पूँजी बजारलाई बाइपास गरेर समृद्धिको सपना पुरा हुँदैन-डा. बाबुराम भट्टराई

  २०७५ जेठ ३० गते ८:३०     विकासन्युज

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेपाली राजनीति र आर्थिक क्षेत्रमा स्वदेशमा मात्र हैन, विदेशमा पनि उत्तिकै चर्चित छन् । नेपालका सफल अर्थ मन्त्रीको सूचीमा पर्ने डा. भट्टराईले अर्थ मन्त्री हुँदा नेपालको सेयर बजारको बारेमा दिएको अभिव्यक्तिले विवादित पनि बने । समृद्धि हाम्रै पालामा भन्ने नयाँ नारा लिएर नयाँ शक्ति पार्टीको नेतृत्व गरिरहेका भट्टराई मुलुकको समृद्धिको लागि दुई दशकसम्म दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न सबै राजनीतिक दलहरुकावीचमा सहमति आवश्यकता रहेको बताउँछन् । पूँजी बजारलाई देशको विकासको लागि आवश्यक अधिकतम् परिचालन र पूँजी निर्माणको माध्यम बनाउनु पर्ने धारणा राख्ने भट्टराईसंग नेपाल धितोपत्र बोर्ड रजत जयन्ती वर्ष स्मारिकाका सम्पादक डा. नवराज अधिकारीले संक्षिप्त वार्ता गरेका छन् । प्रस्तुत छ, वार्ताको सार:

तपाई अर्थमन्त्री भएको समयमा यहाँले पूँजी बजारका सम्बन्धमा व्यक्त गरेका विचारहरुमा धेरै टिका टिप्पणी भए । वर्तमान अवस्थाको पुँजी बजारलाई कसरी लिनु भएको छ ?
म राजनीतिक अर्थशास्त्रको विद्यार्थी भएकोले नेपाल अहिले भर्खरै कृषि अर्थतन्त्रबाट औद्योगिकरणमा जाने अवस्थामा छ भन्ने निष्कर्षमा छु । यस्तो अवस्थामा पूँजी निर्माण र बजारको महत्वपूर्ण भूमिका हुन्छ । म अर्थ मन्त्री रहेको बेलामा धितोपत्र बजार बारेमा मैले बोलेका विषयले गलत सन्देश गयो । त्यसले गर्दा धितोपत्र बजारमा थोरै गिरावट आयो । कम्युनिष्ट अर्थमन्त्री भएको र दर्शनमा अडिग भएकोले त्यस्तो बोल्यो भन्ने आयो, त्यो सही थिएन । मेरो आशय त्यस्तो थिएन । हाम्रो देशमा जसरी पूँजी निर्माण हुन्छ, धितोपत्र बजारले त्यसलाई व्यवस्थापन गर्न लगानी नीति बनउन सकिएन भने कही मान्छे त्यसलाई च्याँखे थापे जसरी लैजाने र केही व्यक्तिले लाभ लिने ढंगको हुनेगरी छोडियो भने त्यो जुवाघर जस्तो हुन जान्छ, त्यसलाई जुवाघर जस्तो बनाउन हुँदैन भन्ने मेरो मनशाय थियो । त्यतिवेलाको मेरो भनाईलाई तपाईहरुमार्फत् फिर्ता लिन चाहन्छु । दीर्घकालीन पुँजीको दक्ष परिचालन तथा राष्ट्रिय औद्योगिकीकरण नभई दश समृद्ध बन्न सक्दैन र त्यसका लागि पँुजी बजारको सुधार तथा विकास विस्तार हुनुपर्छ भन्ने मेरो प्रतिबद्धता हो ।

