संचय कोषलाई एनएमबी बैंकको एफपीओ किन्न सीमा हट्यो, बुधबार नै सबै बिक्री हुने संभावना

  २०७५ असार ५ गते १९:२४     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोषलाई एनएमबी बैंकको थप निष्कासन (एफपीओ) किन्ने सीमा हटेको छ । नयाँ व्यवस्थाअनुसार कोषले एनएमबीको बाँकी सबै एफपीओ खरिद गर्न सक्नेछ ।नेपाल धितोपत्र बोर्डले मंगलबार अधिकतम सीमाको प्रावधान खारेज गरेपछि संचय कोषलाई एनएमबीको हालसम्म बिक्री नभएको सबै एफपीओ खरिदका लागि बाटो खुला भएको हो ।

बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा संशोधन गरेर अधिकतम् सीमा हटाएको छ । अब संस्थागत लगानीकर्ताले सबै एफपीओ किन्न पाउने भएका हुन् । संचय कोष  र  निर्जीवन बीमा कम्पनीले अधिकतम सीमा हटाउन अनुरोध गरेका थिए । बैंकको आग्रह अनुसार बोर्डले अधिकतम सीमा हटाएको हो ।

बुधबारदेखि संचय कोष र बीमा कम्पनीले बिक्री नभएको एफपीओ सबै खरिद गर्न सक्ने बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । अधिकतम सीमा हटेकाले संभवत भोली नै एफपीओ बिक्री हुन सक्ने संभावना रहेको उनले जानकारी दिए ।

आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । सीमा बढाए कोष र बीमा कम्पनीले एफपीओ सबै किन्न तयार रहेको उनको भनाई छ । खुलेको छैठौ दिन मंगलबारसम्म २ अर्ब ५ करोड रुपैयाँको आवेदन परेको छ । ५५ हजार आवेदकले ६१ लाख ५६ हजार १५६ कित्तालाई आवेदन परेको कार्कीले जाकारी दिए । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ ।

बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले न्युनतम १० र अधिकतम ५७ हजार ७० कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सक्ने छन् ।

बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.