स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग

  २०७५ जेठ २ गते १६:०५     विकासन्युज

काठमाडौं । निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीका लागि ल्याइएको स्वेच्छिक अवकास प्रक्रिया अघि बढाउन माग गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले रोकेको अवकाश प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् ।

अघिल्लो सरकारले ल्याएको स्वेच्छिक अवकाश व्यवस्था वर्तमान सरकारले खर्चिलो र अनुभवी कर्मचारी अवकाश लिने भन्दै रोकेको छ ।

अध्यक्ष ढकालले अवकासका लागि राजीनामा दिएर बसेका कर्मचारीलाई पुनः काममा पठाउन समस्या हुने भएकाले अवकाशको प्रक्रिया थाल्नुपर्ने बताए । ‘‘एउटा सरकारले ल्याएको अवकाशलाई अहिले अर्को सरकारले रोकेको छ,’’ उनले भने, ‘‘एउटाले बनाएको कानून अर्कोले परिवर्तन गर्न पाइँदैन, अवकाशका लागि निवेदन दिएका कर्मचारीलाई प्रक्रिया पुर्याई अवकाश गर्नुपर्दछ ।’’

चार सचिवसहित करीब नौ हजार ६७१ जना कर्मचारीले अवकाशका लागि निवेदन दिएका छन् । यस्तै अध्यक्ष ढकालले समायोजन गर्दा कर्मचारीको भावनाअनुरुप गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

कार्यक्रममा युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले राजीनामा दिएका कर्मचारीलाई अवकाश दिएर नयाँ कर्मचारी राख्नुपर्ने बताए । उनले राजीनामा दिएका कर्मचारीको काम गर्ने इच्छा नहुने भएकाले अवकाश दिनुपर्ने बताएका छन् ।

यस्तै, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष केदारप्रसाद देवकोटाले सरकारले कर्मचारी खटाउन नसक्दा जनताको काम प्रभावित भइरहेको भन्दै विधि प्रक्रियाले कर्मचारी खटाएमा जाने बताए ।

नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपाल पोखरेलले समायोजन ऐनअनुसार नै स्थायी रुपमा कर्मचारीलाई खटाउनुपर्ने बताएका छन् ।

यस्तै, आधिकारिक ट्रेड युनियनले तलब भत्ताको पुनरावलोकन हुनुपर्नेसमेत माग राखेका छन् । अहिलेको बढ्दो महँगीका कारणले तलबले जीवन धान्नमा समस्या परेकाले तलब बढाउनुपर्ने माग आधिकारिक ट्रेड युनियनको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.