पूँजी बजार संवेदनशील बजार पनि हो । हालसालै पनि यहांले धितोपत्र दलाल व्यवसायीको कमिसनमा लाग्ने मूल्य अभिबृद्धि कर खारेज नगरेको भए पनि हुन्थ्यो भन्नु भयो, तर मूल्य अभिबृद्धि कर पनि अन्तिम उपभोक्तालाई नै लाग्ने हो नि?
बजेटमा मेरो पनि के अपेक्षा थियो भने अर्थनीति, वित्तीय र मौदिक नीतिको पनि ज्ञाताको हिसाबले अर्थ मन्त्रीले राम्रो नीति ल्याउनुहोला भन्ने थियो । तर पूँजी बजारले सकारात्मक प्रतिक्रिया दिएन । शितयुद्धकालीन कित्ताकाट नगरीकन राष्ट्रिय सहमति बनाउनु पर्दछ । पूँजी बजारले दिएको नकारात्मक प्रतिक्रियालाई सम्बोधन गर्नुपर्दछ, एक सांसद र देशको आर्थिक।राजनीतिक विषयमा चासो राख्ने नागरिकका रुपमा सच्याउनु पर्दछ भन्ने भनाई मेरो थियो । म यस क्षेत्रको विज्ञ नभएकोले मेरो भनाई गलत हुन गएको छ भने म .त्यसलाई सच्याउन चाहांछु ।

आर्थिक विषयवस्तु तथा अर्थतन्त्रमा विशेष दख्खल राख्ने नेपाली राजनीतिमा पाइने विरलै नेतृत्व मध्यमा यहां पर्नुहुन्छ । अबको नेपालको अर्थतन्त्रको गन्तव्य कता हुनुपर्छ जस्तो लाग्छ ? यहाँले देखेको गन्तव्यको लागि समग्र वित्तीय क्षेत्र र पूँजी बजारको भूमिका कस्तो रहला ?
मैले संसदमा पनि मेरो विचार राखेको छु । मेरो एक सामान्य ज्ञानले के भन्दछ भने औद्योगिकीकरण नभएकोले शुरुमा बजार हामीले बुझ्नेजस्तो हुँदैन, बन्दैन । सामान्य जग्गा र सुन होल्ड गर्ने बानी परेको छ । यसलाई पूँजीमा नै लगाउने वातावरण सिर्जना गर्न केही समय लाग्छ । हाम्रो पूँजी बजारमा बैंक, वित्तीय तथा जलस्रोत क्षेत्रका कम्पनीहरु प्रवेश गरेका छन् । उत्पादन क्षेत्रका कम्पनीहरु प्रवेश गरेका छैनन् ।

परिवारबाट सञ्चालित हुँदै आएका उद्योग र उत्पादनमूलक उद्योगहरु पूँजी बजारमा ल्याउन राज्यले अनुकूल नीति नियम बनाउनु पर्दछ । प्रोत्साहन गर्नुपर्दछ । स्वतन्त्र अर्थतन्त्र भएकोले करबल त गर्न सकिँदैन तर राज्यले प्रोत्साहन दिएर सबै क्षेत्रलाई आकर्षित गनुपर्दछ, नपुग रकम अन्तर्राष्ट्रिय पूँजी बजारमा जोडिएर लिनु पर्दछ । पूँजी बजारको विकास नभैकन हामीले खोजे जस्तो अर्थिक विकास हुन सक्दैन ।

यहाँको समृद्धि हाम्रै पालामा सम्भव छ, बहुचर्चीत नारा नै बनेको छ । तर विश्वका उदारवादी अर्थतन्त्रले गतिशील पुँजी बजारको माध्यमबाट चामत्कारिक आर्थिक विकास गरेको वर्तमान परिवेशमा पुँजी बजारको उच्चतम विकास विना नेपालमा ठूलो लगानी भित्र्याउन र यहांले भनेजस्तो दुई अङ्कको आर्थिक बृद्धि गर्न सम्भव छ ?
हामी युगान्तकारी परिवर्तनको जुन चरणमा छौ विकासको गति कछुवाको जस्तो भएर हुँदैन । पुग्दैन हामीलाई तीव्र ढंगले विकास गर्न तीव्र छलाङ मानुपर्दछ । तीव्रगतिमा विकास गर्नुपर्दछ । आगामी दुई दशकसम्म दोहोरो अंकको आर्थिक बृद्धि हासिल नगरी विकसित अर्थतन्त्रमा पुग्न सकिदैन् । तेस्रो विश्वको स्तरबाट पहिलो विश्वको स्तरमा पुग्न सकिदैन् । त्यसको लागि कृषिमा जकडिएको अर्थतन्त्रलाई जतिसक्दो छिटो औद्योगिक र सेवामुखी अर्थतन्त्रमा रुपान्तरण गर्नुपर्दछ । छिटो आँैद्योगिकरणमा जाने भनेको पूँजी बजारले नै हो ।

