जोशी हाइड्रोपावरको आईपीओ भोलीदेखि, १८०० कित्तासम्म आवेदन दिन पाइने

  २०७५ जेठ ७ गते १०:०१     विकासन्युज

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भोली मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।पहिलो चरणमा इलामको इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा, र माईपोखरीका स्थानियबासिन्दाले आईपीओका लागि आवेदन दिन पाउने छन् । न्युनतम ५० देखि अधिकतम १ हजार ८०० कित्तासम्म आवेदन दिन पाउने सिद्धार्थले जानकारी दिएको छ ।

आईपीओ निष्कासनका लागि इक्रा एनपी आईपीओ ग्रेड ५ प्रमाणपत्र प्राप्त गरेको छ । यो धेरै कम ग्रेड हो । कम्पनीले ३ मेगावाटको पुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।आयोजना बनाउन प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको छ । आयोजना बनाउन ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । जसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र ३९ प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको जारीपुँजी ३७ करोड १४ लाख रुपैयाँ छ । हाल कम्पनीको चुक्तापुँजी १८ करोड ९४ लाख रुपैयाँ छ । आईपीओ निष्कासनपछि जोशीको चुक्तापूँजी बढेर २२ करोड ६५ लाख १४ हजार रुपैयाँ पुग्ने छ ।

आयोजना प्रभावितलाई सकेपछि सर्वसाधारणलाई आईपीओ निष्कासन हुने कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट वार्षिक ९ करोड ८५ लाख युनिट बिजुली उत्पादन हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.