गुराँस लाईफ इन्स्योरेन्सको नाफा ४० प्रतिशतले बढेको छ- नारायणकुमार भट्टराई

  २०७५ जेठ १३ गते १८:२४     विकासन्युज

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा आएको १० वर्ष पुरा भएको छ । २०६४ चैत १८ गते बीमा समितिबाट सञ्चालन अनुमति पाएको यस कम्पनीले २०६५ जेठ १७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । नयाँ जीवन बीमा कम्पनी बजारमा स्थापित हुने सजिलो छैन । सो चुनौती यस कम्पनीले पनि भोग्यो । पछिल्यो समय पनि यस कम्पनीको ग्रोथ राम्रो देखिएको छ । प्रस्तुत छ कम्पनीले दिँदै आएको सेवा, भावी योजना, पुँजी वृद्धि योजना, लगानीकर्तालाई दिने सम्भावित लाभांशका विषयमा केन्द्रित भई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईसँग गरिएको विकास वहस यस अंकमा ।

नारायणकुमार भट्टराई, प्रमुख कार्यकारी अधिकृत, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वर्तमान अवस्था कस्तो छ ?

एउटा कम्पनीलाई हेर्ने भनेको वित्तीय विवरण नै हो । पहिलो नम्बरमा बिजनेश हो, यस वर्ष हामीले ३० प्रतिशत बिजनेश बढाईरहेका छौं । गत वर्षको कुल बजार २१ प्रतिशतले बढेको थियो, हामीले ३५ प्रतिशत बढाएका थियौं । चैत मसान्तमा हामीले ४० प्रतिशत नाफा बढाएका छौं । जुन तेश्रो नम्बरको वृद्धि हो बीमा बजारमा ।

जीवन बीमा भनेको आजको भोली नै ठूलो प्रगति हुने क्षेत्र होइन । यसमा धेरै पक्षले काम गर्छन् । नयाँ कम्पनी आएका छन् । कम्पनी नयाँ भए पनि काम चाँही पुरानै हो । नयाँ कम्पनीलाई कति गाह्रो हुन्छ भन्ने कुरा मैले दुई वटा कम्पनीमा काम गरेर भोगिसकेको छु । नयाँ भनेर बजारमा आएपछि नयाँ केहि दिनैपर्छ । लोगो मात्रै नयाँ भएर हुन्न । सीईओ पुरानै, कर्मचारी पुरानै, पोलिसी पुरानै हुन्छन् अनि बजार पनि पुरानै हो । सफ्टवेयर पनि पुरानै हुन्छ । अहिले बीमा कम्पनीहरुमा प्रयोग भईरहेको सफ्टवेयर ५० प्रतिशत भन्दा बढि नम्बर ल्याउनै नसक्ने खालको पुरानो छ ।

गुराँसमा तपाई प्रमुख कार्यकारी अधिकृत भएपछि के के काम भए ?

म जीवन बीमा कम्पनीहरुतर्फ योङ सीईओमा पर्छु । तर जीवन बीमातर्फ मात्रै काम गरेर लामो समय सीईओ भएको म नै हुँ । म विगत १५ वर्षदेखि लाइफ इन्स्योरेन्स कम्पनीमै छु । गत मंसिरमा मैले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा सीईओको जिम्मेवारी पाएँ । त्यसयता कम्पनीमा धेरै परिवर्तन गरिसकेको छु । हार्डवेयर, नेटवर्क, सेक्युरीटी सिस्टम नयाँ ल्याइसकेको छु । साउनदेखि सफ्टवेयर पनि नयाँ राख्ने तयारी भैसकेको छ । चलाउन सहज र काम गर्न सहज हुने सफ्टवेयर हामी उपयोग गर्दैछौं ।

तपाईँले ल्याउने नयाँ सफ्टवेयर अरु कम्पनीले पनि उपयोग गर्छन् कि गर्दैनन् ? त्यो सफ्टवेयर अरु कम्पनीले प्रयोग गर्न पाउँछन् कि पाउँदैनन् ?

नयाँ केही कम्पनीले त्यो सफ्टवेयर प्रयोग शुरु गरिसकेका छन् । हामीले पुरानो तथ्यांकलाई समेत अद्यावधिक गर्नुपर्ने भएकाले अलि समय लाग्छ ।

लाइफ इन्स्योरेन्स भन्ने बित्तिकै बीमितलाई आकर्षित गर्न कस्तो पोलिसी ल्यायो भन्ने प्रश्न आउँछ । गुराँसले के त्यस्तो पोलिसी ल्याएको छ, जसले बजारलाई प्रभावित पारिरहेको छ ?