अहिले ५५ लाखको जनशक्तिले विदेश गएर पठाएको रेमिट्यान्सलाई पनि पूँजीकृत गर्ने ढंगले जानु पर्दछ । पूँजीलाई उत्पादनमूलक उद्योग र सेवा क्षेत्रमा लगाउनु पर्दछ । विदेशिनु पर्ने अवस्थामा सुधार ल्याउन हामी आफैले पूँजी निर्माण गर्नुपर्छ । नपुग पूँजी अन्तर्राष्ट्रिय संस्थाबाट र क्षेत्रबाट ल्याउनु पर्दछ । पूँजी निर्माणमा नै हाम्रो पहिलो जोड हुनु पर्दछ । त्यसको लागि पूँजी बजारको व्यापक रुपमा गुणात्मक विस्तार गर्नु पर्दछ । ७ सय ५३ वटै स्थानीय निकायमा पूँजी बजारलाई पु¥याउन सक्यौं भने यसले ठूलो योगदान गर्न सक्छ भन्ने मेरो ठम्याई हो । अर्बौ र खर्बौ डलर वृद्धि गर्न सक्यौँ र देशका कुनाकाप्ँचासम्म पूँजी बजार पु¥याउन सकियो भने गुणाँत्मक परिर्वतन आउँछ नत्र कछुवाको गतिमा जान्छ ।

बैंकिङ्ग क्षेत्रको प्रभुत्व रहेको नेपालको वित्तीय प्रणालीलाई कसरी लिनुभएको छ ? यसमा सुधार गर्नुपर्ने ठाउँहरु पनि छन् कि ?
संक्रमणकालमा बैंक र वित्तीय संस्थाले पूँजीको पूलको काम गर्छ । औद्योगिक र उत्पादनसँग जोडिन सकेन भने त्यो सुन्निएर मोटाए जस्तो हुने र समग्र अर्थतन्त्रलाई विकास गर्ने दिशा प्रत्युत्पादक हुन पनि सक्छ । तसर्थ यसैबाट मात्र हुँदैन । यो क्रमिक रुपमा विकास हुन्छ । तर जुन छलाड.मार्ने सोचेका छौँ, सन् २०४० सम्म फड्को हान्ने लक्ष्य प्राप्त गर्ने हो भने अन्तर्राष्टिय पूँजी बजारसँग जोडिएर जानु पर्दछ । भारत र चीनको अर्थतन्त्र जसरी उदयमान भएका छन्, त्यसलाई राजनीतिक ढंगले सन्तुलित बनाएर जाने र भारत र चीनको पूँजी र बाह्य पूँजी भित्र्याउने ढंगले काम ग¥यौं भने सक्छौ । साथै नेपाललाई पूँजीकोे केन्द्र बनाउनेतर्फ पनि सोच्नु पर्दछ ।

सिंगापुर सानो छ । तर पूँजी बजारको विकास विस्तारलाई जोड बल दिएर अर्थात् पुँजी बजारलाई केन्द्र बनाएर विकास गरेको छ । यस्तै यदी हामीले यस्ता तथ्यहरुलाई बेलैमा मनन् गरी अगाडि बढ्न सकेमा नेपाललाई पनि दक्षिण एशियाको वित्तीय केन्द्र बनाउन सकिन्छ । नेपाललाई पूँजी बजारको केन्द्र बनाउन विज्ञहरुले चिन्तन मनन गर्ने र यसका लागि राजनीतिक नेतृत्वले आँट गरेर जानुपर्दछ । यसलाई सम्बन्धित सबैले बेलैमा सोच्नुु पर्दछ । त्यसको लागि त्यो क्षेत्रलाई राष्ट्रिय सहमतिकौ आधारमा सुधार गर्दै जानुपर्दछ । पूँजी बजार सक्रिय व्यक्तिहरुले सक्रिय भूमिका खोल्नु पर्दछ ।

