सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा पुगे चुचुरोमा

  २०७५ वैशाख ३० गते २१:१०      सिवी अधिकारी

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ । आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।

रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आठजना शेर्पा आरोही चुचुरोमा पुगेको प्रारम्भिक जानकारी आएको बताए।

सगरमाथा आधार शिविर (वेस क्याम्प) मा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आज दिउँसो ३ः३० बजे शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुुचुरो पुगेका हुन् । योसँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ ।

अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । वेस क्याम्पभन्दा माथि २०० भन्दा बढी आरोही रहेको र सोमबार र मंगलबार झण्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए ।

‘धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प–४ मा पुगिसकेका छन्, भोलिबाट धमाधम समिटमा जानेछन् सबैभन्दा धेरै आरोही मंगलबार चुचुरोमा पुग्ने अनुमान गरिएको छ,’उनले भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.