सेयर कर्जा ४.४ प्रतिशत बढ्यो, ९ महिनामा १ अर्ब ८० करोड लगानी

  २०७५ जेठ ९ गते १७:५६     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दिने सेयर कर्जा (मार्जिन नेचर लोन) लगानीमा ४.४ प्रतिशत वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाको सेयर कर्जा लगानी बढेर १ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा यस्तो कर्जा ४.२ प्रतिशत मात्र बढेको थियो । गत वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाको सेयर कर्जा लगानी १ अर्ब ५८ करोड ९० लाख रुपैयाँ थियो । हालसम्म सेयर कर्जा बढेर कुल ४२ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर कर्जा २६.९ प्रतिशत बढेको छ । यस्तै, २५ देखि ५० लाखसम्म ९ र २५ लाखभन्दा मुनिको सेयर कर्जा ४.५ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । १ करोड रुपैयाँ भन्दा माथिको सेयर कर्जा लगानी २ प्रतिशत घटेको छ ।

यो वर्ष पनि बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले सेयर कर्जा लगानी घटाउँदा यसको असर पुँजी बजारमा परेको छ । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ । वाणिज्य बैंकको प्राथमिक पुँजी, कर्जा लगानी र निक्षेप परिचालन अनुपात (सीसीडी रेसियो) ७८ प्रतिशत पुगेको छ ।

अधिकांश बैंक थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको छ । यता केन्द्रीय बैंकले सेयरमा हुने लगानीलाई अनुत्पादन क्षेत्रमा गणना गरेपछि बैंकले लगानी घटाउँदै लगेका छन् ।

लगानीयोग्य पुँजी नुहुनु सेयर बजार घट्नुको मुल कारण भएको लगानीकर्ताको भनाई छ । बैंकसंग लगानीयोग्य पुँजी नभएपछि ब्याजदर बढ्यो र सेयरबाट आउने प्रतिफल घट्दा थप लगानी आउन सकेन यसको असर सेयर कारोबारमा परेको हो ।

बजारमा हकप्रद, थप निष्कासन (एफपीओ) र साधारण सेयर (आईपीओ) को आपूर्ति बढेको अवस्थामा महंगो ब्याजदर र लगानीयोग्य पुँजी नभएपछि ठुला लगानीकर्ता बजारमा नआए लगानीकर्ताको भनाई छ ।
सेयर बजार निरन्तर घट्दै गएपछि नेपाल इन्भेष्टर्स फोरमले सेयरधितो कर्जा सीमा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउन माग गरेको हो ।

१८० दिनको र हालको कारोबार मूल्यमा जुन कम छ त्यही आधारमा बैंकले सेयर धितोराखी कर्जा दिन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । सेयर कर्जामा लगाइएको पुँजीगत जोखिम भार पनि शतप्रतिशत घटाइनु पर्ने माग फोरमले गरेको छ । फोरमले सेयर कारोबार अनलाईनमार्फत गराउन सरकारको ध्यानकर्षण गरेको छ । सेयर कर्जामा लगानी गर्ने सानाठुला गरी १५ लाख लगानीकर्ता रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.