केरुङ-काठमाडौं रेलमार्गः पाए अनुदान, नपाए सहुलियत ऋण स्वीकार्ने

  २०७५ असार ६ गते १६:४७     विकासन्युज

काठमाडौं । नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सहुलियत ऋण स्वीकार गर्ने स्पष्ट संकेत गरेको छ । चीन भ्रमणका रहेका प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच केरुङ–काठमाडौं रेलमार्गबारे छलफल भएको थियो ।

छलफलमा सिले केरुङ–काठमाडौं रेलमार्ग रेलमार्गले छिट्टै जोडिने विश्वास व्यक्त गरेका थिए । ओली र सिको भेटपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले केरुङ–काठमाडौं रेलमार्ग अनुदानमा निर्माण गराउने प्रयास गरिएको बताए । उनले शत प्रतिशत अनुदानमा बनाउन चीन तयार नभएमा केहि अनुदान र केहि ऋणको हिस्सा स्वीकार गर्न सकिने नेपालको अडान सुनाए ।

त्यस्तै, चीनले केहि अनुदान दिने र नेपालले केहि आफ्नो तर्फबाट लगानी गर्ने बिचको मोडालीटीबारे पनि सोच्न सकिने बताए । चीनलाई केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माण प्रक्रिया अघि बढाउन सहमत गराउन भन्दै भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ र सचिव मधुसुदन अधिकारी केहि दिन अघि नै चीन पुगेका थिए ।

चीनले शत प्रतिशत अनुदानमा रेल बनाउन नसकिने स्पष्ट अडान राख्दै आएको छ । निर्माणको मोडालिटी टुंगो नलागेसम्म डीपीआर बनाउन पनि चीन तयार नदेखिएपछि नेपालले सहुलियत ऋण स्वीकार गरेरै सहमति गर्न लागेको हो । अब नेपाल पनि केहि अनुदान र केहि ऋण लिएरै भएपनि केरुङ–काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगेको संकेत परराष्ट्र मन्त्री ज्ञवालीले दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.