लगानीकर्तालाई डबल डिजीटमा लाभांश दिने छौं- अनुपमा खुञ्जेली

  २०७५ जेठ ६ गते १५:५८     विकासन्युज

अनुपमा खुञ्जेली वाणिज्य बैंकमा पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएकी छिन् । नेपाली बैंकिङ क्षेत्रमा महिला पनि सीईओ हुन सक्छन् भनेर प्रमाणित गर्न उनी सफल भएकी छिन् । स्ट्याण्डर्ड चाटर्ड बैंक, नविल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत खुञ्जेलीले एक महिनाअघि मात्र सीईओको जिम्मेबार पाएकी हुन् । अवसर र चुनौती दुबै भएको बताउने उनले आगामी ५ वर्षमा बैंकलाई अझ सबल बनाउने प्रण गरेकी छिन् । बैंकको भावी योजनामा केन्द्रीत रहेर सीईओ खुञ्जेलीसंग विकास न्युजले गरेको कुराकानी :

अनुपमा खुञ्जेली, सीईओ, मेगा बैंक

महिला सीईओ बनाउन ब्रेक थ्रु मेगा बैंक र अनुपमा खुञ्जेली कसले गरेको हो ?

सर्बप्रथम मेगा बैंकले गर्यो । हामीभन्दा ठुलो संस्था हो । हाम्रोभन्दा यसको आयु लामो हुन्छ । त्यसकारण संस्थाले नै ब्रेक थ्रु गरेको हो । महिलालाई नेतृत्व दिन अहिलेसम्म कुनै पनि बैंक बोर्डले निर्णय गर्न सकेको थिएन । यसमा मेगा बैंकले मलाई अवसर दिएको छ ।

तपाई भाग्यमानी हो कि मिहेनती ?

मान्छेलाई बन्न भाग्य पनि चाहिन्छ । तर मिहेनत नगरी सफलता पाइन्दैन । मेरो लागि सफलताको शुत्र भनेको अवसरको साथै कडा परिश्रम हो । यहाँ भाग्यलाई पनि जोड्न सकिन्छ । पहिले अवसर र कडा मिहेनत नै हो । मौकामा मिहेनत गरेर देखाउन सक्नुपर्छ । मिहेनत निरन्तर हुनुपर्छ । नत्र सफलता हात लाग्दैन ।

बैंकमा सीईओ भएपछि यहाँले कस्तो अनुभव गर्नु भएको छ ?

म धेरै खुसी भएको छु । मलाई अब अवसर र चुनौती दुबै छ । त्यसमा पनि जिम्मेवारीलाई सफल र उदाहरणीय बनाउन मलाई चुनौती छ । म बैंकिङ क्षेत्रमा काम गरेको २७ वर्ष भयो । करिब ३ दशकदेखिको अनुभव लिएर अघि बढेको कारण शुरुवातदेखि यस टिमलाई मैले नजिकदेखि हेर्ने मौका पाएको छु ।

म मेगा बैंकको लाइसेन्स प्रक्रियादेखि नै जोडिएको हुँ । त्यसैले मलाई यो टिमप्रति विश्वास छ । भोलिको दिनको मेरो सफलता भनेको मेगा बैंकको टिमको देन हो । अहिलेको टिम राम्रो छ । टिमको क्षमतालाई हामीले बुझेर अघि बढाउन सकियो भने सफलता हात पर्छ ।

ठुलो संस्थामा सिस्टम ड्राइभ गर्न अथवा बसाल्नका लागि बलियो खम्बा आवश्यक हुन्छ । आजको दिनमा मेगा बैंकको खम्बा कसलाई मान्नुभएको छ ?

