थोरै विद्यार्थी लिन्छौं र १०० प्रतिशत सफल बनाउँछौं- राजन खड्का

  २०७५ असार ४ गते १४:३२     विकासन्युज

नेपाली युवाहरु देशमा स्तरीय शिक्षाको अभाव देखाउँदै विदेशिने परम्पराले निरन्तरता पाइरहेको छ । देशमानै प्राविधिक र राम्रो शिक्षा उपलब्ध हुन नसक्दा युवा वर्ग अध्ययनका लागि विदेशिन बाध्य छन् । यसरी बाहिर गएर पढ्न चाहने विद्यार्थीहरुलाई परामर्श दिने र आवश्यक सहयोग गर्ने उद्देश्यका साथ आज विभिन्न कन्सल्टेन्सीहरुले सेवा विस्तार गरिरहेका छन् । तिनै कन्सल्टेन्सीहरु मध्येमा पर्दछ काठमाडौंको बागबजार स्थित ब्रेभ एजुकेशनल कन्सलटेन्सी पनि । यस कन्सल्टेन्सीले ९ वर्षदेखि जापान र अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदे आइरहेको छ । प्रस्तुत छ यसै कन्सल्टेन्सीका सञ्चालक तथा शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को कार्यसमिति सदस्य राजन खड्कासँग विकासन्युजका राजाराम न्यौपानेले गरेको कुराकानी :-

राजन खड्का, सञ्चालक, ब्रेभ  एजुकेशनल कन्सल्टेन्सी, बागबजार

कन्सल्टेन्सी कस्तो खालको व्यवसाय हो ?

यो सेवामुलक व्यवसाय हो । हामीले विद्यार्थीलाई विदेशमा अध्ययन गर्दा के हुन्छ, त्यहाँ गएर कसरी अध्ययन गर्ने, कस्ता खालका कोर्षहरु हुन्छन् र कति समयमा कोर्ष सकिन्छ भन्ने जस्ता कुरा बुझाउने हो । शैक्षिक परामर्शकर्ता भएको नाताले विद्यार्थीको शैक्षिक भविष्यको बारेमा उचित परामर्श दिने गर्दछौं ।

नेपाली विद्यार्थीहरु के कारणले विदेश अध्ययन गर्न जान्छन् ?

नेपालमा राम्रो शिक्षाको व्यवस्था नभएर विदेश अध्ययन गर्न जाने गरेका छन । नेपालमै बसेर अध्ययन गर्दा रोजगारको अवसर पाइँदैन । कुनै पनि विषयमा मास्टर्स नै गरियो भने पनि सोर्षफोर्स विना काम पाउन गाह्रो छ । विद्यार्थीले पढ्न चाहेको कोर्सहरु पनि छैन । नेपालको शैक्षिक अवस्था पछाडी परेको कारणले नै विद्यार्थीहरु अध्ययनको लागि विदेशिने गरेका हुन् ।

नेपालमा पढ्ने कलेज नभएर नै नेपाली विदेश अध्ययन गर्न गएका हुन् ?

नेपालमा हुँदै नभएको भन्ने त हैन । तर जति चाहिने हो त्यती छैन । नेपालमा पनि बिस्तारै त्यस्ता खालका कलेजहरु खुल्दै छन् । त्यसैगरी जति छने ती पनि सहरमा मात्रै केन्द्रित भएका छन् । विश्वमा बिक्ने खालको शिक्षामा पनि कमि छ । रोजगारी र सिपमुलक शिक्षाको पनि देशमा कमि छ ।

नेपालले विदेशमा विद्यार्थी पठाँउदा के पाउँछ ?

नेपालबाट विद्यार्थी विदेशीएकोमा देशलाई घाटा छ । नेपालबाट अरबौं पैसा विदेशीइरहेको छ । देशका युवाहरुको श्रम अन्य देशले लुटिरहेका छन् । नेपालीहरुले बहिर गर्ने जति दुख नेपालमा गरेका भए देशमा आज धेरै परिवर्तन हुने थियो । अर्काे अर्थमा नेपालीहरुले विदेशमा गरेको अध्ययन, कामको अनुभव र सिपको प्रयोग यता आएर गरेमा देशको अवस्था चाँडै नै राम्रो बन्न सक्छ ।

नेपालबाट गएका विद्यार्थीहरु थोरै मात्र नेपाल आएको पाइन्छ । उतै बसेका विद्यार्थीहरुले के काम गर्छन् ?

