ओलीसँगै चीन पुगे महासंघका सबै पदाधिकारी, १२ जनाको टोलीमा को को ?

  २०७५ असार ५ गते १६:४२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा नेपाल उद्योग बाणिज्य महासंघका सबै पदाधिकारी सहभागी भएका छन् । महासंघका अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधान, वस्तुगत संघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एसोसियट तर्फका उपाध्यक्ष चन्द्र ढकाल र कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान चीन पुगेका हुन् । उनीहरुसँगै महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, पुर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्ढीराज ढकाल पनि चीन पुगेका छन् । ।

महासंघको प्रतिनिधिमण्डलमा कार्यकारिणी समिति सदस्यहरु ज्योत्साना श्रेष्ठ, प्रवलजंग पाण्डे, स्वतन्त्र उर्जा उत्पादक संघ(आइपान)का अध्यक्ष शैलेन्द्र गुरागाई र महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी समेत प्रतिनिधिमण्डलमा सहभागी छन् ।

चीनमा रहँदा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरुमा सहभागी हुनुको साथै व्यवसायिक भेटवार्तामा समेत व्यस्त रहने बताइएको छ । उक्त प्रधिनिधि मण्डलभित्र पर्यटन, सेवा तथा उत्पादन मुलक, निर्माण सामग्री, व्यवसायिक कृषि, अटो, खाद्यान्न, जलविद्युत, बैकिङ, औषधि, केवलकार, रेमिटेन्स, गरगहना सहित हस्तकला लगायतका क्षेत्रको प्रतिनिधित्व रहेका छन् ।

महासंघको अनुसार प्रतिनिधिमण्डलले त्यहाँ रहँदा चिनिया साझेदारहरूसँग व्यवसायिक तथा लगानी सम्बन्धी छलफल हुनेछ । प्रतिनिधिमण्डल आजै साँझ वेइजिङस्थित नेपाली राजदुतावासले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।

त्यस्तै प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषदद्वारा बुधबार विहान बेइजिङमा आयोजना हुने चाइना नेपाल विजनेस फोरम मिटिमा महासंघको प्रतिनिधिमण्डलले भाग लिनेछ । उक्त कार्यक्रमलाई नेपाली निजी क्षेत्रको तर्फबाट महासंघका अध्यक्ष राणाले संवोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.