प्रमोटर सेयर बिक्री नभएका तीन वाणिज्य बैंकप्रति राष्ट्र बैंक कठोर बन्दै, पुँजी नपुर्याउने पाँच बैंक निगरानीमा

  २०७५ जेठ २ गते २०:४७     विकासन्युज

काठमाडौं । सेयर पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ नपुर्याउने पाँच वटा वाणिज्य बैंकलाई के गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा गम्भिर बहस शुरु भएको छ । बैंक अफ काठमाडौं, सिभिल, कुमारी, एनसीसी र एनएमबी बैंकको ८ अर्ब पुँजी पुगेको छैन । पुँजी नपुगेकै कारण उनीहरुलाई राष्ट्र बैंकले वार्षिक साधारणसभा गर्न अनुमति पनि दिएको छैन ।

त्यस्तै संस्थापक सेयर बिक्रीमा समस्या भोगिरहेका सिभिल, कुमारी र एनसीसी बैंकप्रति राष्ट्र बैंकले कठोर निर्णय लिने तयारी गरेको उच्च स्रोतले बतायो ।

सिभिल बैंकले हकप्रद सेयर निष्काशन गर्दा करिब ३३ लाख कित्ता प्रमोटर सेयर बिक्री भएको थिएन । लिलामी गर्दा पनि ३१ लाख कित्ता सेयरको लागि आवेदन नपरेपछि दोस्रो पटक लिलामीमा राखिएकोछ ।

त्यस्तै कुमारी बैंकको हकप्रद सेयर निष्काशन खुला छ । तर आधारभूत सेयरधनीबाटै हकप्रद सेयरको लागि प्रयाप्त पैसा नराखेपछि राष्ट्र बैंकले कुमारी बैंकलाई पनि गम्भिर रुपमा लिएको छ । एनसीसीसँग मर्ज प्रक्रियाबाट वाहिरीएको कुमारी बैंकप्रति राष्ट्र बैंकको असन्तुष्टी बढ्दो छ ।

त्यस्तै, आधारभूत सेयरधनीले नै हकप्रद सेयरमा लगानी नगरी विवादस्पद विषयलाई लिएर उजुरबाजुरमा फसेको एनसीसी बैंकले हकप्रद सेयर निष्काशन समेत गर्न सकेको छैन । आधारभूत सेयरधनीले लगानी नगरेको भन्दै धितोपत्र बोर्डले एनसीसी बैंकको हकप्रद निष्काशन सम्बन्धि विवरण पत्र स्वीकृत गर्न मानेको छैन ।

बैंक अफ काठमाण्डूले प्रमोटर सेयर निष्काशन गर्दा जम्मा भएको प्रिमियमलाई पुँजीमा गणना गर्न गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकार गरेको छैन । ‘अन्तराष्ट्रिय लेखा प्रणाली र सिद्धान्तअनुसार प्रिमियम रकम संचित कोषमा जम्मा हुन्छ, सेयर पुँजीमा राख्न मिल्दैन’ राष्ट्र बैंकका एक सञ्चालकले भने । बैंक अफ काठमाण्डूसँग यस्तो रकम करिव ९३ करोड रुपैयाँ छ ।

त्यस्तै, एनएमबी बैंकले प्रस्ताव गरेको ८८ करोडको एफपीओ निष्काशन नभएकोमा पनि राष्ट्र बैंक असन्तुट भएको छ । उक्त एफपीओ निष्काशन हुने हो भने बैंकको पुँजी ८ अर्बभन्दा बढी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.