देशभर बन्दैछन् ४० नयाँ विमानस्थल, २ अर्ब ९४ करोड सक्न काम धमाधम

  २०७५ जेठ ४ गते १४:४९     खेमराज श्रेष्ठ

काठमाडौं । आर्थिक वर्ष सकिन लाग्दा देशभरका निर्माणाधिन विमानस्थलको काम धमाधम भैरहेका छन् । ४० विमानस्थलमा ९६ थरी विभिन्न काम भैरहेका हुन् ।

देशभरको विमानस्थलमा फरक प्रकृतिको काम भैरहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र प्रसाद श्रेष्ठले बताए । निर्माण भैरहेका ४० विमानस्थलमा ९६ प्रकृतिका कामहरु भैरहेका छन्, केहि आन्तरिक विमानस्थलहरु निर्माण सम्पन्न हुन लागेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अहिले देशभर २ अन्तराष्ट्रिय विमानस्थल, १ क्षेत्रिय विमानस्थल र ३७ आन्तरिक उडान गर्ने विमानस्थलमा काम भैरहेका छन् । गुल्मीको रेसुङगा, अछामको साँफे बगर, राजविराज र इलामको सुकिलम्बा यहि जेठमा परिक्षण उडान हुने तयारीमा रहेका छन् ।

यसैगरी अर्घाखाँची विमानस्थल, गुल्मी, इलाम सुकिलम्बा, कालीकोट, कमल बजार, खिजी चण्डेश्वरी र लम्पुङ विमानस्थलको काम तिब्र गतिमा भैरहेका छन् ।

यस्तै बाजुरा, भरतपुर, भोजपुर, विराटनगर, चन्द्रगढी, दाङ, डोल्पा, धनगढी, गौतम बुद्ध, जनकपुर, जोमसोम, जुम्ला, खानीदण्ड, मनाङ, नेपालगञ्ज, फाप्लु, पोखरा, रामेछाप, रुकुम चौरजाहारी, रुकुम साल्ली, रुम्जाटार, रारा, सिमरा, सिसमकोट, सुर्खेत, तालेजुङ, तेङजिङ हिलारी, त्रिभुवन विमानस्थल, र तुम्लिङटार विमानस्थलको काम भैरहेका हुन् ।

गत आर्थिक वर्षमा ३९ विमानस्थलका लागि २ अर्ब ९४ करोड बजेट बिनियोजन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । आगामी आर्थिक वर्षमा यो भन्दा धेरै बजेट आवश्यक पर्ने श्रेष्ठले बताए । अहिले प्राधिकरणले देशभरको विमानस्थलको आगामी वर्ष अवश्यक पर्ने बजेटको तथ्याङक संकलन गरिरहेको छ ।

काभ्रेको नागीडाडा विमानस्थलको पनि काम शरु

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने विकल्पको रुपमा काभ्रेको नागीडाडामा विमानस्थल निर्माणको प्रक्रिया शुरु भएको छ । नागिडाडामा विमानस्थल निर्माणको लागि वातावरणिय प्रभाव मुल्याङकनको काम शुरु हुन लागेको प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले जानकारी दिए ।

नागीडाडा विमानस्थलको लागि सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले अनुमान गरेका छन् । काम अवरोध नभए ५ वर्षभित्रै विमानस्थल निर्माण सम्पन्न हुने प्रवक्ता श्रेष्ठले बताए । यो विमानस्थल निर्माण सम्पन्न गन १० अर्ब भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

गौतम बुद्ध विमानस्थल २०१९ भित्र सम्पन्न हुने

दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा हेरिएको गौतम बुद्ध विमानस्थलको काम सन् २०१९ सम्ममा सम्पन्न हुनेछ । अहिले विमानस्थलमा भवन निर्माण लगायतका कामहरु भैरहेका छन् । देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चिनिन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत काम सकिएको छ ।

विमानस्थलको आगामी असार सम्ममा पीच भैसक्ने विमानस्थल आयोजनाका प्रमुख ओमनारायण शर्माले बताए । ‘विमानस्थलको अहिले उच्च गतिमा काम भैरहेको छ । निर्माणाधिन भवनमा अहिले छाना राख्न लागिएको छ ।

धावनमार्गको ५ चरणको काम मध्ये अर्दन पेमेन्ट, मिक्स ग्राभेल, रिभर बेस म्याटिरीयलको काम सकिसकेको छ भने अहिले एलिग्रेड बेस लेयरको काम भैरहेको छ । तीन किलोमिटर लामो धावनमार्गमा एलिग्रेड बेसको काम सकिन २ महिना लाग्नेछ ।

त्यसपछि अन्तिम चरणको बिटामिन लेयरको काम शुरु हुनेछ । बिटामिन लेयरको काम सकिन करिब ४ महिना लाग्नेछ । विमानस्थलको धावनमार्ग पिच भैसकेपछि सन् २०१९ को अन्त्यसम्ममा सबै काम सकिने आयोजना प्रमुख शर्माले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.