हाम्रो बैंकिङ क्षेत्रमा विभिन्न विभागहरु छन् । अहिलेको व्यवस्थापन सिद्धान्तले पनि आफ्नो डिपार्टमेन्टमा स्मुथ्ली रन गर्न सक्ने म्यानेजर्जहरु ल्याउनु पर्छ भन्छ । मेगा बैंकको बलियो खम्बा भनेको सिनियर म्यानेजमेन्ट नै हो । टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज भएको छ । त्यहाँबाट पनि दक्ष जनशक्ती आएका छन् । त्यसकारण पुरै म्यानेजमेन्ट टिमको दक्षतालाई नै बैंकको खम्बा मान्छु । विगतमा पनि त्यहि थियो, अहिले पनि छ ।

मेगा बैंकको खम्बा अनिलकेशरी शाह हुन् । बलियो मियोको रुपमा अनिलको भूमिका रह्यो र समकालिन बैंकहरुमा मेगा अगाडी नै रह्यो । यी तर्कहरुलाई कतिको मान्नुहुन्छ ?

यो तर्कलाई पुर्ण विश्वास गर्छु । जतिखेर मेगा बैंक पुर्ण रुपमा स्थापना भइसकेको थिएन । त्यसबेला हामीलाई बलियो व्यक्तित्वको जरुरी थियोे । ती सम्पूर्ण भूमिकाको निर्बाह अनिल शाहजीले गरिदिनुभयो । उहाँले एउटा दह्रो फाउन्डेशन दिनु भएको छ । भोलिको दिनमा हामीले यो बलियो फाउन्डेशनमा घर बनाउदै जाने हो । त्यसलाई सफल पार्ने जिम्मा हाम्रो हो ।

उहाँले जुन धरोहर छोडेर जानु भएको छ । त्यसलाई सही दिशा र गतिमा दौडाउने जिम्मेवारी पनि हाम्रै हो । उहाँले एक समय हलोदेखि हाइड्रोसम्म भनेर चलाएको अभियानबाट मेगा बैंकलाई नचिन्ने कमै होलान् । मेगा बैंकलाई उहाँले त्यो फाउन्डेशन दिनु भएको छ । अनिल शाहजीको जतिको हाइट मलाई प्राप्त हुन्छ भनेर अहिले भन्न सक्दिन । मेरो आगामी चार वर्षको कार्यकालको समीक्षा तपाईहरुले नै गर्नु हुनेछ ।

किनभने हाम्रो फाउण्डर सीईओ शाहाजी व्यक्तित्व र बैंकिङ क्षेत्रमा उचाई भएको जगजाहेर नै छ । हामी त्यो आधार पाएर अघि बढ्न लागेको बैंक हो । आगामी दिनमा यसलाई राम्रो गर्दै जानेछौं । नयाँ उचाइमा लैजाने कुरामा कुनै दुविधा नै छैन । अनिलजीले स्ट्रोङ फाउन्डेशन बनाइसकेको बैंकमा सफल नेतृत्व गरे/गरिन भन्ने कुरा आउँदो चार वर्षको कार्यकालमा यहाँहरुले नै समीक्षा गर्नुहुनेछ ।

आगामी चार वर्षमा मेगा बैंक कुन स्तरमा पुग्छ ?

हाम्रो बैंक अहिले ८ वर्ष पुगेको छ । समकालिन बैंकहरुले मर्ज गरिसकेका छन् । शुरुमा हामीले सानो मर्ज गरेका थियौं । अहिले टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज गरेका छौँ । अब शाखा नेटवर्किङ, ब्यालेन्स साइज अझ बढ्छ । अझ द्रुत गतिमा अगाडी बढ्छौं । आगामी दिनमा बलियो, सवल, समृद्ध हुँदै मेगा बैंक यहाँहरुको विश्वास जित्दै अघि बढ्नेछ । बैंकिङ व्यवसाय भनेको विश्वासको खेती हो । यसमा आफ्नो सबै स्टेकहोल्डर्सको विश्वास जित्नु पर्छ ।

मुख्य गरी प्रमोटर पब्लिक सेयर होल्डरहरुलाई प्रतिफल राम्रो दिनुपर्यो । कस्टमरहरुलाई सुविधा राम्रो दिनुपर्याे । कर्मचारीहरुलाई बेस्ट इम्प्लोइको आभाश दिनुसक्नु पर्याे । सोसाइटी एट लार्जबाटै हामीले नाफा कमाएका छौं । समाजलाई पनि सामाजिक उत्तरदायित्वको आधारमा केही दिन सक्नुपर्छ । अहिले स्थिर सरकार आएको छ । देशमा नयाँ राजनीतिको शुरुवात भएको छ । हाम्रो ५ वर्षको रणनीतिक योजना (स्ट्राटेजी प्लान) तयार भइसकेको छ । बोर्डले दिएको ५ वर्षको भिजनलाई अगाडी बढाउँदै लैजाने हो ।

५ वर्षको रणनीतिक योजनाको गोल के हो ?

