असारभित्रै प्रधानमन्त्री केपी ओलीले धरहराको शिलान्यास गर्ने, तीन दिन थपियो टेण्डर हाल्ने म्याद

  २०७५ असार ४ गते १४:४२     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित धरहराको पूननिर्माण असार अन्तिम साता आरम्भ हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले असार अन्तिम साता धरहरा पूननिर्माणको शिलान्यास गर्ने तयारी भैरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको सम्पदा संरक्षण विभाग प्रमुख राजुमान मानन्धरले बताए । नयाँ धरहराको फाइनल डिजाइन(भिडियोसहित)


उनका अनुसार धरहरा निर्माणका लागि निकालिएको ग्लोबल टेण्डरको म्याद ३ दिन थपिएको छ । यस अघि निकालिएको टेण्डर अनुसार धरहरा निर्माण गर्न चाहने कम्पनीहरुले आज अर्थात असार ४ गते २ बजे टेण्डर खोल्ने कार्यक्रम थियो । तर सार्वजनिक खरिद तथा अनुगमन कार्यालयको वेभसाइटमा समस्या आएर केहि निर्माण व्यवसायीले आवेदन दिन नपाएपछि तीन दिन समय थपिएको हो ।

असार ७ गते धरहरा निर्माणका लागि आवेदन दिएका कम्पनीहरुको प्राबिधिक प्रस्ताव खोलेर अध्ययन गरिनेछ । प्राबिधिक प्रस्ताव छनौटमा परेका कम्पनीहरुले पुनः पेश गर्ने आर्थिक प्रस्ताव अनुसार न्युन लागत कबोल गर्ने कम्पनीले निर्माणको जिम्मेवारी पाउनेछ । धरहरा निर्माणका लागि १० वटा भन्दा बढि आवेदन आउने सम्भावना रहेको पनि प्राधिकरणको सम्पदा संरक्षण विभाग प्रमुख मानन्धरले जानकारी दिए ।

नयाँ डिजाइन अनुसार धरहराको लागत ४ अर्ब २७ करोड(भ्याट र १० प्रतिशत मूल्य वृद्धि)सहित हुनेछ । जसमा धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाकी सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड हुनेछ । बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ ।

४२ रोपनी जमिनमा निर्माण हुने धराहराको निर्माण ठेक्का लागेको मितिले २ बर्षाभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले जानकारी दिए । बाहिरबाट २२ तल्लाको देखिने धरहरा १४५ फिट अग्लो हुनेछ । धरहरामा २ वटा लिफ्न राखिएका हुनेछन् । एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउने छ भने अर्काेले ८ जनालाई ओराल्ने छ । त्यसका अलवा धरहरामा भर्याङ समेत निर्माण हुनेछ ।

धरहरा निर्माणका लागि नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत एक अर्ब रुपैंयाँ दिने प्रतिवद्धता जनाईसकेको छ भने मै बनाउँछु मेरो धरहरा अभियानमा २४ करोड रुपैंयाँ संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.