संचय कोष र बीमा कम्पनीहरुले एनएमबी बैंकको एफपीओ किन्ने, खरिद सीमा हटाउन माग

  २०७५ असार ४ गते १७:१५     विकासन्युज

काठमाडौं । संस्थागत लगानीकर्ताले एनएमबी बैंकको थप निष्कासन (एफपीओ) किन्नका लागि सीमा बढाउन माग गरेका छन् । कर्मचारी संचय कोष, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य निर्जीवन बीमा कम्पनीले अधिकतम ५७ हजार ७० कित्ताबाट बढाउन माग गरेका हुन् । एफपीओको खरिदको सीमा हटाउन एनएमबी बैंकले धितोपत्र बोर्डसंग छलफल थालेको छ ।

आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । संचय कोष र बीमा कम्पनीहरुले बैंकको एफपीओ सीमा हटाउन माग गरेको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर विभाग प्रमुख रोशनजंग कार्कीले बताए । संचय कोष र बीमा कम्पनीले सीमा हटाउन माग गरेपछि बैंकले धितोपत्र बोर्डसंग छलफल थालेको उनले जानकारी दिए ।

सीमा बढाए कोष र बीमा कम्पनीले एफपीओ सबै किन्न तयार रहेको उनको भनाई छ । खुलेको पाँचौ दिन सोमबारसम्म १ अर्ब ९० करोड रुपैयाँको आवेदन परेको छ । ५७ लाख ५ हजार ७०५ कित्तालाई आवेदन परेको छ । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ ।

बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले न्युनतम १० र अधिकतम ५७ हजार ७० कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सक्ने छन् ।

बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ । बैंकले सो रकम पछि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्नेछ ।

बैंकको एफपीओमा ६ संस्थाले प्रत्याभूति (अण्डर राइटिङ) गर्ने भएका छन् । लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.