ग्रास लेबल, होटल, ड्राइभिंग, स्टोर र क्याफे लागायतका ठाउँमा काम गर्ने गरेका छन् । धेरै विद्यार्थी उतै नै बस्ने सपना बोकेर गएका हुन्छन् । उनिहरुले उतैको पिआर लिने गरेका छन् । नेपालबाट गएका विद्यार्थीहरुले नेपालको भन्दा त्यहाँको सबै कुरा राम्रो देख्ने गरेका छन् । नेपालले पनि त्यस्ता विद्यार्थीहरुलाई नेपाल फर्कने वातावरण निर्माण गरेको पाइँदैन । नेपाल आउँदा उसले जिरो बाट नै सुरु गर्नु पर्छ ।

तपाइँको विचारमा हाल नेपालमा कति कन्सल्टेन्सीहरु सञ्चालनमा होलान् ?

मेरो विचारमा शिक्षा मन्त्रालयमा दर्ता भएका २ हजार जति कन्सल्टेन्सीहरु छन् । दर्ता बिना पनि सञ्चालन भएका धेरै छन् । त्यसमा कुनै दर्ताको प्रक्रियामा पनि छन् । यसरी हेर्दा नेपालमा हाल २५ सयको हाराहारीमा कन्सल्टेन्सीहरु हुनुपर्छ ।

सरकारले समय समयमा अनुगमन गर्ने गर्छ नि, किन होला ?

आजभोलि पनि सञ्चार माध्यमहरुमा कन्सल्टेन्सीहरुलाई छापा मारेको कुरा आहिरहेको छ । गलत नियतले खोलेको कन्सल्टेन्सीहरुलाई छापा मारिरहनु पर्छ । राम्रो काम गर्ने हाम्रोजस्ता कन्सल्टेन्सीहरु पनि ति कन्सलटेन्सीहरुको कारणले गर्दा बदनाम हुन पुगेको छ ।

नेपालबाट सीमापारी अध्ययन गर्न जाने विद्यार्थीहरु कुन वर्गका छन् ?

पहिले उच्च र मध्यम वर्गका विद्यार्थीहरु मात्र अध्ययनका लागि विदेश जाने गरेका थिए । अहिले त्यसमा निम्न वर्गका पनि थपिएका छन् ।

यो कन्सल्टेन्सीले विद्यार्थीलाई जापान र अष्ट्रेलिया पठाउँछ भन्नुभयो । नेपाली विद्यार्थीका लागि जापान र अष्ट्रेलिया कस्तो गन्तव्य हो ?

जापान र अष्ट्रेलिया अहिले सबै विद्यार्थीको क्रेज बनेको छ । अन्य देशको तुलनामा यी देशहरु बढि सुरक्षित भएकोले गर्दा पनि यस्तो भएको हो । त्यसैगरी त्यहाँ पढाइ सकेर प्राप्त हुने सर्टिफिकेट पनि संसारभर मान्यता पाइने भएकोले गर्दा पनि नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया र जापान राम्रो गन्तव्य हो भन्ने मलाई लाग्छ ।

नेपालबाट धेरै विद्यार्थीहरु पढ्न जाने देश कुन कुन हुन् ?

पछिल्लो तथ्याङ्क अनुसार नेपालबाट धेरै विद्यार्थी अष्ट्रेलिया गइरहेका छन् । अष्ट्रेलिया बाहेक जापान, अमेरिका, जर्मनी, डेनमार्क, चीन, भारत, जापान लगायतका देशमा पनि गएका पाइन्छन् ।

विद्यार्थीले विदेश अध्ययन गर्न जाँदा के बुझनु पर्छ?

अरुको देखासिकीमा विदेश अध्ययन गर्न जानुभन्दा पनि विद्यार्थीले आफू जाने देशको बारेमा राम्रोसँग बुझेर मात्र जानु पर्छ । त्यहाँ गएर कुन र कस्तो कोर्ष पढ्ने र ति कोर्षहरु कति समयमा सकिन्छ भन्ने जस्ता कुराहरु बुझनु पर्छ । त्यहाँको नीति कस्तो छ, कति काम गर्न पाइन्छ जस्ता कुराहरु पनि विद्यार्थी आफैंले बुझ्न जरुरी छ ।

त्यसमा परामर्शदाताले कस्तो भूमिका खेल्नुपर्छ ?

हामीले पढ्न जाने विद्यार्थीलाई त्यहाँको सबै सत्य तथ्य जानकारी इमान्दारिताका साथ दिनुपर्छ । पैसा कमाउने उद्देश्यले मात्र परामर्शको काम गर्नु हुँदैन । विद्यार्थीको भविष्यप्रति पनि जिम्मेवार बन्नुपर्छ । विद्यार्थीको आर्थिक र शैक्षिक अवस्था हेरेर सोही अनुसारको शिक्षण संस्थाको छनौट गरिदिनु पर्छ । जापान र अष्ट्रेलिया पढेपछिको अवसरका बारेमा पनि स्पष्ट पारिदिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.