अमेरिकी डलर महंगिएर ११० रुपैयाँ नजिक, किन कमजाेर हुदैछ, नेपाली मुद्रा ?

२०७५ जेठ २ गते १३:३७ विकासन्युज

काठमाडौं । भारु निरन्तर कमजोर हुँदै गएपछि नेपाली रुपैयाँ अमेरिकी डलरसंग अवमूल्यन भएको छ । भारतीय अर्थतन्त्र कमजोर भएपछि भारुको अवमूल्यन भएको हो । यसको असर अमेरिकी डलरसंग नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार १ डलर बराबर बिक्रीदर १०९ रुपैयाँ २२ पैसा तोकेको छ । मंगलबार मात्रै १ डलर बराबर १०८ रुपैयाँ ३२ पैसा थियो । एक दिनमै डलरसंग १ रुपैयाँ कमजोर भएको छ ।

वैशाख शुरु भएयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । भारु कमजोर भएपछि डलर मजवुत भई यसको असर नेपाली रुपैयाँमा परेको हो । भारतीय रिजर्व बैंक (आरबीआई) ले बुधबार १ डलर बराबर ६७ रुपैयाँ ५२ पैसा भारु तोकेको छ । मंगलबार १ डलर बराबर ६७.३१ भारु थियो । ३ साताअघि १ डलर बराबर ६६.६९ भारु थियो ।

भारतीय अर्थतन्त्र कमजोर भई भारुको अवमूल्यन हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । फेडरल रिजर्वले ब्याजदर बढाएपछि भारतबाट विदेशी लगानी अमेरिकातर्फ फर्किदा डलर संचिति घट्न थालेपछि भारु कमजोर हुन थालेको हो ।

नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको असर बजार मूल्यमा पर्ने गर्छ । डलर मजवुत भएपछि बजार भाउ बढ्छ ।

गत मार्चमा १ डलर बराबर १०३ रुपैयाँ ९५ पैसा थियो । २ गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो । अघिल्लो वर्ष मंसिरमा डलर मजवुत भएर १११ रुपैयाँ नजिक पुगेको थियो ।

डलर बलियो हुँदाका बेफाइदा

डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ ।
यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ ।

विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ ।

नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।