म नाफाको कुरा मात्र गर्दिन । तैपनि अहिले हामी समकालिन बैंकहरुसँगको प्रतिस्पर्धामा सबैभन्दा अगाडी उभ्याउन चाहन्छौं । आगामी चार वर्षमा हाम्रो जस्ता बीचको बैंकहरुसँग प्रतिस्पर्धामा ती बैंकहरुको ‘क्याटोगोरी’मा एक नम्बरमा आउने प्रयास गर्नेछौं । हामीसँग भएको स्ट्राटेजीज प्लान अनुसार प्रत्येक वर्ष बैंकको ग्रोथ बढिरहेको छ । मार्केटमा धेरै उत्तारचढाव आउँछ । उत्तरचढावलाई हाम्रो स्ट्राटेजीज प्लानमा इनकर्पोरेट गरेर अगाडी लाने छौं ।
जनता, सिभिल, सेन्चुरी मेगासंगै आएका बैंक हुन् । यीमध्येमा हामी अगाडी छौं । सबै बैंकले आफुलाई अगाडी बढाउन लागि रहेका हुन्छन् । अब त्यस्ता बैंकहरुलाई उछिनेर अघि जानु छ ।

टुरिजमसंगको मर्जरसँगसँगै हाम्रो भोल्युम आधा खर्ब भएको छ । हामी चार वर्षको अन्तरालमा निक्षेप परिचालन १ खर्ब रुपैयाँ पुर्याउने छौँ । हामी १० अर्ब रुपैयाँ भन्दा बढीको क्यापिटलमा जान्छौं । त्यसपछि १ खर्ब भन्दाबढीको भोल्युम जेनेरेट गर्न सक्छौँ । यो हाम्रो लक्ष्य हो । त्यतिगर्दा सेयर होल्डरलाई डबल डीजीटमा रिटर्न दिने छौँ। हाम्रो शाखा १०२ वटा बन्छ । बैंक भनेको प्रोफिट ओरिन्टेड अर्गनाइजेशन पनि हो । शाखालाई विस्तारसँगै प्रोफिट पनि जेनेरेट गर्ने छौं ।

मेगाको नेतृत्व र नीतिमा अस्थिरता छ भन्ने आशंकाहरु आइरहेका छन् । यसलाई तपाईले कसरी हेर्नुभएको छ ?

पोलेसी लेखनमा म पहिलो दिनदेखि नै संलग्न हुनुका साथै सचेत पनि छु । सिस्टमको कुरा गर्ने हो भने हामीसँग स्ट्रोङ अप्रेशन छ । हामीसँग बलियो रिक्स युनिट छ । सरकारी इसुमा पनि वीथ कम अ लङ वे । राष्ट्र बैंकको अडिटरीमा पनि वीथ कम अ लङ वे । पहिलेभन्दा प्रगति भइरहेको छ । अडिटहरुमा पनि रिक्सको पोलिसी लगाएर अघि बढिरहेको अवस्था हो । अर्गनाइजेशनमा व्यक्तिले फरक पार्न हुँदैन भन्ने सोचबाट म अघि बढेको छु । यो अर्गनाइजेशन सिष्टम पोलीसी र प्रोसिडूयरले ड्रिभेन हुनुपर्छ । कुनै एउटा व्यक्ति परिवर्तन भएर अर्गनाइजेशन ह्याम्पर हुने, अर्गनाइजेशनमा ह्रास आउने किसिमको काम हुनुहुँदैन । त्यसैले म सिस्टमलाई विश्वास गर्छु । लिडरशिप रोलमा हामीले गर्नुपर्ने हाम्रो मुख्य दायित्व सिस्टम बलियो बनाउनु हो । सिस्टम अहिले पनि सवल छ । त्यसमा हाम्रो मिहेनत छ । त्यसको लागि हामी डे वानदेखि नै लागिपरेका छौं ।

