अन्तर बैंक चेक कारोबार बढ्यो, दैनिक ४० हजार चेकबाट २६ अर्ब भन्दा बढीको कारोबार

  २०७५ जेठ २ गते १५:०७     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ हाउसले दैनिक ४० हजार अन्तर बैंक चेक क्लियरिङ गर्दै आएको छ । सन् २०११ देखि सेवा सञ्चालन गर्दै आएको हाउसले ७४ वटा बैंक तथा वित्तीय संस्थाको ४० हजार भन्दा बढी चेक क्लियरिङ गर्दै आएको हो ।

हाउससँग अाबद्ध बैंक तथा वित्तीय संस्थाको ४० हजार वटा चेक बाट दैनिक २६ देखि २७ अर्बको कारोबार हुँदै आएको हाउसका व्यापार विकास अधिकृत विवेक गिरीले बताए ।

‘अहिले अन्तर बैंकिङ कारोबार बढ्दै गएको छ, गत वर्षमा ३५ हजार को हाराहारीमा चेक क्लियरिङ भैरहेकोमा यो वर्ष ५ हजार बढी चेक क्लियरिङ भैरहेको छ,’ अधिकृत गिरीले विकासन्युजसँग भने ।

हाउसले एउटा सामान्य चेक २४ घण्टाभित्र क्लियरिङ गर्ने गरेको छ । साधारण चेकलाई दिनको २ बजे भन्दा अघि नै क्लियरिङमा पठाउनु पर्नेछ । एक्सप्रेस चेकलाई ३ भागमा विभाजन गरिएको छ । पहिलो एक्सप्रेस चेकलाई १० देखि ११ बजेसम्म हाउसमा पठाउनुपर्ने हुन्छ त्यस्तै दोस्रो र तेस्रो एक्सप्रेस चेकलाई दिनको १२ बजेसम्म बुझाउनु पर्नेछ ।

हाई भ्यालु चेकको लागि दिनको १० देखि साढे ११ बजेसम्म बुझाउनु पर्नेछ । चेक अनुसार सेवा शुल्क फरक लाग्ने अधिकृत गिरीले बताए ।

गिरीका अनुसार हाउसले अब चेक मात्र नभएर राजस्व, फिल्म टिकट, हवाई टिकट र अन्य सेवा सुविधाको खरिद बिक्री समेत हाउसबाटै ई पेमेन्ट गर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.