हामीसँग एक्सक्लुसिभ प्रडक्टहरु छन् जुन बजारमा पनि साह्रै राम्रोसँग रुचाईएको छ । बीमा गर्यो भने जीवनभरमा आफैंले पैसा पाइन्छ र मरियो भने परिवारले पैसा पाउँछ भन्ने सोँच छ । लाइफ इन्स्योरेन्स भनेको आज विज्ञापन गरेर भोलि बेचिने प्रडक्ट होइन । आवश्यकता, म्याच हुने प्रडक्ट र पैसा भएपछि मात्रै बीमा गराउँछन् । यो सिलसिलालाई छाडेर हामीले नयाँ योजना ल्याएका छौं । जसको नाम सुरक्षित भविष्य जीवन बीमा योजना भनेका छौं । यहि आर्थिक वर्षमा ल्याएका हौं । एकजनाले बीमा गराउँदा तीन पुस्तासम्मलाई लाभ हुन्छ । जीवनभर बीमितले पाउँछ, समय सकियो भने राम्रो रिटर्न आउँछ । अवधि सकिएपछि जीवनभर पेन्सन पनि पाउँछ । उसको मृत्युपछि परिवारले जति रकमको बीमा गरेको हो, त्यो बराबर परिवारले पैसा पाउँछन् । बाजेबजैले बीमा गर्दा त्यसको लाभ नातिनातिनासम्मले पाउँछन् ।

एउटै योजनामा सावधिक, पेन्सन प्लान र आजीवन रिटर्न हुन्छ । बीमा गरेपछि १५ बर्ष पर्खिनुपर्छ, मेरो पैसा थुप्रियो भन्ने कुरा पनि आउँछ । त्यसका लागि हामीले बार्षिक नगद फिर्ता जीवन बीमा योजना ल्याएका छौं । यो योजना विगत २ वर्षदेखि कार्यान्वयनमा छ र यस्तो बीमा योजना हामीसँग मात्रै छ । जसले एक वर्षपछिदेखि नै लाभ दिन थाल्छ । एक करोडको बीमा गरियो भने वर्षको चार लाख रुपैंयाँ फिर्र्ता हुन्छ र एक करोडको जोखिम वहन गरिरहन्छ । यस पोलिसीले गत वर्ष मात्रै ३८ प्रतिशत हिस्सा ओगटेको छ । हामीसँग १२ वटा बीमा पोलिसी छन् । अब तीन पुस्तालाई हुने योजनाले यसको भन्दा राम्रो बजार लिने आशा छ । नयाँ तीन वटा प्रडक्ट ल्याउने तयारी भैरहेको छ ।

भविष्यका योजना के के छन् ?

ठूलो व्यापार बढाउने र एक नम्बर हुने योजना छैन । मेरो पहिलो प्राथमिकता भनेको दीर्घकालसम्म कम्पनीलाई अघि बढाउने भन्ने हो । बिजनेश बढाउने, अण्डरराइटिङ, राम्रो सेवा, सुरक्षित लगानी र दीर्घकालिन प्रतिफलका लागि मेरो ध्यान छ । हामी जसको पनि बीमा गराउने, जेको पनि बीमा गराउने काम गर्दैनौ । बीमा गराएपछि राम्रो सेवा दिनुपर्छ भन्ने मान्यतामा विश्वास राख्छु । राम्रो सर्भिस र इन्नोभेटिभ प्रडक्ट तयार पारियो भने राम्रो हुन्छ भन्ने मान्यता हो । अहिले सबैले कम्पनीको प्रगति हेर्दा बिजनेश हेर्छन् । आगामी वर्षदेखि हाम्रो बिजनेश पनि राम्रोसँग ग्रोथ हुन्छ ।

हामीले गर्ने काम भनेको बिजनेश मात्रै पनि होइन, यो देश निर्माणसँग पनि जोडिएको छ । जनताको पसिनाबाट आर्जन गरिएको पैसाबाट उपयुक्त लाभ दिने पनि हाम्रो कर्तव्य हो ।

कम्पनीको पुँजी वृद्धि योजना के छ ?

दुई बराबर एक अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गत साधारणसभाबाट भईसकेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी करिब १०० करोड हुन्छ । त्यसपछि एक बराबर एक अनुपातमा फेरि हकप्रद सेयर जारी गरेर २०० करोड भन्दा बढी पुँजी बनाउने योजना छ ।

लगानीकर्ताले यस कम्पनीबाट कति प्रतिफल पाउने छन् ?

कम्पनीको बिजनेश ग्रोथ राम्रो छ । जीवन बीमा कम्पनीमा लगानी गर्नु भनेको राम्रो छ । हामीले लगानीकर्तालाई २० प्रतिशतभन्दा बढी लाभांश दिने लक्ष्य राखेका छौं ।

कम्पनीले बीमितलाई दिने बोनस दर कति छ र बोनस दर बढाउनेतर्फ कम्पनीले कति ध्यान दिएको छ ?

