बैंकर्सले विदेशी वित्तीय संस्थाबाट भारुमा ऋण लिन मागे, अर्थमन्त्रीले भने-ल्याउन दिनुपर्छ

  २०७५ वैशाख १३ गते १५:२३     विकासन्युज

काठमाडौं । भारतीय रुपैयाँमा (भारु) विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन पाउने व्यवस्था गर्न बैंकर्सले माग गरेका छन् । अमेरिकी डलरमा ऋण लिदा महंगो पर्ने र जोखिम बढी भएको भन्दै बैंकर्सले भारुमा ऋण लिने पाउने व्यवस्था गर्न माग गरेका हुन् ।

“डलर भन्दा भारुमा ऋण लिदा ५ प्रतिशत भन्दा सस्तो पर्ने देखिएको छ,”नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले भने “डलरमा ऋण ल्याउदा लागत बढी र विनिमय जोखिमनै धेरै पर्ने भएकाले भारुमौ कर्जा लिने व्यवस्था गर्न आवश्यक छ ।”

नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट कर्जा ल्याउन खुला गरेपनि डलरबाट ल्याउन जोखिम व्योहर्न हेजिङ फण्ड आवश्यक पर्ने उनको भनाई छ । भारु र नेपाली रुपैयाँको स्थिर विनिमय दर भएकाले मुद्रा जोखिम नहुने उनको तर्क छ ।

भारुमा जोखिम नहुने र डलरको भन्दा ५ प्रतिशत सस्तोमा कर्जा पाउदा नेपालमा ब्याजदर पनि घट्ने उनको भनाई छ । “५ प्रतिशत खर्च वचत भयो भने नेपालीले सस्तो ब्याजमा कर्जा पाउने भएकाले भारुमा ऋण लिन पाउने व्यवस्था गर्न आवश्यक छ”उनले भने ।

नेपाल व्यवस्थापन संघले बिहीबार राजधानीमा आयोजना गरेको पुर्वबजेट छलफलमा बैंकर्स संघको तर्फबाट आउदो बजेटका लागि सुझाव दिदै उनले यस्तो माग तेर्साएका हुने ।

सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय लगानीमा स्थापना भएका नेपाल एसबीआई बैंक र एभरेष्ट बैंकलाई भारुमा ऋण ल्याउन भनि सकेको बताए । भारुमा ऋण लिदा सस्तो हुने उनको भनाई छ । “भारुमा ऋण लिन पाउने व्यवस्था राष्ट्र बैंकले गर्ला” उनले भने ।

राष्ट्र बैंकले लगानीयोग्य पुँजीको समस्या समधान गर्न विदेशबाट पनि ऋण ल्याउन पाउने नीतिगत व्यवस्था गरेपछि एनएमबी बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक र सनराइज बैंकले स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन् । यस्तै अन्य बैंकले पनि ल्याउनका लागि तयारी थालेका छन् ।

राष्ट्र बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरु विदेशबाट ऋण ल्याउन तातेका हुन् ।

यता मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि विदेशबाट ऋण ल्याउन प्रक्रिया सुरु गरेको बताएकी छिन् । उनले उनका अनुसार मेगाले पहिलो चरणमा विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट ऋण लिने भएको छ ।

उनले विदेशबाट लिने ऋणको डलर जोखिम हुने भएकाले यसलाई न्युनिकरण गर्नका लागि हेजिङ फण्ड स्थापना गर्नुपर्ने बताइन् । डलरमा ऋण लिँदा जोखिम धेरै भएकाले यसको न्युनिकरण हुने गरी ऋण लिने तयारीमा रहेको छाैं, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.