सेयरमा लाभकरः पाडी त सित्तैमा पाकाे हाे तर लैनाे भैंसीलार्इ महँगाे परेकाे छ सरकार

  २०७५ जेठ २१ गते २०:१५     रामकृष्ण पाैडेल

सरकार पुँजी बजार मैत्री छैन भन्ने लगानीकर्ताको शंका क्रमिक रुपमा यथार्थमा परिणत हुँदै आएको छ । सुरुमा सेयर बजार उत्पादनशील क्षेत्र होइन भन्ने अर्थमन्त्रीको अभिव्यक्ति विवादास्पद रह्यो । त्यसपछि बजेटमा व्यक्तिगत लगानीकर्ताले तिर्दै आएको पुँजीगत लाभकरको दर ५० प्रतिशत बढाएर ७.५ प्रतिशत पुर्याइयो । लगानीकर्तालाई सबैभन्दा पिडा दिने काम आन्तरिक राजस्व विभागले बोनस तथा हकप्रद सेयरको लागत तथा लाभको गणना गर्ने परिपत्रले गर्यो ।

उल्लिखित प्रंसग पुँजी बजारप्रति हाम्रो राजनीतिक तथा प्रशासनिक नेतृत्वको सीमित बुझाइको उपज हुन । यसलाई सार्वजनिक नीति निर्माणमा ‘इर्ष्या’ हाबी भएको अवस्था पनि मान्न सकिन्छ । पुँजी बजारमा संलग्न सबै पैसावाल हुन यिनीहरुलाई जति निचोरे पनि हुन्छ भन्ने कुण्ठाले काम गरेको देखिन्छ ।

हामीलाई पुँजी बजार आवश्यक हो भन्ने लागेकैले यो २०३३ सालमा अस्तित्वमा आएको हो । हामीले आवश्यक ठानेको यो संरचनालाई यसकै सिद्धान्त र मूल्य मान्यता अनुरुप चल्न दिनुपर्छ । अन्यथा यो संरचना पुरै बन्द गरिनुपर्छ । हाँस न बकुल्लाको चालमा चलाएर लगानीकर्ता र सरोकारवालाहरु दुःख दिनु हुदैन ।

बोनस तथा हकप्रद सेयरको लागत तथा लाभको गणना गर्ने विभागको परिपत्र पनि अपरिपक्व छ । उसले सेयर बजारलाई कर उठाउने थलोभन्दा माथि बुझेको छैन । सुनको फुल पार्ने कुखुरी मार्ने शैली विभागले अपनाएको छ । उसले निर्देशन गरेको विधिबाट आधार मूल्य गणना गर्दा बढी कर उठ्ने पक्का हो । तर, यसले लगानीकर्तालाई त्रसित बनाएर बजार निरन्तर ओरालो लाग्यो भने कसरी हुन्छ लाभ ? अनि कसरी उठ्छ लाभ कर ?

विभागको बुझाई लगानीकर्ताले बोनस सेयर सित्तैमा पाउँछन, हकप्रदमा एक सय रुपैयाँ तिरे पुग्छ भन्ने छ । यो नितान्त गलत बुझाई हो । कुनै पनि कम्पनीले बेसरोकारवालाई बोनस वा हकप्रद सेयर दिँदैन । कम्पनीको साबिक सेयरधनीले बोनस वा हकप्रद सेयर पाउने हुन्  बोनस वा हकप्रद सेयरको हकदार हुनका लागि लगानीकर्ताले कम्पनीको सेयर किनेकै हुनुपर्छ । प्राथमिक बजारमा होस वा दोस्रो बजारमा सेयर नकिनी कुनै पनि कम्पनीको हकप्रद वा बोनस सेयर पाउन सकिदैन ।

विभागको बुझाई ‘पाडापाडी त तपाईले सित्तैमा पाउनु भएको हो ’ भन्ने देखियो । खरिदकर्ताले लैनो भैसीलाई बढी मूल्य तिरेको छ भन्ने तथ्यलाई विभागले इन्कार गरेको देखियो । यसैकारण सेयरको बजार मूल्यका रुपमा लगानीकर्ताले तिरेको लागतलाई बेवास्ता गर्न विभागले निर्देशन दियो ।

विभागले हकप्रद वा बोनस पाउनका लागि लगानीकर्ताले मुल सेयरमा गरेको लगानीलाई बेवास्ता गरेको छ । मुल सेयरमा लगानीकर्ताले गरेको लगानी, ब्रोकर कमिसन, धितोपत्र बोर्डको शुल्क, राफसाफ तथा फछ्र्यौटको शुल्क, सेयर होल्ड गरिरहदाँ लाग्ने ब्याज आदि लगानीकर्ताका वास्तविक लागत हो । विभागले यी सबै खर्चलाई लागत मानेको छैन । यो आर्थिक चेत अभावको पराकाष्टा हो ।

हामीलाई थाहा छ लैनो भैंसी, बकेर्नो भैसी र थारो भैंसीको मूल्य फरक फरक हुन्छ । लैनो भैंसीले लामो समयसम्म दूध दिने र सँगै पाडापाडी पनि हुने भएकाले हामी बढी मूल्य तयार हुन्छौ । यसै अनुरुप बकेर्नौ भैसी र थारो भैंसीको मूल्य तय भएको हुन्छ ।सबै किसिमका बजारमा मूल्य निर्धारण हुने तरिका यही नै हो ।

कुनै वस्तु, सेवा वा सम्पत्तिबाट उच्च प्रतिफल पाइन्छ भन्ने लागेको अवस्थामा मात्र क्रेता बढी मूल्य तिर्न तयार हुन्छ । तर विभागको बुझाई ‘पाडापाडी त तपाईले सित्तैमा पाउनु भएको हो ’ भन्ने देखियो । खरिदकर्ताले लैनो भैसीलाई बढी मूल्य तिरेको छ भन्ने तथ्यलाई विभागले इन्कार गरेको देखियो । यसैकारण सेयरको बजार मूल्यका रुपमा लगानीकर्ताले तिरेको लागतलाई बेवास्ता गर्न विभागले निर्देशन दियो । पहिले अर्थ मन्त्रालयकै निर्देशन र उसले तोकिदिएको विधि अनुसार सेयरको बजार मूल्यमा कम्पनीले प्रस्ताव गरेको हकप्रद र बोनसको अनुपातका आधारमा मूल्य समायोजन गर्ने गरिन्थ्यो । सोही समायोजित मूल्यलाई लगानीकर्ताको लागत मानेर पुँजीगत लाभ करको आधार मूल्य गणना हुन्थ्यो । बुक क्लोज हुनुअघि र पछि लगानीकर्ताको सम्पत्ति बराबर हुनुपर्छ बाह्य कारणले उसलाई हानी हुनुहुदैन भन्ने मान्यताका आधारमा उक्त विधि प्रतिपादन भएको हो । संसारभरका पुँजी बजारमा यही विधि अवलम्बन गरिदै आएको छ । हाम्रो अभ्यास योभन्दा फरक हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.