बैंकले दिने भन्दा मार्जिन ट्रेडिङबाट पाइने ऋण महंगो हुनेछ-रेग्मी

  २०७५ जेठ २९ गते ११:१७     प्रीयराज रेग्मी

काठमाडौं । पूँजी बजारको दिगो विकास प्रस्थान विन्दु भनेको नीतिगत व्यवस्था नै हो । त्यसका संरचनाहरुको निर्माण र प्रबिधीमैत्री वातावरणले सहयोग गर्नुपर्छ । त्यसकै आधारमा टेकेर नेपालको पूँजी बजारको विस्तार र विकास गर्न सकिन्छ । भर्खरै सरकारले नयाँ बजेट ल्याएको छ । हाम्रा पुरै आकांक्षाहरु पुरा भएनन् होला यद्यपी बजेटमा भएका व्यवस्थाले पूँजी बजारको विकास र विस्तारमा सहयोग नै गर्छ । हामीले बजारको आयातन बढाउन बजेटले जोड दिन्छ भन्ने अपेक्षा गरेका थियौं । जुन केहि हदसम्म पुरा भएको छ ।

पूँजी बजारमा मूल्य अभिवृद्धि कर (भ्याट) को बिषय टुंगीएको छ । ब्रोकरहरुलाई ३० प्रतिशत आयकरको दायरामा लगिएको छ । जसलाई हामीले पनि राम्रो कदमका रुपमा लिएका छौं ।

लगानीकर्ताले तिर्ने पूँजीगत लाभकरका सन्दर्भमा व्यक्तिगत तर्फ ७.५ प्रतिशत बनाइएको छ । संस्थागत तर्फ भने १० प्रतिशत नै कायम राखिएको छ । बोनस र हकप्रद सेयरका सवालमा देखिएको अन्यौलता तत्कालका लागि रोकिएको छ । १५ दिनमा तयार हुने अध्ययन प्रतिवेदनले त्यसको अन्तिम टुंगो लगाउनेछ ।

सरकारले आर्थिक समृद्धिको मार्ग खोल्ने भनिरहेको छ । पूँजी बजारलाई पूँजी संकलनको माध्यमका रुपमा अंगीकार गर्ने सरकारले भनिरहेको छ ।  त्यसले पूँजी बजारको दिगो विकास र विस्तारका लागि सकारात्मक मार्ग निर्देश गर्नेछ भन्ने हाम्रो अपेक्षा हो । सरकारको कलर(रंग)लाई हेरेर सेयर बजारमा यस्तो भयो भनेर हल्ला गर्नुपर्ने अवस्था छैन् । ब्याज दर बढिरहेको छ, सेयरको आपूर्ति पनि बढि नै छ । कम्पनीहरुले दिने लाभांश पनि घटि रहेको छ । बजारको वास्तविक अवस्थालाई नहेरि खाली सरकारलाई गाली मात्रै गर्ने चलन सुरु भएको छ । अघिल्लो पाली केपी ओलीकै नेतृत्वमा सरकार हुँदा नेपाली सेयर बजारले उच्चतम बिन्दुको इतिहास रचेको थियो । सरकारले पूँजी बजारलाई तल झार्ने र माथी उकास्ने नीति लिन्छ भन्ने मलाई लाग्दैन् ।  त्यसले पुँजी बजारलाई भरोसा योग्य, गहिरो र दिगो बनाउँछ भन्ने लाग्छ ।

सरकारले पुँजी बजारको विधिबिकरणका लागि  उत्पादनमुलक कम्पनीलाई प्रवेश गराउन केहि बाध्यकारी व्यवस्था अघि सारेको पनि छ । संस्थागत लगानीकर्ताको प्रवेश, सर्ट सेल, ऋण पत्रको कारोबार, इन्ट्रा डे कारोबार लगायतका काम धितोपत्र बोर्ड आफैंले अघि बढाउन सक्छ । पूँजी बजारकै संरचना बढाउन पनि सरकारले चासो र तदारुकता देखाएकै छ ।

अहिले मार्जिन ट्रेडिङ कार्यान्वयनको चरणमा छ । त्यसले लगानीकर्ता र ब्रोकरहरुलाई पनि सकारात्मक कुरा नै हो । मार्जिन ट्रेडिङ भनेको अल्पकालिन लगानी हो । यसले बजारमा देखिएको अवसरलाई तत्कालै सदुपयोग गर्नका लागि उपयोग गर्न सकिन्छ । यद्यपी यसका फाइदा र जोखिम पनि छन् । सही ढंगले उपयोग गरियो भने लगानीकर्ताले फाइदा लिन सक्छन् । तर गलत उपयोग भयो भने यसले समस्या पनि ल्याउन सक्छ । यसका पनि २/३ वटा बिषय बाँकी नै छन् । मार्जिन ट्रेडिङको सेवा शुल्क कति हो ? जसलाई हामीले ब्याजदर भन्छौं भने नेप्सेले सेवा शुल्क भनेको छ । सेवा शुल्कको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइएको छ । कारोबार प्रणाली र राफसाफ प्रणाली र ब्रोकरहरुको प्रणालीगत सुधारको काम भैरहेको छ । त्यसपछि मार्जिन ट्रेडिङ कार्यान्वयनमा आउँछ ।

