बहुराष्ट्रिय होङसी शिवम् उद्योगले थाल्यो सिमेन्ट उत्पादन, घट्ला त सिमेन्टको भाउ ?

  २०७५ जेठ ६ गते ८:५३     विकासन्युज

काठमाडौं । बहुराष्ट्रिय उद्योग होङ्सी शिवमले सिमेन्ट उत्पादन थालेको छ । उद्योगले क्लिङकर बाहिरबाट आयात गरेर सिमेन्टको परीक्षण उत्पादन थालेको हो । जेठदेखि उत्पादन गर्ने लक्ष्य अनुसार बाहिरबाट क्लिंकर आयात गरेर उत्पादन थालिएको उद्योगका जनसम्पर्क अधिकृत भोला पाठकले जानकारी दिए ।

उनले यो साताभित्र आफनै खानीको क्लिंकरबाट सिमेन्ट उत्पादन थाल्ने जानकारी दिए । बजारमा सिमेन्ट आपूर्ति बढेपछि मूल्य पनि कम हुने अनुमान गरिएको छ । पहिलो चरणमा दैनिक ६ हजार टन र दोस्रो चरणमा दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उनले सुनाए । तत्काल दैनिक ३ हजार टन उत्पादन हुने छ ।

नेपाल र चिनियाँ संयुक्त लगानीको होङ्सी शिवमले सिमेन्ट उत्पादन थाल्ने भएपछि बजारमा ६ हजार टन सिमेन्ट आपूर्ति बढ्ने भएको हो । गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गरेको छ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ ।

चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ ।
सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । चिनियाँ गुणस्तर पीओ ४२.५ र पीओ ५२.५ ग्रेडको “लो अल्काली” ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दैछ । उद्योगले दैनिक ६ हजार र वार्षिक २६ लाख टन उत्पादन गर्ने जानकारी दिएको छ ।

१३ करोड टन उच्चगुणस्तरको आफनो चुनढुङा खानी छ । उद्योगले ६ सेट हवल स्वचालित प्याकेजिङ मेशिन र १२ सेट बोरा सिमेन्ट लोडिङ मेशिन जडान गरिएको छ । जसको प्याकेजिङ र ढुवानी क्षमता १० हजार टन भएको उद्योगले जनाएको छ । अहिलेसम्म नेपालमा सबैभन्दा बढी अर्घाखाँची सिमेन्टले ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

“केही दिनमै बजारमा सिमेन्ट आउँछ”, होङ्सी शिवम सिमेन्टका सञ्चालक सतिश मोरले बताए । उद्योगका अनुसार ठूलो क्षमताको सिमेन्ट उत्पादन शुरु भएकाले अब राम्रो र बलियो बजार बन्ने छ । उद्योगमा करीब १ हजार कामदार कार्यरत छन् ।

कारखाना पूर्णरुपमा सञ्चालनमा आएपछि दैनिक एक हजार नेपाली र ४०० भन्दा बढी चिनियाँ कामदारले समेत रोजगारी पाउने कम्पनीले जनाएको छ । कारखानाले सिमेन्ट उत्पादनमा प्रयोग हुने ऊर्जा नै प्रयोग गरेर थप १२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ ।

कारखाना पूर्ण क्षमतामा सञ्चालनका लागि हामीलाई ८० मेगावाट विद्युत् आवश्यक हुन्छ, तत्काल ५० मेगावाट जरुरत छ, तर प्रसारणलाइनको अभावमा आफँै विद्युत् उत्पादन गर्नुपर्ने भएको छ ।
चिनियाँ लगानीमा थप ३ हजार टन सिमेन्ट उत्पादन हुने भएको छ । चीनको हुवासिन सिमेन्टले १५ अर्ब रुपैयाँ लगानी ल्याउदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.