वहुप्रतिक्षित भैरहवा सेजकाे निर्माण कार्य असार दोस्रो हप्तादेखि शुरु

  २०७५ असार ३ गते १४:५२     विकासन्युज

काठमाडौं । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण कार्य आगामी दोस्रो हप्ताभित्र शुरु हुने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चन्डीकाप्रसाद भट्टले आगामी दुईहप्ताभित्र वहुप्रतिक्षित भैरवा सेज निर्माण शुरु हुने बताए ।


नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रस्तुतिको अवसरमा उनले सेज निर्माण कार्यको सम्पूर्ण तयारी पूरा भइसकेकाे जानकारी दिए ।

उनका अनुसार दुई महिनाअघिसम्म १३ उद्योगले ३८ ओटा प्लटहरु लिइसकेको थियो । त्यसपछिको केही महिना पुनः १३ उद्योगले ३१ ओटा प्लट लिएको छ । अहिले भैरवा क्षेत्रमा रहेको कुल ६९ प्लट सबै उद्योगीहरुले लिइसकेको उनकाे भनाइ छ । अब कुनै पनि बाँकी छैन । ‘हामीले उक्त २६ उद्योगलाई अनुमति पनि दिइसकेका छौं,’ उनले भने ‘अहिले उद्योग दर्ताको प्रक्रियामा अघि बढेकाे छ । अबको दुई हप्ताभित्रै उद्योग निर्माण कार्य अघि बढ्नेछ ।’

प्राधिकरणको अनुसार अबको दुई हप्ताभित्र उद्योगहरुसँग सञ्चालनकाे लागि सम्झौता हुनेछ । सम्झौतपछि उद्योगहरुले भाडा बुझाउन शुरु गर्नेछन् । उद्योगहरुले स्वत निर्माण कार्य शुरु गर्ने उनले बताए ।

सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत उद्योगलाई अवश्यक पर्ने जति पनि विद्युत उपलब्ध गराउने बताए । ‘सेजमा विद्युतको समस्या होइन,’ उनले भने ‘सेजलाई आवश्यक पर्ने जति पनि विद्युत उपलब्ध गराउने छौं ।’

सो भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेजको २०७१ सालमै उद्घाटन गरिएको हो । प्राधिकरणको अनुसार सेजमा उद्योग सञ्चालनको लागि विगतमै आईडीएस इलेक्ट्रिक प्रालि, सुगम नानो हर्बल इन्डष्ट्रिज, किरण सुज म्यानुफ्क्चर, जगदम्बा सिन्थेटीक्स प्रालि, ट्रान्स हिमालयन बेभरेज, सिद्धार्थ पेट प्लाष्ट, सिद्धार्थ पेट प्लाष्ट (पीभीसी म्याट), एक्सन पोलिमोर, सरोज श्रेष्ठ गार्मेण्ट ले अनुमति पत्र लिइसकेका थिए ।

त्यस्तै पछिल्लो चरणमाा महेन्द्रकुमार गोयल, इन्टरटेक पाइप्स एण्ड फीटीङ, एशियन थाइ फुड्स, मिनरल वाटर इण्डष्ट्रिज लगायतले अनुमति पत्र लिएका हुन्।

प्राधिकरणको अनुसार सेजभित्र सबै उद्योग सञ्चालनमा आउँदा ५ अर्ब रूपैयाँ लगानी हुनेछ । २ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । सञ्चालनको लागि अनुमति पाएको १ वर्षभित्र उद्योगले व्यापारिक उत्पादन गर्नुपर्ने प्रावधान छ । त्यस्तै सेजमा सञ्चालन हुने उद्योगहरुले ७५ प्रतिशत उत्पादन निर्यात गर्नै पर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.