मार्जिन ट्रेडिङ सुबिधा उपलब्ध गराए वापत ब्रोकरले लिने सेवा शुल्कको सिमा तोकिएको छैन् । ब्रोकर र लगानीकर्ताको सहमतिमा शुल्क तोक्न सकिने व्यवस्था गरिएको छ । अहिलेका लागि केहि ब्रोकरहरुले मात्रै मार्जिन ट्रेडिङको सेवा आरम्भ गर्नेछन् । केहि समयपछि बाँकी ब्रोकरहरुले पनि आफ्नो क्षमता बढाएर मार्जिन ट्रेडिङ सेवा प्रदान गर्न सक्छन् । मार्जिन ट्रेडिङ एक प्रकारले परिक्षणका लागि अघि सारिएकाले पनि सुरुमा थोरै ब्रोकर मार्फत मात्रै कार्यान्वयन गर्न लागिएको हो ।

बैंक तथा वित्तिय संस्थाले उपलब्ध गराउने ऋण भन्दा मार्जिन ट्रेडिङबाट पाइने ऋण केहि महंगो हुनेछ । बाणिज्य बैंकहरुबाट ऋण लिएर लगानीकर्तामा लगानी गर्नु पर्ने भएको यो अलि महंगो पर्छ नै । त्यसैले हामीले मार्जिन ट्रेडिङलाई अवसर छोप्न सक्ने लगानीकर्ताहरुका लागि हो भनिरहेका छौं । फेरी मार्जिन ट्रेडिङकै कारण बजार बढ्छ भन्ने चाँही होइन् । यसले १० देखि १५ प्रतिशत कारोबार भने बढाउन सक्छ । बजार बढ्ने वा घट्ने कुरा चाँही बजारको नियमित प्रक्रियामा भर पर्छ । यो साना लगानीकर्ताहरुका लागि लक्षित सुबिधा हो । मार्जिन ट्रेडिङबाट २ बर्षका लाग लगानी गर्छु भन्नेहरु चाँही डुब्नु नै । नाफा भयो भने नाफा बुक गर्ने अनि घाटा भयो भने लगानी जोगाउने प्रयोजनका लागि मार्जिन ट्रेडिङलाई उपयोग गर्ने हो । ब्रोकरले आफ्नो क्षमताको १० प्रतिशत मात्रै मार्जिन ट्रेडिङमा लगानी गर्न पाउने हो ।

ब्रोकरहरु संस्थागत हुनुपर्छ भन्ने कुरा लामो समयदेखि उठ्दै आएको छ । संस्थागत हुनु भनेको ब्रोकरले गर्ने काम र त्यसका लागि आवश्यक पर्ने पुँजी, प्रबिधी र बजार हो । ब्रोकर कम्पनीहरुको कार्यक्षेत्र बढाउनुस, त्यसपछि पूँजी बढाउँछन जसले दक्ष जनशक्तिको खोजी गर्छ । त्यसले सिंगो पूँजी बजारका लागि सकारात्मक काम गर्छ । ब्रोकरहरु पनि व्यवसायी हुन् । खाली पूँजी वृद्धि मात्रै भनेर हुन्न । त्यसकारण हामीले नियमनको घेरा भित्र कार्यक्षेत्र विस्तार गर्नु पर्यो भन्दै आएका छौं ।

त्यसले पुँजी, प्रबिधी र जनशक्तिको क्षमता अभिवृद्धि हुन्छ जसकार कारण पूँजी बजारकै लागि राम्रो फाइदा पुग्छ । लामो समयदेखि दोश्रो स्टक एक्सचेञ्ज ल्याउनेबारे बहस चलिरहेको छ । नयाँ स्टक ल्याउने की नल्याउने भन्ने कुरा सरकारले निर्धारण गर्ने हो । अहिलेको नेप्सेले राम्रोसँग काम गर्न नसकेको साँचो हो । नेप्से व्यवसायीक हुन नसकेकाले सिंगो पूँजी बजार व्यवसायीक हुन सकिरहेको छैन् । ब्रोकर कम्पनीहरुले प्रदान गर्ने सेवा भनेको नेप्सेले बनाएको सफ्टवेयरमै मात्र हो । त्यसरकारण नेप्सेको व्यवसायीकता अभिवृद्धि अत्यावश्यक छ ।
अहिले मौद्रिक नीतिको बहस सुरु भैसकेको छ । मार्जिन ट्रेडिङको कारोबारलाई मौद्रिक नीतिले समेट्नु पर्छ । त्यस अघि नै सो कार्यबिधी कार्यान्वयनका लागि स्वीकृति प्राप्त होस भन्ने अपेक्षा छ ।

नेपालको पूँजी बजारमा बैंक तथा वित्तिय संस्थाको वर्चश्व रहेकाले मौद्रिक नीतिमा आउने कुराले पूँजी बजारलाई प्रत्यक्ष असर गर्छ ।  तरलताको उचित व्यवस्थापन नै पूँजी बजारको त्राण हो । मौद्रिक नीतिले तरलता व्यवस्थापनको उचित कार्यक्रम ल्याओस् । अर्काे कुरा भनेको अनलाईन सेयर कारोबार आरम्भ गर्ने तयारी भैरहेको छ । त्यो समयमै सम्पन्न भएर अजोखिमरहित ढंगले अघि बढोस् । (स्टक ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीसँग गरिएको कुराकानीमा आधारित)

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.