चौधरी फाउण्डेसनले लागू गर्यो विभिन्न विद्यालयमा ‘डिजिटल क्लासरूम’, प्राविधिक सामाग्री सहयोग

  २०७५ असार ३ गते १८:४०     विकासन्युज

काठमाडौं । चौधरी फाउण्डेसनले तीन वटा विद्यालयमा ‘डिजिटल क्लासरूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ । सूचना प्रविधिमा आधारित विश्व ब्यापी अध्ययन/अध्यापनको पहु्ँचमा नेपाली बालबालिका पनि पुग्न सकून् भन्ने सोचका साथ यो अवधारणा कार्यान्वयनमा ल्याइएको हो ।

पहिलो चरणमा नवलपुरका दुई र सिन्धुपाल्चोकको एक विद्यालय डिजिटल क्लासरूम परियोजनाका लागि छनौट भएका छन् । जसमा नवलपुरकाे शान्ति श्रृजना आधारभूत विद्यालय र कावासोतीकाे कालिका आधारभूत विद्यालय रहेका छन् ।

चौधरी फाउण्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले नवलपुरका दुई विद्यालयमा स्थापित डिजिटल क्लासरूमको शनिवार छुट्टाछुट्टै कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । यस परियोजनाअन्र्तगत पहिलो चरणमा प्रत्येक विद्यालयले सातवटा ल्यापटप, चारवटा डेक्सटप, ३२ इन्चको एउटा एलजी टेलिभिजन र प्रोजेक्टर प्राप्त गरेका छन् । डिजिटल क्लासरूमको विस्तारमा पनि फाउण्डेसनले सहयोग गर्नेछ ।

अध्यक्ष चौधरीले विश्वमा अहिले साक्षरताको परिभाषा परिवर्तन भएको भन्दै कम्प्युटर शिक्षा र अंग्रेजी भाषाको ज्ञान भएको व्यक्तिलाई मात्रै साक्षर मान्ने प्रचलन विकास भएको बताए । विश्वब्यापी यस्तो वातावरणमा नेपाली बालबालिकाको भविष्य सुरक्षित बनाईदिन कम्प्युटर, इन्टरनेटका माध्यमद्वारा डिजिटल क्लासरूमहरू स्थापना गर्नुको विकल्प नरहेको बताएका छन् ।

‘डिजिटल क्लासरूम मार्फत् मात्रै हामीले हाम्रा विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सम्भव हुनेछ’, अध्यक्ष चौधरीले भने– शिक्षाको गुणस्तर सुधार्न यो अभियानलाई द्रुतगतिमा राष्ट्रब्यापी बनाउन आवश्यक छ । यसका लागि सरकार, निजी क्षेत्र र फाउण्डेसनहरूबीचमा सहकार्यको खाँचो छ ।’

डिजिटल क्लासरूम संचालन गर्न फाउण्डेसनले सूचना प्रविधिमा दख्खल भएका शिक्षकलाई तालिम पनि दिएको छ ।
डिजिटल क्लासरूमको अवधारणा कार्यान्वयनमा ल्याएकोमा अभिभावक र शिक्षकहरूले प्रसन्नता व्यक्त गरेका छन् । शान्ति श्रृजना आधारभूत विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष रामथापाले विद्यार्थीको सिकाइ प्रकृयामा यस अवधारणाले सकारात्मक प्रभाव पार्ने बताउँदै फाउण्डेसनप्रति कृतज्ञता व्यक्त गरे ।

सिन्धुपाल्चोकको विद्यालयमा निकट भविष्यमै डिजिटल क्लासरूम उद्घाटन गर्ने कार्यक्रम छ । डिजिटल क्लासरूम संचालन गरिएका विद्यालयसहित पाँच विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था समेत मिलाईएको छ । विदेशबाट ‘वाटर फिल्ट्रेसन सिस्टम’ आयातगरि अन्तर्राष्ट्रिय मापदण्डमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको हो ।

यस प्रणाली प्राप्त गर्ने विद्यालयहरूमा शान्तिश्रृजना आधारभूत विद्यालय, सकलादेवी माध्यमिक विद्यालय, नवजागरण आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय रहेका छन् ।

विद्यार्थी, शिक्षक एवं स्थानीयवासीले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको शुद्ध खानेपानी पाएका छन् । अध्यक्ष चौधरीले यी सबै परियोजनाको उद्घाटन गरि शुद्ध खानेपानी प्रणाली समेत विद्यालयहरूलाई हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.