क्रिकेट खेलाडी सन्दिप लामिछानेले भने– म ड्राइभर राखेर टाटा टिगोर गाडी चढ्छु (फोटो फिचरसहित)

  २०७५ जेठ १० गते ११:४७     विकासन्युज

काठमाडौं । नेपालको पछिल्लो चर्चित क्रिकेट खेलाडी सन्दिप लामिछानेले ड्राइभर राखेर टाटा टिगोर चढ्ने भएका छन् ।


उनलाई सोमबार सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंस्थित सोल्टी होटलमा एक समारोहकोबीच टाटा मोटर्सको नयाँ रेन्जको प्यासोन्जर भेहिकल टाटा टिगोरको नयाँ स्टाइलिस गाडीको साँचो हस्तान्त्रण गरिएको छ ।


कार्यक्रममा ‘सन्दिप जी तपाई अहिले १७ वर्षको हुनु हुन्छ । गाडी पाउनु भयो । गाडीको लाइसेन्छ लिन १८ वर्ष हुनुपर्छ । गाडी कसरी चढ्नुहुन्छ ?’ भन्दै एक पत्रकारले उनलाई प्रश्न गरेको जवाफमा यस्तो भने ‘गाडी ड्राइभर राखेर भएपनि चढ्न सकिन्छ नि । म त्यसै गर्छु । ड्राइभर राख्छु ।’ साथै कार्यक्रममा उनले आफ्नो अनुभव र अनुभुतिहरु समेत राखेका थिए ।


सिप्रदी ट्रेडिङ टाटा मोटर्स नेपालको एक मात्र आधिकारिक बिक्रेता कम्पनी हो । सो कम्पनीले नेपालको क्रिकेट खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यले खेलाडीहरुमा हौसला प्रदान गर्न सोमबार क्रिकेट खेलाडी लामिछानेलाई २४ लाख ९५ हजार रुपैयाँ बजार मूल्य रहेको टाटा मोटर्सको टिगोर प्रदान गरेको हो । साथै कम्पनीले उनीसँग आफ्नो प्रोडक्टहरु प्रबद्र्धन गर्नको लागि आगामी ३ वर्षसम्म कायम हुने गरी सहकार्य सम्झौता समेत गरेको छ ।


कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सन्दिप लामिछानेसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘उनले कलिलो उमेरमै आइपिएलसँग सम्झौता गरेका छन्,’ उनले भने ‘क्रिकेटको घर लर्डस्मा खेल्ने पहिलो खेलाडी भएकोले पनि यो गर्वको कुरा हो ।’


कार्यक्रममा नाडाका अध्यक्ष सम्भु दाहालले नेपाललाई विश्वमा चिनाउने खेलाडीहरुलाई सम्मान तथा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले विगतदेखि नै अटोमोबाइल क्षेत्रले क्रिकेट लगायतका खेलाडीहरुलाई सहयोग गर्दै आएको जानकारी गराए ।


त्यस्तै नेपाली राष्ट्र क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि नेपालमा क्रिकेट क्षेत्रमा विगत ३/४ वर्षदेखि चारैतिरबाट केही न केही सहयोग आइरहेको बताए । ‘दुई वर्षअघि पनि सिप्रदीले नेपाली क्रिकेट टिमका दुई जनालाई सहयोग गरेको छ,’ उनले भने ।


कार्यक्रममा नेपाली क्रिकेट खेलको अवस्था बारेमा समेत उनले चर्चा गरेको थिए । त्यसै सन्दर्भमा उनले भने, ‘अहिले बिना लगानी नेपाली क्रिकेट टिम यहाँसम्म आइपुगेको हो ।’ सरकार, निजी क्षेत्र लगायतबाट लगानी आए नेपालको क्रिकेट खेल झनै माथि पुग्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.