सहकारीको जिम्मा स्थानीय तहलाई

  २०७५ असार ४ गते १६:५३     विकासन्युज

डोल्पा । जिल्लाका सम्पूर्ण सहकारी संस्थाको जिम्मा तथा अभिलेख स्थानीय तहलाई दिइएको छ । डिभिजन सहकारी संस्था जुम्लाको आयोजनामा सोमबार सदरमुकाम दुनैमा गरिएको स्थानीय तह पदाधिकारी तथा अधिकृतका लागि अभिमुखीकरण एवं अभिलेख हस्तान्तरण कार्यक्रममार्फत जिल्लाका ५३ सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई बुझाइएको हो ।

जिल्लाका आठवटा स्थानीय तहमध्ये सातवटा तहमा मात्रै सहकारी संस्था रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिकामा १९, ठूलीभेरी नगरपालिकामा २०, मुड्केचुला गाउँपालिकामा पाँच, जगदुल्ला गाउँपालिकामा चार, शेफोक्सुन्डो गाउँपालिकामा दुई, छार्काताङ्सोङ गाउँपालिकामा एक, काइके गाउँपालिकामा दुई सहकारी रहेका छन् भने डोल्पो बुद्ध गाउँपालिकामा एउटा पनि संस्था छैन ।

अभिमुखीकरण तथा अभिलेख हस्तान्तरण कार्यक्रममा सहकारी भएका सातवटा स्थानीय तहमध्ये काइके गाउँपालिकाका प्रमुख आफैँ उपस्थित भएका थिए भने त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला, मुड्केचुलालगायतका स्थानीय तहबाट प्रमुख तथा उपप्रमुखको उपस्थिति नभई प्रतिनिधिमात्रै उपस्थित थिए ।

सहकारीसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम विशेषगरी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि उपलब्धिमूलक भए पनि उनीहरुकै न्यून उपस्थिति रहेको पाइएको छ । यसअघि सहकारी दर्ताका लागि हप्तौँदिन बिसौँ हजार रकम खर्च गरेर जुम्लामै पुग्नु पर्थ्यो भने अब सहकारी दर्ता, खारेजी, अभिलेख राख्ने लगायतका सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ ।

कर्णालीका पाँचवटै जिल्लाका सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालय जुम्लाका द्रोणराज आचार्यले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.