नक्कली प्रमाणपत्र देखाई जागिर खाने ३ जना विरुद्ध अदालतमा मुद्दा दायर

  २०७५ जेठ ९ गते १८:०५     विकासन्युज

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र देखाई जागिर खाने ३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । फरक संस्थामा काम गर्ने ३ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

विद्यालयमा जागिर खाने रञ्जन कुमार कठायत, परेवा कुमारी घर्ती र खानेपानीमा काम गर्ने भरना राई विरुद्ध मुद्दा परेको हो ।

कठायतले कमला आधारभूत विद्यालय हर्नामाडी दोभानचौर मकवानपुरमा कार्यरत रहेका थिए । कठायतले बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट मध्यमा एसएलसी पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा नियुक्ति लिएको खुल्न आएको हो ।

यसैगरी जनज्योति माध्यमिक विद्यालय, आरखोला ,पाछावाङ, रोल्पामा कार्यरत शिक्षिका घर्तीले भारतको उत्तर प्रदेशबाट हाईस्कूल पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा नियुक्ति भएको खुल्न आएको हो ।

यस्तै खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, सल्लेरी, सोलुखुम्बुमा महिला कार्यकर्ता रापअनं प्रथम पदमा कार्यरत झरना राईले पटनाबाट मध्यमा तह पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा नियुक्ति भएको खुल्न आएको हो ।

तिनै जना विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.