी योजना के छन् ?

स्नोम्यान वाइनरी प्रालि स्थापना भएको करिब १५ वर्ष भयो । काभ्रेपलान्चोक जिल्लाको पनौती नैकिनटारमा अवस्थित छ । अहिले कम्पनीले प्रत्यक्ष रुपमा १०० जनालाई रोजगार प्रदान गरिरहेका छौं । नेपालमा पहिलो चरणमै वाइन उद्योग दर्ता गर्नेमा हाम्रो कम्पनी पनि पर्छ । विगत ५ वर्षदेखि कम्पनीले किंग्स हिल वाइन उत्पादन गरिरहेको छ ।

गएको वर्ष २५ हजार काटुन बिक्री गरेकोमा यो वर्ष त्यसको दोब्बर बनाउने कम्पनीले लक्ष्य लिएको छ । यो वर्ष हाम्रो लक्ष्य ५० काटुन वाइन उत्पादन गर्र्ने हो । हामीले नेपालको मुख्य शहरहरुमा किंग्स हिललाई उपलब्ध गराएका छौं । जहाँसम्म सडक सञ्जाल पुगेको छ । त्यहाँसम्म हामीले आफ्नो उत्पादन बजारमा पुर्याएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.