मेगा बैंकका स्टेक होल्डरबाट, मुख्यगरी इन्भेस्टरहरुको तर्फबाट तीब्र आक्रोस आएको सुन्छौं । बैंकको परफरमेन्समा सन्तुष्टि छैन । बैंकले राम्रो गरेन भनेर सेयर बेच्न पाएको छैनन् । यहाँ के भन्नु हुन्छ ?

म उहाँहरुको आक्रोशलाई बुझ्छु । किनभने हाम्रो शेयर ट्रेडिङ रोकेको वर्ष दिनभन्दा बढी भइसक्यो । त्यसैले पनि मेरो सबैभन्दा पहिलो दायित्व मर्जर गराउनु थियो । यो पुरा भएको छ । अब केही दिनमा सेयर कारोबार खुल्ने छ । त्यसमार्फत हाम्रो सेयरधनीको ठुलो आक्रोसलाई मत्थर गर्दै जान्छौं । कतिपय राम्रो बैंकहरुको पनि ५ सय पुगेको सेयर मूल्य घटेर ३ सय, साढे ३ सयमा कारोबार भइरहेको छ । त्यसैले पनि सेयर होल्डरहरु आत्तिएको हुन सक्छन् । तर मेगा बैंकले ८ वर्षमा दिएको रिटर्नलाई राम्रो मान्नु पर्दछ ।

कारोबार खुलेपछि मेगाको सेयर कति रुपैयाँमा किनबेच होला ?

अहिलेको हिसाबले जाँदैन होला । किनभने सबैको सेयर मूल्य झरेको छ । देशको सेयर इन्डेक्स नै तल झरेको छ । यस्तो अवस्थामा मेगा बैंकको सेयर बढ्ने कुरा आउँदैन । आगामी दिनमा सेयर मार्केट पनि राम्रो हुँदै जाला र असारको रिजल्ट हेरेपछि विश्वास जगाउने अवस्था रहन्छ जस्तो लाग्छ । चैत मसान्तमा लोलेबल क्राइसीस र केही प्रोभिजिङले यो क्वाटरलाई मैले त्यस्तो राम्रो मानेको छैन । तर असारसम्ममा यो सबै कुरालाई पछाडि राख्दै अगाडी बढ्छौं । बैंकको जस अबजस मैले लिनुपर्छ । आगामी दिनमा पनि लिन्छु । यो परीक्षामा म खरो रुपमा उत्रिने छु ।
पछिल्लो अनटाइम मर्जर नहुनुमा हामी नै जिम्मेवार हौं । यसको डिलको जिम्मा पनि मैले लिनु पर्दछ । मर्जर दुई जनाबीचको विवाह जस्तो हो । जसमा फरक प्रकृतिमा आएका अर्गनाइजेशनको मान्छे मिलेर यसलाई मूर्त रुप दिने अवस्था हो । मर्जर टाइममै सक्न पाएको भए हाम्रो अर्गनाइजेशनलाई नै राम्रो हुन्थ्यो । मर्जरको दुखको दिन सबै पार गरेर हामी निस्कियौं ।

लगानीयोग्य पुँजीको अभाव भएपछि राष्ट्र बैंकले बाहिरबाट पैसा ल्याउन बाटो खुलाएको छ । मेगा बैंकले के गर्दै छ ?

