भारतभन्दा नेपालमा पेट्रोल साढे २२ र डिजेल २५ रुपैयाँ सस्तो, चोरी पैठारी रोक्न निगमलाई हम्मे-हम्मे

  २०७५ असार ४ गते ८:४०     पृथराज थेगिम

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारतको भन्दा नेपालमा सस्तो रहेको नेपाल आयल निगम लिमिटेडले बताएको छ । भारतको तुलनामा नेपालमा पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ६५ र डिजेलमा २४ रुपैयाँ ७४ पैसा सस्तो रहेको आइतबार पत्रकार सम्मेलन गरी निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराइले जानकारी दिए ।


उनका अनुसार नेपालमा उपभोक्ताहरुलाई सस्तो र सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारको नीति अनुरुप स्वतः संचालित मूल्य संरचनाअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

उपभोक्ताहरुलाई अन्तर्राष्ट्रिय मूल्य घटबढ भए बमोजिम पेट्रोलियम पदार्थ उपलब्ध गराउने तथा आपूर्ति सहज बनाउन मद्दत पुर्याउने उद्देश्यले उक्त विधि प्रयोगमा निगमले २०७१ साल असोजदेखि लागू गर्दै आएको उनको भनाइ छ ।

चोरी पैठारी रोेक्न चुनौती

भारतभन्दा नेपालमा पेट्रोल र डिजेलको मूल्य सस्तो भएपछि निगमलाई भारततर्फ पेट्रोलियम चोरी पैठारी हुनबाट रोक्न चुनौती भएको छ । ‘गएका महिनहरुमा पनि भारतको सिमाभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो थियो,’

निगमका प्रवक्ता वीरेन्द्र गोईतले भने ‘आइतबार निगमले घटाएको मूल्यपछि पनि पेट्रोल र डिजेलको मूल्य सस्तिएको छ ।’
आइतबार निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । राजधानीमा प्रतिलिटर पेट्रोलमा ३, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ घटेको छ । घटेर ११३ रुपैयाँ रहेको पेट्रोल ११०, ९५ रुपैयाँ रहेको डिजेल र मट्टितेल ९३ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

काठमाडौं बाहिर पेट्रोलियम पदार्थ झनै सस्तो भएको छ । काठमाडौंबाहिर निगमको डिपो विक्री विन्दुदेखि १५ किमिभित्र लागु हुने स्थान झापाको चारली, विराटनगर, धनुषाको महेन्द्रनगर, वीरगंज, अमलेखगंज, भलवारी, नेपालगंज र धनगढीमा डेढ रुपैयाँ सस्तो भएको प्रवक्ता गोईतले जानकारी दिए । ‘ती स्थानहरुमा काठमाडौंकाभन्दा पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा सस्तो पर्नेछ,’ उनले थपे ‘त्यहाँ प्रतिलिटर पेट्रोलको मूल्य १०८ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेलको प्रतिलिटर मूल्य ९१ रुपैयाँ ५० पैसा तोकेका छौं ।’

पोखरा र दाङ्मा पनि काठमाडौंको तुलनामा पेट्रोल, डिजेल र मट्टितेलमा ५० पैसाको दरले कम पर्ने निगमको भनाइ छ । निगमको अनुसार उक्त स्थानमा पेट्रोल १०९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल ९२ रुपैयाँ ५० पैसा पर्ने भएको छ ।

पेट्रोलियम पदार्थमा मूल्य घटाइ समायोजन गरेपछि निगमलाई आगामी पाक्षिक ७ करोड ८४ लाख रुपैयाँ घाटा हुने भएको छ । यद्यपि मूल्य नघटाएको भए ११ करोड ८१ लाख रुपैयाँ नाफा हुने निगमको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.