ठगी गर्ने ११९ ट्याक्सीलाई एकै दिन कारबाही, अब प्रिन्टर मिटर जडान गर्नुपर्ने

  २०७५ जेठ ७ गते ९:४८     विकासन्युज

काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ ।

लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो ।

यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि ८ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । “२ हजार ५०० ट्याक्सीले अहिलेसम्म प्रिन्टर मेशिन जडान गरेका छैनन्, ती ट्याक्सीमाथि छानबिन गरिरहेका छौँ,”– उनले भने।

विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग मिलेर आइतबारदेखि कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रिन्टर मेशिन जडान नगरेको, नवीकरण नभएको तथा मिटरमा हिँड्न नमान्ने ११९ ट्याक्सीलाई आइतबार कारबाही गरिएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले बताए ।

यसैगरी ट्राफिक महाशाखाले यात्रु ठग्ने ट्याक्सीलाई लक्षित गरेर कारबाहीको जनशक्तिसमेत बढाएको छ । पहिले १५/२० जनाको संख्यामा जनशक्ति खटाउने गरेकोमा अहिले ४० जना जनशक्ति खटाएको महाशाखाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.