यसमा एउटा मात्रै पक्षले भूमिका खेल्दैन । यसमा न्यूनतम र अधिकतमलाई मिलाउनु पर्छ । बोनसलाई मात्रै हेरिनु पनि हुन्न । बैंकमा पैसा राखेपछि ब्याज आँउछ । बीमामा पैसा राख्दा पहिलो कुरा सुरक्षा, निक्षेप र रिटर्न आउँछ । तर त्यो राखेको पैसाको आउने होइन । त्यो त हामीले हस्तान्तरण गरेको जोखिमको रिटर्न हो । हामीले प्रति हजारमा यति रुपैयाँ भनेर बोनस दिन्छौं । बैंकले एक बर्षमा पाउने ब्याज यति हो भनेर दिन्छ तर बीमामा पहिले नै कसैले पनि यति दिन्छौं भन्न सक्दैनन् । बीमा कम्पनीले कमाईको ९० प्रतिशत ग्राहकलाई बाढ्ने हो र १० प्रतिशत लगानीकर्तालाई दिने हो ।

कति बोनस दिने भन्ने कुरा अघिल्लो वर्षको यसपाली मात्रै हुन्छ । एक्चुरी गराउनुपर्छ र नेपालमा त्यस्तो एक्चुरी गराउने मान्छे नै छैनन् । हामीले ४१ रुपैंयाँ देखि ७६ रुपैंयाँसम्म बोनस दिने गरेका छौं । बोनस दर भनेको अर्थतन्त्रमा पनि निर्भर गर्छ । बैंकहरुले दिने ब्याजदरमा पनि भर पर्छ । हामीले जुन प्रिमियम लिएका छौं, त्यसका हिसाबले हामी राम्रो रिटर्न दिन्छौं ।

चुनौती के के छन् कम्पनीका ?

प्राविधिक पाटोमा ठूलो चुनौती थियो, साउन १ गतेदेखि यो सकिँदैछ । दोश्रो चुनौती भनेको दक्ष जनशक्तिको अभाव हो । हामीले नयाँ जनशक्ति उत्पादन गरिरहेका हुन्छौं, तर जोगाएर राख्न मुस्किल छ । अर्काे चुनौती भनेको ९ वटाबाट १८ वटा कम्पनी पुगेका छन् । उही कर्मचारी, उही अभिकर्ता छन् तर कम्पनीको संख्या दोब्बर भएको छ ।
बीमा सम्बन्धी खासै जनचेतना बढेको छैन । आज १० प्रतिशत नेपालीको बीमा भएको छ तर यो न्युन उपलब्धि हो । बुझ्ने मान्छे कम छन्, बुझेकाहरुले पनि बीमा गराउँदैनन् । बीमा बुझाउने र आवश्यकता महशुस गराउने काम गर्नुपर्नेछ हामीले ।

 

अझै ठूलो चुनौती भनेको ठूलो व्यवसाय रहेको तराई क्षेत्रमा बीमा बजार बढाउन सकिएको छैन । त्यहाँ पारिपट्टीका कम्पनीहरुले खुल्लम खुल्ला लुटिरहेका छन् । हामीले विभिन्न ठाउँमा अभिकर्ता मार्फत जनजागरण ल्याउने प्रयास गरिरहेका छौं । विदेशी कम्पनीमा बीमा गराउँदा देशलाई पनि घाटा छ र तपाईले पनि लाभ नपाउने सम्भावना हुन्छ है भनिरहेका छौं ।

नयाँ कम्पनीले कति कर्मचारी खोसे ?

नयाँ कम्पनीले २० जना कर्मचारी खोसेका छन् । यो भनेको थोरै हो, एउटा कम्पनीबाट १२० जना खोसिएका रहेछन् ।

बीमा क्षेत्र नागरिकको प्राथमिकता सूचिमा किन पछाडि पर्यो ?

आम्दानीको न्यून सीमा भएर । पैसा हुनेले पनि बीमा प्रति शंका गरिरह्यो रिटर्न आउँछ भन्नेमा । हामीले जसरी बजारीकरण गरिरहेका छौं, त्यो शैली पनि राम्रो भएन । हामीले बीमा गराउनैपर्छ भनिरहेका छौं, त्यो भन्दा बुझाउन तिर लाग्नु चाँही ठिक हुने थियो ।

कम्पनी ११ औं वर्षमा प्रवेश गर्दैछ, के छन् योजना ?

हामी सामाजिक काममै केन्द्रित भएका छौं । जेठको १७ गते मात्रै होइन, त्यसपछिका दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गर्ने योजना बनाएका छौं । बीमा कम्पनी भनेको जनताकै कम्पनी हो । कम्पनीलाई अघि बढाउन के के गर्नुपर्छ ती सबै काम गर्छाै । ७० वटा शाखा छन् । तीमध्ये अधिकांश शाखामा केहि न केहि काम गर्छाै । १७ गते धेरै शाखाबाट रक्तदान कार्यक्रम गर्नेछौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.