१अर्ब ४० करोड चिनियाँ लगानीमा जलविद्युत् आयोजना बन्दै, २ वर्षमा बिजुली बल्ने

  २०७५ जेठ ९ गते १८:१५     विकासन्युज

काठमाडौं । सिन्धुपाल्चोकको याम्बालिङ खोलामा निर्माण हुन लागेको जलविद्युत् केन्द्रमा चिनियाँ कम्पनी जोङदिङ इन्टरनेशनल इञ्जिनियरिङ कम्पनीले लगानी गर्ने भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुन लागेको ७ दशमलव २७ मेगावाट क्षमताको जलविद्युत् केन्द्र निर्माण हुन लागेको हो ।

याम्बालिङ हाइड्रोपावर प्रालिले बुधबार पत्रकार सम्मेलन गरी आगामी दुई वर्षभित्र याम्बालिङ जलविद्युत् आयोजना सम्पन्न हुने जानकारी दिएको छ ।

प्रालिका अध्यक्ष कमानसिंह लामाले एक अर्ब ४० करोड रुपैयाँको लगानीमा जलविद्युत् केन्द्र निर्माणका लागि सम्झौता भएको बताए । “शुरुमा ७ दशमलव २७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेपनि आगामी दिनमा ४० मेगावाट उत्पादन गर्ने गरी सम्झौता भएको छ,” उनले भने ।

चालीस मेगावाट जलविद्युत् उत्पादनका लागि ९ अर्ब ४० करोड रुपैयाँ लाग्ने अध्यक्ष लामाले बताए । उनले याम्बालिङ हाइड्रोपावर प्रालिले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्न स-साना आयोजना निर्माण गरेरै भए पनि सरकारलाई साथ दिने लक्ष्य लिएको बताए । “याम्बालिङ खोलामा सदाबहार बग्ने पानीलाई विद्युत्मा परिणत गर्ने उद्देश्यका साथ जलविद्युत् उत्पादन गर्न लागेका हौँ,” उनले भने ।

जलविद्युत् उत्पादन भएको विद्युत् गृहबाट ३३ केबी प्रसारण लाइनमार्फत छ किलोमिटर टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित सवस्टेशनमा लगेर जोड्ने योजना रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.