मर्चेन्ट बैंकरको दबावमा एफपीओको मूल्य घटाउँदै नेपाल बैंक, ३१० कि २८० ?

  २०७५ जेठ ४ गते १५:३५     विकासन्युज

काठमाडौं । मर्चेन्ट बैंकरहरुको दबावमा नेपाल बैंकले थप निष्कासन (एफपीओ)को मूल्य आफँैले घटाउन लागेको छ । मर्चेन्ट बैंकरहरु मिलेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीको प्रत्याभूति (अण्डरराइटिङ) दवाव दिएपछि नेपाल बैंकले बिहीबार पुनः दोस्रो पत्र पठाइ उनीहरुसंग नयाँ दररेट मागेको हो ।

यसअघि गत बैंशाख २१ मा प्रस्ताव आव्हान गर्दा सीबीआईएल क्यापिटल लिमिटेडले कमिशन र शुल्क कटाएर २९७ मा अण्डराइटिङ गर्न प्रस्ताव गरेको थियो । शुल्क, कमिशन हटाउँदा एफपीओको मूल्य प्रतिकित्ता ३१० रुपैयाँ हुन्छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडको अगुवाइमा मर्चेन्ट बैंकरले प्रतिकित्ता २८० रुपैयाँ भन्दा बढीमा अण्डरराइटिङ नगर्ने अडान लिएपछि घटाउनका लागि दोस्रो पटक प्रस्ताव मागेको बैंक स्रोतले बतायो ।
सिद्धार्थको अगुवाइमा अहिले एउटै प्रस्ताव बनाएर बैंकमा पेश गर्ने तयारी भएको स्रोतले जानकारी दियो ।

प्रतिकित्ता ३१० रुपैयाँसम्ममा किन्ने प्रस्ताव गरेको सीबीआईएलले एफपीओको मूल्य घटाउन कार्टेलिङमा भाग लिन नमानेको स्रोतको भनाई छ । धितोपत्र बोर्डले निर्धारण गरेकोे बैंकको पुँजीकृत भएको आम्दानी, प्रति सेयर खुद सम्पत्तिको बजार मूल्य, १८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य समेतलाई आधार मान्दा बैंकको एफपीओको मूल्य प्रतिकित्ता ३१० हुने स्रोतले बतायो ।

बैंकले प्रस्ताव गर्दा सोही दरमा १०० प्रतिशत अण्डरराइटिङ गर्न भनेपछि बैंकले मर्चेन्ट बैंकसंग प्रस्ताव मागेको थियो । बोर्डले नै सोही दरमा १०० प्रतिशत अण्डरराइटिङ गर्न भनेपछि उसले स्वीकार गरेको स्रोतको भनाई छ । यद्यपी औपचारिक रुपमा स्वीकृति भने दिन बाँकी छ । साधारण सेयर (आईपीओ) को ५० प्रतिशत मात्र अण्डरराइटिङ गरे पुग्छ । तर एफपीओको भने सीमा तोकिएको छैन् ।

सीबीआईएलले ४ प्रतिशत कमिशन शुल्क घटाउँदा प्रतिकित्ता २९७ रुपैयाँमा एफपीओ अण्डरराइटिङ गर्ने भनेको छ । सीबीआईएलको भन्दा कम मूल्यमा एफपीओको प्रत्याभूति गर्न नपाइने बैंक स्रोतको भनाई छ । बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ ।

गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ ।

एफपीओ निष्कासनपछि बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.