सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक

  २०७५ वैशाख २१ गते १३:३७     विकासन्युज

जेनेभा । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेका एक अध्ययनले देखाएको छ । जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको  छ । उक्त सर्वेक्षणअनुसार ट्वीटरमा बढी सक्रिय भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा भारतीय प्रधानमन्त्री मोदीलाई बढी लोकप्रिय देखाएको छ ।

उक्त सर्वेक्षणका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पका ट्वीटरमा दुई करोड ३२ लाख जना फलोअर रहेका छन् । उनको तुलनामा भारतीय प्रधानमन्त्री मोदीका भने फेसबुकमा झण्डै दोब्बर अर्थात् चार करोड ३० लाख फलोअर रहेका छन् ।अध्ययनले एसियामा फेसबुकको बढी प्रचलन रहेकोले पनि मोदीका फेसबुक फलोअर बढी भएको अनुमान गरेको छ ।

उक्त संस्थाले विश्वका नेताहरुले के कसरी सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् भन्ने बारेमा अनुसन्धान गरेको बताइएको छ ।

यस अनुसन्धानकाअनुसार क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन यसरी सामाजिक सञ्जालको प्रयोग गर्ने नेतामा पाँचौँ नम्बरमा परेका छन्। फेसबुकमा उनका ९६ लाख फलोअर रहेका छन् । तर यस संख्यालाई भने क्याम्बोडियाका फेसबुक प्रयोगकर्ताकै कम्तीमा पनि आधा संख्या भनी आलोचना गरिएको छ ।

त्यस सर्वेक्षणले ती नेताहरुका सामाजिक सञ्जाल अकाउन्टमा पोष्ट गरिएका र तिनमा प्रतिक्रिया दिइएका विषयवस्तुलाई पनि समेटेको छ । उक्त सर्वेक्षणले सन् २०१७ को जनवरी १ पछिको १४ महिनामा विश्वका राज्य तथा सरकार प्रमुखका ६५० वटा व्यक्तिगत र सरकारी सामाजिक सञ्जाल पेजहरुको अध्ययन गरेको थियो ।

जसमा अमेरिकी राष्ट्रपति ट्रम्प सबैभन्दा बढी अन्तरक्रियामा रहेका नेताका रुपमा पाइएको छ । यस १४ महिनाको समयावधिमा अमेरिकी राष्ट्रपति ट्रम्पको पेजमा २० करोड ४० लाख वटा प्रतिक्रिया, लाइक वा सेयर गरिएको पाइएको छ ।

तर त्यसको तुलनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अकाउन्टमा भने ११ करोड मात्र प्रतिक्रिया प्राप्त भएका छन् । उक्त अध्ययनले मोदीका बढी फलोअर तर अमेरिकी राष्ट्रपति ट्रम्प बढी अन्तरक्रियात्मक भनेर निष्कर्ष निकालेको छ ।

हरेक दिन अमेरिकी राष्ट्रपति ट्रम्पले अनुपातमा कम्तीमा पनि पाँच वटा पोष्ट गरेका छन् । तर पनि भारतीय प्रधानमन्त्रीले भने त्यसको आधामात्र गर्ने गरेका छन् । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.