पर्याप्त पूर्वाधारदेखि आर्थिक एकिकरणकाे अभावमा दक्षिण एशिया अगाडी बढ्न सकेन–भवानी राणा

  २०७५ जेठ ३१ गते २०:४१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले दक्षिण एशिया एक महत्वपूर्ण बजार हुँदा हुँदै पनि विभिन्न कारणले आर्थिक रुपमा सशक्त ढङ्गबाट अगाडी बढ्न नसकेको बताइन् ।


उनले १३ औं चीन–दक्षिण एशिया व्यवसाय फोरम (सीएसएबीएफ) को बैठकलाई चीनको यूनान प्रान्तको कुनमिङमा बिहीबार संबोधन गर्दै पर्याप्त पूर्वाधार, आपसी सम्पर्क विस्तार तथा आर्थिक एकिकरणको अभावका कारण अर्थिक विकासको क्षेत्रमा पछाडी पर्न गएको स्पष्ट पारिन् । ‘अर्को महत्वपूर्ण पक्ष भनेको यस क्षेत्रका राष्ट्रहरूले अवलम्वन गरेका आर्थिक नीतिहरू एकअर्काबीच सामन्जस्यता हुन सकेको छैन,’ उनले भनिन् ‘प्रचुर सम्भाव्यतालाई यथार्थतामा रुपान्तरण गर्न र सिंगो सार्क क्षेत्रलाई आर्थिक रुपमा सम्पन्न बनाउन संयुक्त सहकार्य अबको आवश्यकता हो ।’

वलियो यूवा जनशक्ति र पर्याप्त स्रोतहरुको अधिकतम प्रयोगमार्फत जनताको जीवनस्तर सुधार गर्नु पर्ने उनको भनाइ छ । सिंगो सार्क राष्ट्र तथा चीन समेत एकजुट भई औद्योगिक विकासमा सहयोग र सहकार्यका माध्यमबाट अगाडी बढ्नु पर्ने उनको जोड छ ।

त्यस्तै उनले बीआरआई अभियान दक्षिण एशिया तथा चीन बीचको सम्बन्ध सेतुको रुपमा रहेको बताइन् । बीआरआई अभियान दक्षिण एशिया तथा चीनबीचको विकासको लागि कोशेढुंगा सावित हुने उनको विश्वास छ ।


चीन तथा दक्षिण एशियाली राष्ट्रहरूसँग दक्षिण पूर्वी एशिया, मध्य एशिया, यूरोप, अफ्रिका र बाँकी भूभागबीच सम्पर्क स्थापित गरी यी देशका अर्थतन्त्रलाई जोड्ने शताव्दीकै महत्वपूर्ण आधार हुने अध्यक्ष राणाको विश्वास छ ।  ‘नेपालको मुख्य प्राथमिकतानै बाह्य मुलुकसँग प्रभावकारी सम्पर्क स्थापना गर्नु हो,’ उनले भनिन् ‘भौतिक रुपमा मात्र नभइ पछिल्लो पटक उच्च गतिमा अगाडी बढीरहेको सूचनाको राजमार्गमार्फत समेत नेपाललाई समाहित गर्न आवश्यक छ ।’ आर्थिक रुपान्तरणमा बीआरआई महत्वपूर्ण माध्यम हुन सक्ने उनको भनाइ छ ।

‘यस महत्वपूर्ण समारोहमा म चिनिया लगानीकर्ताहरुलाई चीन तथा बीआरआईसँग जोडिएका देशहरूमा खपत हुन सक्ने वस्तुहरू उत्पादन गर्ने गरि नेपालमा लगानी गर्न आग्रह गर्दछु,’ उनले थपिन् ‘त्यसो हुन सकेमा नेपाललाई औद्योगिक क्षेत्रमा चाहेको लगानीमार्फत वाह्य देशसँगको सम्पर्क विस्तारमा सहयोग पुग्नेछ ।’

उनको अनुसार आजको भूमण्डलीकरणको यूगमा राष्ट्रहरु बीचको प्रतिस्पर्धा भन्दा पनि आपसी सहकार्य एक महत्वपूर्ण विषयको रुपमा विश्व अर्थतन्त्रमा देखा परिरहेको छ । आर्थिक गतिविधिको विस्तारबाट अधिकतम फाइदा उठाउन हामी बीचको आपसी सम्बन्ध अझ बढी घनीभूत र आपसी सांस्कृतिक तथा जनस्तरको सम्बन्ध तीव्र हुनैपर्दछ ।


आपसी लाभका लागि अर्को महत्वपूर्ण उपाय भनेको राष्ट्रहरु बीच भोलीका कर्णधार यूवाहरुलाई एकत्रित गरी कार्यक्रम आदान प्रदान, शिक्षा स्वास्थ्य, विज्ञान र प्रविधि, सांस्कृतिक र पर्यटन जस्ता क्षेत्रमा सहकार्य गरी चीन तथा दक्षिण एशियालाई जोड्न सकिने बलियो सम्भावना रहेको उनको भनाइ छ ।

बैठकमा महासंघको प्रतिनिधिमण्डलका सदस्यहरु, महासंघको कार्यकारिणी समितिका सदस्यहरू गुणनिधि तिवारी, शंकर बोगटी, किशोर आचार्य र प्रवलजंग पाण्डे, महासंघको व्यापार मेला समितिका सहसभापति सविन श्रेष्ठ, लगायत उद्यमी व्यवसायीहरूको वैठकमा सहभागिता थियो ।

सोही अवसरमा कुनमिङमा चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेला समेत आयोजना भएको छ । उक्त मेलामा नेपालबाट १०० वटा स्टलहरुमार्फत नेपाली वस्तुहरूको प्रदर्शनी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.