मोरङको धनपाल गाउँपालिकामा सवा २ कराेड बराबरकाे ८० घर हस्तान्तरण

  २०७५ असार ५ गते १९:५२     विकासन्युज

काठमाडौं । रहमा इन्टरनेशनल कुवेत र नेपाल डेभलपमेण्ट सोसाइटीको संयुक्त प्रयासमा मोरङको धनपाल गाउँपालिका–६ मा नवनिर्मित ८० वटा दुई कोठे पक्की घर हस्तान्तरण गरिएको छ ।

धनपाल गाँउपालिका– ६ स्थित उक्त टोलमा गरीब, पिछडिएका मुस्लिम तथा अन्य हिन्दू समुदायका लागि रु दुई करोड २६ लाखमा ८० वटा घर निर्माण गरी आज हस्तान्तरण गरिएको हो । सोही स्थानमा आठ कठ्ठामा स्वास्थ्य चौकी, विद्यालय, प्रार्थना स्थल (मस्जिद) को समेत निर्माण गरिएको छ ।

दुई कोठे पक्की घरका साथै प्रत्येक घरमा चापाकल र पक्की शौचालयको व्यवस्था गरिएको सोसाइटीका सदस्य अफजल हुसेन (गुल्जार)ले बताए । यसअघि उक्त संस्थाको सहयोगमा मोरङको सुनवर्षी गाउँपालिकामा ४० घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । संस्थाले २६ वर्षदेखि आयमुलुक कामका सामग्री र सीपमूलक तालीम समेत प्रदानगर्दै आइरहेको छ ।

उद्घाटनका अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताका गास, बास र कपासको समस्याबाट अब नेपाली जनतामुक्त हुने बताएका । उनले मुलुकमा तीन तहको सरकारले जनतामा रहेको विकास र समृद्धिको चाहना पूरा गरी गरिबी हटाउने समेत विश्वास दिलाए।

मुख्यमन्त्री राईले घर, विद्यालय, स्वास्थ्य चौकी निर्माणबाट यस क्षेत्रको समृद्धिलाई माथि उठाउने बताउँदै निर्माण भएको संरचनाको संरक्षणसहित सदुपयोग गर्न आग्रह गरे। उनले ‘मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम’ का लागि प्रदेश सरकारले रु १ अर्ब रकम छुट्याएको बताउदै अब केही वर्षमा ग्रामीण क्षेत्रमा बाटोको कुनै समस्या नहुने धारणा व्यक्त गरे।

पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले संसद् विकास कोषबाट प्राप्त हुने रु ४ करोड स्थानीयको छलफल एवं सहमतिबाट नदी नियन्त्रण, आयआर्जन, सीपमूलक तालीम लगायतमा खर्च गर्ने बताए ।

रहमा इन्टरनेशनल कुवेतका मुख्यदाता शेख वलिदले आगामी दिनमा मानवीय क्षेत्रका विकास र उत्थानमा थप सहयोग गर्ने दृढता व्यक्त गरे । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.