साना लगानीकर्ता आत्तिएपछि सेयर बजारमा २९ अंकको गिरावट, बीमा समूह २३१ अंक तल

  २०७५ वैशाख १३ गते १५:२४     विकासन्युज

काठमाडौं । साना लगानीकर्ताहरु आत्तिएपछि बिहीबार पनि सेयर बजार भारी अंकले ओरालो लागेको छ । साे दिनकाे परिसूचक २९.२५ अंकले घटेर १३५७ अंकमा झरेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले पछिल्लो समय सेयर बजार कुनै कारण बिनै ह्वात्तै बढ्ने र घट्ने क्रम देखिएको र त्यस्तो क्रमले अस्वभाविक भएको पनि बताए ।

रौनियारले रिङरोड भित्र सेयर बजारलाई खुम्च्याउने प्रयास गरिएकाले पनि बजारमा परिपक्वता नदेखिएको आरोेप पनि लगाए ।

सो दिन बजारमा कारोबार भएका सबैसमूहको परिसूचक राताम्मे भएका छन् । त्यसमध्ये पनि बीमा समूह २३१ अंकले घटेको छ । त्यस्तै, होटल ४७, हाइड्रोपावर ४६ र माइक्रोफाइनान्स समूह ४३ अंकले ओरालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले झरेका छन् ।

दोहोरो अंकले ओरालो लागेको बजारमा विभिन्न ४ कम्पनीको सेयर मूल्य ७ प्रतिशतले घटेको छ । सबैभन्दा बढी नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ७.५८ प्रतिशत गुमाएका छन् । त्यस्तै, ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको ७.५५, बोटलर्स नेपाल(तराई)को ७.२६ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.१६ प्रतिशतले घटेको छ ।

बजारमा सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.९९ प्रतिशत कमाएका छन् । सो दिन राष्ट्रिय बीमा कम्पनीको २ करोड ८२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । बिहीबार कुल १५९ कम्पनीको ६३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.