आर्थिक वृद्धिदर ८ प्रतिशत कायम गर्न जिडिपीको ४३ प्रतिशत लगानी गर्नुपर्ने

  २०७५ जेठ १६ गते १६:४९     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार यहाँ आयोजना गरेको अन्तक्रियामा उनले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताउँदै यस क्षेत्रमा गरिने लगानीले बहुआयामिक प्रभाव पार्ने जानकारी दिएका छन् ।

भैरहवामा एक वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल बनाइने, निजगढको विमानस्थललाई स्तरोन्नति गरी तीन वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल बनाइने, धनगढी, विराटनगर र जनकपुरमा क्षेत्रीय विमानस्थल बनाइने, सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याइने लक्ष्य राखिएको मन्त्री अधिकारीले बताए ।

नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले लिएका अधिकांश लक्ष्य विरोधाभास रहेको बताउँदै पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर गर्ने र आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने योजनाबीच तालमेल नहुने चर्चा गर्दै कूल गार्हस्थ्य उत्पादनको ४३ प्रतिशत लगानी गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय र प्रादेशिक तहका करको अधिकार प्रदेश र स्थानीय सरकारमै भएको अवस्थामा राजश्व बाँडफाँट गर्नुपर्ने हुँदा संघमा ३० प्रतिशत राजश्व उठाउन नसकिने उनको भनाइ थियो ।

पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएकाले बजेट यथार्थफरक भएको बताउँदै आर्थिक वृद्धिदरको सम्भावना रहेको विचार व्यक्त गरेका छन्। संघीयता कार्यान्वयन भएपछिको पहिलो वर्षमा नै प्रदेश र स्थानीय सरकारलाई थोरै बजेट दिनु गलत भएको बताउँदै उनले बजेटमा प्रदेश र स्थानीय तहलाई भने पर्याप्त रकम नदिइएका कारण द्वन्द्व बढनसक्ने औँल्याएका छन् ।

संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले प्रस्तुत बजेटले सकारात्मक सन्देश दिए पनि कार्यान्वयनको पाटो भने जटिल भएको बताए । उनले भने,“संघीयता अनुसारको बजेट भएन, प्रदेश र स्थानीय सरकारलाई कर उठाउने अधिकारमा प्रष्ट पार्नुपर्थ्यो ।”

राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले झन्झटिलो प्रक्रियाबाट सांसदलाई चार करोड रुपैयाँ दिने प्रक्रिया गलत भएको विचार व्यक्त गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.