बाहिरबाट पैसा ल्याउन हामीले पनि तयारी थालेका छौ । परिवत्र्य विदेशी मुद्रामा ऋण लिएर हामीले दिने त नेपाली रुपयाँमा नै हो । त्यसको हेजीङ कस्ट पनि लाग्छ । अहिलेसम्म नेपालमा करिब ५ वर्षसम्म हेर्दा हेज गर्ने ठाँउ र संस्था पनि कमी छन् । हामीले त्यसलाई पनि विकास गर्नुपर्छ । हामी हेजमा जानुपर्छ । विदेशी मुद्रा विनिमय लिएर हिड्न सकिन्दैन । त्यसैले गर्दा हामीले पनि प्रयास गरिरहेका छौं । हेजीङ गर्ने कम्पनीहरुसँग पनि कुरा गरिरहेका छौं । बाहिरबाट परिवर्त्य विदेशी मुद्रामा ऋण लिन बाटा खुलेका छन् । यो धेरै राम्रो हो ।

मान्छेलाई मोटिभेशन हुनुको लागि धेरै फ्याक्टर मध्ये पैसा पनि हो । एक कमर्शल बैंकको सीईओ भइसकेपछि कति पैसा कमाइ हुन्छ ?

सबै जना कमर्शियल बैंकको सीईओ हुन चाहन्छन् । राष्ट्र बैंकको मापण्डअनुसार अघि बढ्छौंं । त्यसलाई मिचेर हामी अगाडी बढ्दैनौं । बैंकका रेगुलेशन भित्रै बसेर निर्णय गरेका छौं । खाइपाई आएको घटाउन हुँदैन भन्ने वातावरणमा चल्यो । अब नयाँ सीईओ निर्धारण गर्दा तलब घट्छ । तलब निकै घट्नेछ । राष्ट्र बैंकको नियमअनुसार कति हुनुपर्छ मेगा बैंकको सीईओको तलब त्यसमै आधारित गरेर अबको तलब निर्धारण हुनेछ ।

एउटा बैंकको उच्चस्तरिय जिम्मेवारी लिँदै गर्दा महिलाप्रतिको तपाईको धारणा के छ ?

हामी महिला पुरुषभन्दा कम छैनौं । देशमा महिलाले अवसर नपाएको हैन । अब महिलाको विकासमा महिलाकै हातमा छ । आफुले मिहेनत गर्नु सक्नुपर्यो । लगनशीलताकासाथ भिजन, मिशन र गोललाई पुरा गर्न सक्नु पर्छ ।
अहिले पनि हाम्रो समाजमा केही त फरक छ । जसरी घरबाट हामीले काम गर्न पठाउँदा छोरालाई सयम दिइरहेका हुन्छौं । त्यही अनुसार बुहारीलाई बिहानदेखि बेलुकासम्म घरको काम हेर्नु पर्दैन ? भनेर सोध्ने बच्चाको जिम्मेवारी वहनमा प्रश्न आउने गरिएको छ ।

त्यो वातावरण हुँदाहुँदै पनि अहिले अधिकांश परिवारले श्रीमान् र श्रीमती दुबैले काम गर्नुपर्छ । दुबै जना आफ्नो खुट्टामा उभिनु पर्छ । अर्थिक दृष्टिकोणले पनि परिवारलाई सहयोग हुन्छ भन्ने कुरा बुझ्दै आएको छ ।
अबको दिनमा महिला भएर म पछि परे भन्नुको सट्टा इक्वेल फिटीङमा आएर काम गरेर अगाडी बढ्नुपर्छ जस्तो लाग्छ ।

मेगा बैंकमा इक्वेल फिटीङ ट्रिटमेन्ट अहिले छ ?

मेगा बैंक ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषबाट शुरु गरिएको हो । अहिले अलिकति आँकडाहरु फरक भए होला । सिनियर म्यानेजमेन्टमा हेरे पनि रविना जी, प्रज्ञा पान्डे जी हुनुहुन्छ । त्यस्तै सिनियर म्यानेजमेन्टमा हेर्ने हो भने डेनी जी हुनुहुन्छ । जेनु जीले डीपोजिट हेरिरहनु भएको छ । आउँदा दिनहरुमा धेरै महिला आउँदैछन् । हाम्रोमा मात्रै होइन ग्लोवल र सनराइजमा पनि त्यस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.