देशमा हाल व्यवस्था भएको केन्द्र, प्रदेश तथा स्थानीय तहमा आवश्यक हुने पुँजी परिचालनका लागि के कस्तो उपयुक्त व्यवस्था गर्न सकिएला ?
हाम्रो वित्तीय क्षेत्र र पूँजी बजार काठमाडौं केन्द्रित छ ७ प्रदेश र ७ सय ५३ स्थानीय निकायको संघीय ढाँचा छ । यसलाई पनि संघीय ढाँचामा लैजानु पर्दछ । सुरुमा ७ प्रदेशका शहरहरुमा र त्यसपछि स्थानीय तहका केन्द्रसम्म पु¥याउनुपर्दछ । शुरुको चरणमा प्रदेश र प्रदेशका शहरहरुमा पुर्याउने र विस्तारै अन्य शहरहरु र स्थानीय निकायमा पु¥याउनु पर्छ ।

संघीयतालाई राज्यका सेवा र सुविधा तल्लो तहसम्म पुर्याउने, अर्थतन्त्रलाई तल्लोतहसम्म पु¥याउने संरचना हो भने बुझ्न प¥यो । शुरुमा प्रशासकीय झमेला तहगत अन्तर विरोधले जटिलता ल्याउंछ भन्ने अनुमान गरिएको छ । हाम्रो केही शहरबाहेक अन्य शहर र ग्रामीण क्षेत्र गरिबीको दुष्चक्रमा फसेको छ । औद्योगिकीकरण पूर्वको निर्वाहमुखी अर्थतन्त्रमा जकडिएको छ त्यसलाई रुपान्तरण नगरेसम्म पूँजी लगानीको वातावरण बन्दैन । लगानी नभए पूँजी बजार विस्तार पनि हुदैन । संघीयताको बुझाइलाई अर्थ राजनीतिक आँखाबाट हेर्नु पर्दछ ।

संघीयताको प्रवर्धन, पूँजी बजार विस्तार गर्ने, औद्योगिकीकरणको आधार तयार पार्ने दिशामा निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य हुन प¥यो । सरकारले उचित नियम कानून र विधिको शासन कायम गर्नु पर्दछ । पूँजी परिचालन र लगानीमा केही दशक निजी क्षेत्रकै अग्रणी भूमिका रहन्छ भन्ने मान्यता राखेर अगाडि बढनु प¥यो ।

नेपालको अर्थतन्त्रको आकारको विस्तार तथा अन्तरराष्ट्रिय आवद्घता बढदै गएको र नेपालको संविधान, २०७२ अनुसार व्यवस्था भएको संघीय संरचनाका परिवेशमा पुँजी बजारको सुधार तथा विकास विस्तारका के कस्ता चुनौतीहरु देख्नु हुन्छ ?
वैचारिक राजनीतिक रुपमा विश्व २१ औं शताब्दीको प्रवेशसंगै नयाँ ठाउमा पुेगेको छ । चौथौ औद्यिोगिक क्रान्तिको युग पनि भनेका छौँ । तर हामी कहाँ ग्रसित छौ भने उदारवादी र राज्य केन्द्रित समाजवादी विचारलाई समन्वय गरेर लान सकेनौँ भने हामी जहाँको त्यही रहन्छौ । हामीमा अझै शीतयुद्धको धङधङी बाँकी छ । त्यो मानिसकिताले माथि उठ्न नसकेकोले समस्या आएको छ । हाललाई पूँजीवादमा जोड दिई पूँजी बजार प्रबद्र्धनको निम्ति राष्ट्रिय सहमति बनाउनु पर्दछ । र केही दशकपछि समाजवादमा जान सकिन्छ ।

अन्तमा, नेपाल धितोपत्र बोर्डलाई केही सुझाव दिन चाहानु हुन्छ ?
रजत जयन्तीको अवसरमा म नेपाल धितोपत्र बोर्ड परिवारलाई हार्दिक शुभकामना दिन चाहन्छु । नेपाल कृषि प्रधानबाट औद्योगिकीकरणमा प्रवेश गर्दैछ । यस्तोमा पूँजी परिचालन र निर्माणका लागि कानून निर्माण र कार्यान्वयनमा बोर्डले ध्यान देओस । आगामी केही दशक पूँजी निर्माणका लागि महत्वपूर्ण हुने सन्दर्भमा पूँजी बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डले पुँजी बजारको नियमन तथा विकास–विस्तारमा नेतृत्व लिएर काम गर्नु पर्दछ ।(धितोपत्र बोर्डको स्मारिकाबाट साभार)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.