लाभकर व्यवस्था फिर्ता भएपछि लगानीकर्ता उत्साहित, नेप्से दोहोरो अंकले बढ्यो

  २०७५ जेठ २३ गते १५:१९     विकासन्युज

काठमाडौं । सरकारले लाभकरकाे नयाँ व्यवस्था फिर्ता गरेपछि सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । जसकारण बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ ।

लगातार दुई दिन पछि खुलेको बजारमा नेप्से परिसूचक १३.९१ अंकले उकालो लागेर १२८२ अंकमा पुगेको छ । दिनभर करिब २ घण्टा खुलेको बजारमा १३८ कम्पनीको २३ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच बुधबार भएको वार्तामा तत्काल लाभकर नलगाउने सहमति भएको हो । उक्त सहमतिपछि लगत्तै खुलेको बजारमा एकाएक हरियाली छाएको थियो । करिब आधा घण्टामै २३ अंकले उकालो लागेर १२९५ अंकमा पुगेको बजार त्यसपछि घटेर बजार बन्द हुँदा १२८२ अंकमा पुगेको छ ।

बजारमा अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह हरिया भएका छन् । ९ समूहमध्ये सबैभन्दा बढी बीमा समूह १४४ अंकले उकालो लागेको छ ।

सरकारले आइतबारदेखि बोनस र हकप्रद सेयरको आधार मूल्यमा कर लगाउने भएपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । उनीहरुले सोमबार र मंगलबारको सेयर कारोबार ठप्प पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.