१ अर्बभन्दा बढी पुँजी भएका ८० कम्पनीलाई सेयर निष्काशन गर्न बाध्य पार्दै सरकार (सूचिसहित)

  २०७५ जेठ २३ गते २०:५८     पृथराज थेगिम

काठमाडौं । अर्थिक वर्ष २०७५/७६ को बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरे–‘१ अर्ब वा सो भन्दा बढी पुँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई पूँजी बजरामा सूचिकृत हुनुपर्ने व्यवस्था गरिनेछ ।’
१ अर्ब रुपैयाँ भन्दा बढी पुँजी भएका कति कम्पनी होलान् ? धेरैको लागि जिज्ञासाको विषय भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार हाल १ अर्ब वा सो भन्दा बढी पुँजी लगानी भएको कम्पनी १४५ वटा छन् । त्यस मध्ये ६५ वटा कम्पनीले सर्वसाधारणको लागि सेयर निष्काशन गरेका छन् । सेयर बजारमा सूचिकृत भएका छन् ।

८० वटा कम्पनीले सार्वजनिक रुपमा सेयर निष्काशन गरेका छैनन् । यी कम्पनीहरु सञ्चालनमा रहेको तथा नियमित रुपमा अपडेट रहेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । ८० मध्येमा केही बीमा कम्पनीहरु, जलविद्युत कम्पनीहरु र दुई सिमेन्ट उद्योगले सार्वजनिक रुपमा सेयर निष्काशन प्रक्रिया शुरु गरिसकेका छन् ।

तीन वटा कम्पनीमा विदेशी लगानी रहेको छ । सात वटा कम्पनीमा सरकारी सेयर समेत रहेको छ । प्राइभेट एकल कम्पनी ८ वटा छन् तर प्राइभेट बहुल कम्पनी ३२ वटा रहेका छन् ।

३१ वटा कम्पनी पब्लिक लिमिटेडको रुपमा दर्ता भएका छन् । ५० जना भन्दा बढी सेयरधनी भएका कम्पनीहरु पब्लिक कम्पनीको रुपमा दर्ता हुनु पर्ने विद्यमान कानुनी व्यवस्था रहेको छ ।

बजेटमा गरिएको घोषणा कार्यान्वयन हुने हो भने ती कम्पनीले सर्बसाधारणमा सेयर निष्काशन गर्नैपर्छ । नेप्सेमा सूचिकृत भई सेयर कारोबार गर्नुपर्छ ।

पुँजी बजारलाई गतिशिल बनाउन र बजार विस्तार गर्न १ अर्ब रुपैयाँ भन्दा बढी पुँजी भएका कम्पनीलाई पुँजी बजारमा ल्याउन आवश्यक भएको अर्थमन्त्री खतिवडाको तर्क छ । ‘२०/२५ करोड पुँजी भएको लघुवित्तलाई पुँजी बजारमा आउनै पर्छ भन्ने तर १०० करोड रुपैयाँ भन्दा बढी पुँजी भएको कम्पनीलाई पुँजी बजारमा नआए पनि हुने व्यवस्था गलत छ’ बजेट आउनुपूर्व एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री खतिवडाको भनेका थिए ।

अर्थमन्त्रीले प्राइभेट इक्यूटी, भेन्चर फण्ड र हेज फण्ड लगायतका नयाँ संस्थाहरुलाई पूँजी बजरामा प्रवेश गराइने पनि घोषणा गरेका छन् । नेपालको क्रेडिट रेटिङ्ग गराई विदेशी लगानी र ऋण प्रवाहलाई सहजीकरण गरिने पनि बजेटमा लेखिएको छ । यी सबै व्यवस्था कार्यान्वयनमा आएमा पुँजीबजार विस्तारित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.