टेकु-कालीमाटी जोड्ने बिष्णुमतिमा नेवारी संस्कृति झल्कने सिग्नेचर पुलः साँझ/बिहान धार्मिक धुन बज्ने

  २०७५ वैशाख २८ गते १२:१५     विकासन्युज

काठमाडौं । काठमाडौंको व्यस्त सडक टेकु र कालीमाटी जोड्ने बिष्णुमतिमा सिग्नेचर पुल बन्ने भएको छ । सडक विभागले टेकु–कालीमाटीमा पर्यटकिय दृष्टिकोणले आकर्षक २ लेनको सिग्नेचर पुल निर्माण गर्न लागेको हो । ‘काठमाडौंको मौलिकता झल्कने गरि सिग्नेचर पुलको डिजाइन भैरहेको छ, टेकु र कालीमाटीको इतिहास समेटिएको सिग्नेचर पुल निर्माण हुनेछ’, सडक विभागको पुल महाशाखका सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले विकासन्युजसँग भने ।

टेकु र कालिमाटी जोड्ने मोटरेबल पुलकै नजिक सिग्नेचर पुलको निर्माण गर्न लागिएको हो । सो पुलको डिजाइन तयार भैइरहेको छ । सिग्नेचर ब्रिजको डिजाइन तथा निर्माणमा सघाउने गरि सडक विभागले विश्व विख्यात चिनियाँ डिजाइनर डिवाई चेनलाई मासिक १८ लाख तिरेर कन्सल्ट्याण्ट नियुक्त गरिसकेको छ । उनले आठ महिनासम्म नेपाल बसेर चार वटा सिग्नेचर ब्रिजको डिजाइन निर्माण गर्ने तथा नेपाली इञ्जिनियरहरुलाई शिप हस्तान्तरण गर्नेछन् ।

सिग्नेचर ब्रिज निर्माण गर्दा हाल निर्माण भैरहेका र सञ्चालनमा रहेका पुलहरुको भन्दा ४० प्रतिशत बढि लगानी आवश्यक पर्नेछ । सिग्नेचर ब्रिज बनाउन प्रति मिटर ३० लाखसम्म लाग्ने प्रक्षेपण गरिएको छ । तर ती पुलहरु पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण हुनेछन् । ‘पुलहरु पर्यटकिय आकर्षणका हुनेछन्, पुलहरु गाडी गुडाउन मात्रै होइन, रम्न, रमाउन पनि उपयोग हुन्छन भन्ने सन्देश दिन सिग्नेचर पुल बनाउन लागिएको हो’, शाक्यले भने ।

पुलमा आकर्षक डिजाइन, धर्म संस्कृति र सो क्षेत्रको रहनसहन झल्किनेछ । रातको समयमा आकर्षक बत्ति बल्ने तथा साँझ बिहान धार्मिक धुन बज्ने लगायतका बिषेशता सिग्नेचर ब्रिजमा हुनेछन् । पुलबाट दृष्यावलोकन गर्न सकिनुका साथै आसपासको क्षेत्रमा समेत राम्रो सजावट गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.